
दुबाई(संयुक्त अरब इमिरेट्स), ४ चैत्र । संयुक्त अरब इमिरेट्स(युएई)मा भैरहेको आईसीसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोश्रो खेलमा नेपाल घरेलु टोलि युएईसंग ४८ रनले पराजित भएको छ।
दुबई अन्तर्राष्ट्रिय स्टेडियममा युएईले दिएको १ सय ६९ रनको सहज लक्ष्य पछ्याएको नेपालले ३५.१ ओभरमा १ सय २० रनमा अल आउट हुन पुग्यो।
नेपालका ब्याट्सम्यानहरुको गम्भीर लापरबाहीले जित्ने खेल नेपालले गुमायो । ओपनर कुशल भुर्तेल ११मा आउट भए । अर्का ओपनर आसिफ शेख ७ रनमा आउट भए । त्यसपछि ब्याटिड. सम्हालेका दिपेन्द्र ऐरी ४ रनमा आउट भए। पाँचौ नम्बरमा ब्याटिंग गरेका रोहित पौडेलसंग तेश्रो नम्बरका ज्ञानेन्द्र मल्लले ५५ रनको साझेदारी गरे।
६२ बलमा २८ रन बनाएको अवस्थामा ज्ञानेन्द्र २३ औं ओभरमा आउट भए । लगत्तै खाता नखोली आरिफ शेख आउट भए। करियरको पाँचौ अर्धशतक नजिक पुगेका रोहित पौडेल ४६ रन बनाएर ३० औं ओभरमा जहुर खानबाट क्याच आउट भए।
त्यसपछि पनि विकेट जाने क्रम रोकिएन । १०७ रन हुँदा ६ विकेट गुमाएको नेपाल त्यसपछि १३ रन थप्दा बाँकी ४ विकेट गुमाउन पुग्यो ।
नेपाललाई रोक्न युएई बलर बसिल हमिदले ४ विकेट, जुनैद सिद्दिकीले ३ विकेट तथा जहुर खान र रोहन मुस्तफाले समान १ । १ विकेट लिए।
टस जितेर ब्याटिंग गरेको युएईले ४६.३ ओभरमा १ सय ६८ रन बनाएको थियो। युएईको लागि सीपी रिजवान र रोहन मुस्तफाले ४०। ४०रन को योगदान दिए । त्यस्तै मोहम्मद वाशिमले २१, काशिम दाउदले १८, वासिम हमिदले १४ रनको योगदान दिए । खेलमा अहमद रजाले १३, चिराग सुरीले ६ , भृत्य अरबिन्द ३, असिफ खान २ र जुनैद सिद्दकीले १ रन बनाए ।
युएइलाई रोक्ने क्रममा नेपालका सोमपाल कामीले युएईका माथिल्लो क्रमका ४ ब्याट्सम्यानको विकेट लिएका थिए। उनले चिराग सुरी , भृत्य अरविन्द, मुहम्मद वासिम र काशिफ दाउदको विकेट लिएका थिए।
त्यसपछि करन केसीको प्रदर्शन पनि उत्कृष्ट रह्यो उनले आसिफ खान, जहुर खान,अहमद रजाको विकेट लिएका हुन्।खेलमा क्याप्टेन सन्दीप लामिछाने , सागर ढकाल र दीपेन्द्रसिंह ऐरीले एक एक विकेट लिए ।
सिरिजमा आफ्नो पहिलो खेलमा नेपालले पपुवा न्यु गिनीलाई २ विकेटले पराजित गरेको थियो भने युएईले पपुवा न्यु गिनीलाई ७ विकेटले पराजित गरेको थियो।
सिरिज अन्तर्गत नेपालले तेश्रो खेल युएईसंग मार्च २१ तारिख (सोमबार) खेल्नेछ। यस्तै चौंथो खेल पपुवा न्यु गिनीसंग मार्च २२ तारिखमा खेल्नेछ।