वाशिंटन डिसी(संयुक्त राज्य अमेरिका), २ चैत्र(बीबीसी) । अमेरिकी कङ्ग्रेसलाई एउटा ऐतिहासिक सम्बोधन गर्दै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले थप सैन्य सहायता उपलब्ध गराउन अपील गर्नुभएको छ।
बुधबार अमेरिकी कांग्रेसलार्ई सम्बोधन गर्दै उहाँले अमेरिकामाथि सन् २००१ मा गरिएको आतङ्कवादी हमलाबारे स्मरण समेत गराउनुभयो।
भिडिओ सम्बोधनका क्रममा युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसी फौजको आक्रमणबीच आफ्नो देशले हरेक दिन सेप्टेम्बर ११ को जस्तो पीडा सहिरहेको बताउनुभयो।
अमेरिका र उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोका साझेदारहरूलाई युक्रेनी आकाशलाई ‘नो फ्लाई जोन’ घोषणा गर्न फेरि पनि अपील गर्दै उहाँले भन्नुभयो, “म चाहन्छु कि हाम्रो आकाश सुरक्षित होस्।”
अमेरिकी सहयोग
अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रेनका लागि अतिरिक्त ८० करोड डलर बराबरको सैन्य सहायतामा हस्ताक्षर गर्दै हुनुहुन्छ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार त्यो रकम एन्टीएअरक्राफ्ट लगायतका अस्त्रमा खर्च हुनेछ।
युक्रेनलाई मानवीय सहायता, प्रतिरक्षा तथा आर्थिक सहयोगसम्बन्धी खर्च विधेयकले अमेरिकी सहायतालाई समेटेको छ जुन विधेयकलाई गत साता अमेरिकी कङ्ग्रेसले अनुमोदन गरेको थियो।
मङ्गलवार त्यसमा हस्ताक्षर गर्दै राष्ट्रपति बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि हमला गरेर विश्वभरिका मानिसलाई एकताबद्ध बनाइदिएको बताउनुभएको थियो।
जेलेन्स्कीले युक्रेनको आकाशलाई ‘नो फ्लाई जोन’ घोषणा गर्न नेटोलाई लगातार आग्रह गर्दै आउनुभएको छ।
युक्रेनी आकाशलाई नेटोले ुनो फ्लाई जोनु घोषणा गर्नु भनेको उसका फौजहरूले रुसी विमानलाई लिएर सीधै प्रतिक्रिया जनाउनु हुनेछ र आवश्यक परेमा रुसी विमानहरूलाई खसालिदिनेसम्मको कदम चाल्नुपर्ने हुन्छ।
कतिपय अमेरिकी नेताहरूले युक्रेनी आकाशलाई नेटोले ‘नो फ्लाई जोन’ घोषणा गर्नुको अर्थ तृतीय विश्वयुद्ध निम्याउनु हुने चेतावनी दिँदै आएका छन्।


















