Prakash Adhikari March 17, 2022

 

काठमाडौं, ३ चैत । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ। निगम सञ्चालक समितिको बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ५ रुपियाँ वृद्धि गरेको हो।

यस्तै हवाई इन्धन (आन्तरिक)तर्फ प्रतिलिटर १५ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर २०० वृद्धि भएको निगमले जनाएको छ। निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ।

मूल्यवृद्धिसँगै काठमाडौँ उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर रु १५५ ।, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १३८।, हवाई इन्धन (आन्तरिक)को मूल्य प्रतिलिटर रु १५१। र हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य प्रतिलिटर अमेरिकी डलर १.४९५ पुगेको छ।

मूल्यवृद्धि गर्दा पनि निगमलाई मासिक ९ अर्ब ३१ करोड ९८ लाख रुपैया नोक्सानी हुने निगमले जनाएको छ।

निगमको सञ्चित बचत सकिएको र घाटा उच्च भएकाले इन्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न रकमको अभाव भएको निगमले जनाएको छ।

 

आइओसीलाई भुक्तानी गर्न अपुग रकम मूल्य स्थिरीकरण कोष तथा अन्य वित्तीय संस्थाबाट ऋण लिनुपर्ने बाध्यात्मक अवस्था रहेको निगमका सहप्रवक्ता पुस्कर कार्कीले विज्ञप्तिमार्फत् जानकारी गराउनुभएको छ।

निगमले बुधबार सार्वजनिक गरेको विज्ञप्ति अनुसार निगमलाई चालु आर्थिक वर्षको फागुनसम्म २८ अर्ब नोक्सानी भइसकेको जनाइएको छ ।

विज्ञप्तिमा जनाए अनुसार निगमले निर्धारण गरेको मूल्यमा पट्रोलमा प्रतिलिटर २८ रुपैया ५७ पैसा, डिजलमा ३२ रुपैया १५ पैसा र एलपीजी ग्यासमा ६६५ रुपैया ३४ पैसा नोक्सानी छ ।

मट्टितेलमा २४ रुपैया ३४ पैसा, हवाई इन्धन आन्तरिकमा १७ रुपैया १० पैसा र हवाई इन्धन बाह्यतर्फ ६७ रुपैया ९३ पैसा नाफा छ ।

निगमले आफूले कायम गरेको पेट्रोलियम पदार्थको मूल्य सीमावर्ती भारतीय बजारभन्दा सस्तो भएको पनि जनाएको छ ।

निगमले भारतको रक्सौलमा भन्दा नेपालको वीरगञ्जमा पेट्रोल १८ रुपैया ४२ पैसा, डिजल ११ रुपैया ५४ पैसा,हवाई इन्धन आन्तरिक ३३ रुपैया ६४ पैसा र बाह्यतर्फ ५० रुपैया ६५ पैसा सस्तो भएको जनाएको छ ।

फोटो विवरण उपलब्ध छैन।

Share Now

Leave a comment.