Prakash Adhikari March 7, 2022

किएभ(युक्रेन), २३ फागुन(बीबीसी) ।रुसी फौजको निरन्तर गोलाबारीबीच युक्रेनी शहरहरूमा दशौँ हजार सर्वसाधारण फस्दा मानवीय सङ्कट गहिरिँदै गएको छ ।

रुसले अतिक्रमण गरेयता १५ लाखभन्दा बढी युक्रेनीले देश छोडिसकेका छन् ।

रुसी फौजहरूले अगाडि बढ्ने क्रम जारी राखे पनि युक्रेनी सैनिकहरूले अझै प्रतिकार गरिरहेको वाशिङ्गटनस्थित सैन्य स्रोतहरूले जनाएका छन्

फ्रेन्च राष्ट्रपति एमानुएल माक्रोँले तनाव मत्थर पार्ने र घेराबन्दीमा रहेका युक्रेनी शहरहरूमा मानवीय सहायता पुर्‍याउन दिने प्रयासमा रुसी एवं युक्रेनी नेतासँग कुराकानी गर्नुभएको छ ।

‘रुसले सिरियाली भाडाका लडाकु भर्ती गर्दै’

मस्कोले युक्रेनका शहरहरूमा लडाइँ तीव्र पार्ने तयारी गरिरहँदा सिरियाका भाडाका दक्ष लडाकु भर्ती गर्न थालेको अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै द वाल स्ट्रीट जर्नलले जनाएको छ।

युक्रेनविरुद्ध लड्न त्यस्ता भाडाका कति लडाकु भर्ती हुन तयार भएका छन् भन्नेबारे बताउन अमेरिकी अधिकारीहरूले अस्वीकार गरेका छन्।

तर उनीहरूका अनुसार कतिपय भाडाका लडाकु रुस पुगिसकेका छन् र युक्रेनमा खटिने तयारीमा छन्।

युक्रेनका लागि लड्न इजरेलका अवकाशप्राप्त अनुभवी सैनिकहरू उपस्थित भइरहेका विवरण आएका छन्।

किएभमा पूर्ण क्षमतामा आक्रमण गर्ने रुसको तयारीः युक्रेन

युक्रेनी रक्षा अधिकारीहरूले रुसले पूर्ण क्षमतामा राजधानी किएभ माथि आक्रमण गर्ने तयारी गरिरहेको चेतावनी दिएका छन्।

युक्रेनको सेनाले दिएको पछिल्लो जानकारी अनुसार मस्कोका बलले आक्रमणका लागि आवश्यक सामाग्रीहरू जम्मा गर्न थालेको छ।

त्यसको तयारी स्वरूप किएभ नजिकै रहेको ईर्पीन शहरमा बख्तरबन्दसहित अन्य हातहतियार बोकेका गाडीहरू अघि बढिरहेको बताइएको छ।

सेनाले दिएको सूचना अनुसार रुसी कमान्डरहरूले अघि बढ्ने क्रममा रहेका आफ्ना सेनालाई बेलारुसबाट ल्याइएको तेल उपलब्ध गराइरहेका छन्।

सेना

युक्रेनमा मानवीय सङ्कट गहिरिँदै

रुसी फौजको निरन्तर गोलाबारीबीच युक्रेनी शहरहरूमा दशौँ हजार सर्वसाधारण फसिरहँदा मानवीय सङ्कट गहिरिँदै छ।

फसेका मानिसहरू हातमुख जोड्न नसक्ने वा भोकै बस्नुपर्ने अवस्था सिर्जना भएको छ।

आइतवार ईर्पिन नगरमा सुरक्षित स्थानतर्फ भाग्न खोजेकै केही सर्वसाधारण रुसी गोलाबारीमा मारिएका विवरणबीच ज्यान गुमाउने सर्वसाधारणको सङ्ख्या बढ्दै गएको छ। थप यो लिङ्कमा

रुसी फौज फसेका छन् : यूके

यूकेका रक्षा अधिकारीहरूले गत ४८ घण्टामा रुसी फौजले न्यून सफलता हासिल गरेकोमा उनीहरू विश्वस्त रहेको बताएका छन्।

उनीहरूका भनाइमा रुसी सैनिकहरू कडा युक्रेनी प्रतिरोध र कमजोर बन्दोबस्ती आपूर्तिबीच फस्न पुगेका छन्।

रक्षा मन्त्रालयले प्रकाशित गर्ने दैनिक गुप्तचर प्रतिवेदनमा अधिकारीहरूले भनेका छन्, “रुसले आजसम्म आफ्नो योजनाबद्ध उद्देश्यहरू हासिल गरेको छ भन्ने अत्यन्तै असम्भव छ।”

तर उक्त प्रतिवेदनमा गत २४ घण्टामा युक्रेनी क्षेत्रमा व्यापक मात्रामा रुसी हवाई हमला र गोलाबारी जारी रहेको जनाइएको छ।

त्यस्ता हमला सैन्य र सर्वसाधारण नागरिक दुवै लक्षित देखिएको यूकेको भनाइ छ।

फ्रेन्च राष्ट्रपतिद्वारा युक्रेनको तनाव मत्थर पार्ने प्रयास

फ्रेन्च राष्ट्रपति एमानुएल माक्रोँले तनाव मत्थर पार्ने र घेराबन्दीमा रहेका युक्रेनी शहरमा मानवीय सहायता पुर्‍याउन दिने प्रयासमा रुसी एवं युक्रेनी नेताहरूसँग कुराकानी गरेका छन्।

कुराकानीका क्रममा पुटिनले अतिक्रतमण वा वार्तामार्फत्‌ आफूले युक्रेनमा आफ्ना लक्ष्यहरू हासिल गर्न चाहेको माक्रोँलाई भनेको उनको कार्यालयस्थित अधिकारीहरूले बताएका छन्।

युक्रेनी परमाणु केन्द्रहरूको सुरक्षा सुनिश्चितताबारे माक्रोँले चासो राख्दा पुटिनले तिनीहरूमाथि हमला गर्ने कुनै मनशाय नरहेको बताउनुभएको थियो।

युक्रेनमा सर्वसाधारणमाथि जानाजान आक्रमण भइरहेको विषयमा वाशिङ्गटनले विश्वसनीय प्रमाणहरू सङ्कलन गरिरहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले बताउनुभएको छ।

रुसी फौजहरू अगाडि बढ्ने क्रम जारी रहे पनि युक्रेनी सैनिकहरूले अझै प्रतिकार गरिरहेको वाशिङ्गटनस्थित सैन्य स्रोतहरूले जनाएका छन्।

अमेरिकी सैन्य स्रोतका अनुसार मस्कोले युक्रेनी हवाई क्षेत्रमा अझै पूर्ण नियन्त्रण कायम गर्न नसकेको र किएभतर्फ बढ्न खोजेको रुसी फौजको विशाल लस्कर अझै रोकिएको अवस्थामा छ।

अतिक्रमणअघि जम्मा भएका रुसी फौजमध्ये ९५ प्रतिशत लडाइँमा जुटिसकेको अमेरिकी रक्षा अधिकारीहरूको विश्वास छ।

अमेरिकी कङ्ग्रेसले युक्रेनका लागि १० अर्ब डलर बराबरको सैन्य र मानवीय सहायतालाई छिट्टै अनुमोदन गर्ने अपेक्षा गरिएको छ।

 

Share Now

Leave a comment.