Prakash Adhikari March 5, 2022

काठमाडौं, २१ फागुन । यही चैत्र १७ देखि २१ सम्म राजधानी काठमाडौंमा ‘पाचौं नेपाल अन्तराष्ट्रिय फिल्म फेस्टिभल (निफ) २०२२’ आयोजना हुने भएको छ ।

‘विश्वभरीका कथाहरुको उत्सव, नेपाल अन्तराष्ट्रिय फिल्म महोत्सव’ भन्ने नाराका साथ हुने यो फेष्टिभल राजधानको राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक रुपमा हुनेछ ।

यसपटकको फेस्टिभलमा ३८ देशका ८९ फिल्महरुबीच प्रतिष्पर्धा हुनेछ । राष्ट्रिय तथा अन्तराष्ट्रिय लामा, छोटा फिल्म, डकुमेन्ट्री तथा एनिमेटेड फिल्महरुबीच ७ वटा विधामा प्रतिष्पर्धा हुने छ । आयोजकहरुले उत्कृष्टताका आधारमा १४ वटा पुरस्कार वितरण गरिने जानकारी दिएका छन् ।

अन्तराष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत ‘गौतम बुद्ध बेष्ट न्यारेटिभ फिचर फिल्म (१५०० अमेरिकी डलर र ट्रफी), ‘माउन्ट एभरेष्ट बेष्ट डकुमेन्ट्री फिल्म (१००० अमेरिकी डलर र ट्रफी)’, ‘बागमती बेष्ट लाईभ एक्शन सर्ट फिल्म (५०० अमेरिकी डलर र ट्रफी)’ र ‘मन्जुश्री बेष्ट एनिमेटेड सर्ट फिल्म (५०० अमेरिकी डलर र ट्रफी) रहेका छन् ।

राष्ट्रिय प्रतिष्पर्धा अन्तर्गत ‘बेष्ट फिचर फिल्म (रु.१,००,००० र ट्रफी), ‘बेष्ट सर्ट फिल्म (रु. ५०,००० र ट्रफी)’, ‘बेष्ट डकुमेन्ट्री (रु. ५०,००० र ट्रफी), ‘बेष्ट सर्ट फिल्म डिरेक्शन (ट्रफी)’, ‘बेष्ट फिचर फिल्म सिनेमाटोग्राफी (ट्रफी)’, ‘बेष्ट फिचर फिल्म स्क्रिनराईटर (ट्रफी)’, ‘बेष्ट फिचर फिल्म मेलरफिमेल एक्टर (ट्रफी)’ तथा आईएफएफएस डन क्विसोट(IFFS Don Quixote) बेष्ट लाई एक्शन फिचर फिल्म अवार्ड (सर्टिफिकेट) हरु रहेका छन् ।

फेस्टिभलमा छानिएका फिल्महरु दर्शकहरुको भौतिक उपस्थिति र अनलाइन माध्यमबाट पनि फिल्महरु प्रदर्शन हुनेछन् । फेस्टिभल अवधिमा अनुभवी र प्रसिद्ध फिल्मकर्मीहरुको सहभागितामा विविध विधामा कार्यशाला, अन्तरक्रिया र छलफलका कार्यक्रम समेत सञ्चालन हुने बताईएको छ ।

फेस्टिभलको इन्टरनेशनल जुरी तथा मास्टरक्लासको लागि फ्रान्सका फिल्म निर्देशक एरिक भ्याली र बलिउड निर्देशक राजकुमार हिरानीसँग कुरा भएको र आउने सम्भावना रहेको फेस्टिभलका अध्यक्ष के.पी. पाठकले बताउनुभयो । फेस्टिभलका फिल्म छनौट समितिमा दीपक बज्राचार्य, शिवम अधिकारी, पुरु लम्साल, सूर्य श्रेष्ठ, यादव भट्टराई र संगीता श्रेष्ठ रहनुभएको छ ।

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले यो फेस्टिभलले हाम्रो परिवेश तथा कथाहरुलाई अन्तराष्ट्रिय स्तरमा पहिचान दिएको बताउनुभयो । यस्ता प्रकृतिका कार्यक्रमहरु वोर्डले नै गर्नुपर्ने भन्दै दाहालले आफूले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा प्रस्ताव राखेको र स्वीकृतीको चरणमा रहेको बताउनुभएको छ ।

विदेशी फिल्मसँगको प्रतिष्पर्धाको होडमा हाम्रा कन्टेन्टहरु कमजोर हुन पुगेको भन्दै दाहालले नीतिको भन्दा कन्टेन्टको महत्व रहेको जिकिर गर्नुभएको छ ।

फेस्टिभलको अघिल्लो संस्करणका निर्णायक निर्देशक तुलसी घिमिरेले अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्मलाई पुर्‍याउन फेस्टिभलले सहयोग गर्ने बताउनुभयो । फेस्टिभलका सल्लाहकार कलाकार तथा निर्देशक नीर शाहले यस प्रकारका कार्यक्रमहरुले फिल्मकर्मीहरु मात्र होईन सम्पुर्ण समुदाय नै लाभान्वित हुनसक्ने बताउनुभएको छ ।(स्रोतःफिल्मी खबर)

Share Now

Leave a comment.