काठमाडौं १० वैशाख । नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज(शनिबार) बस्ने भएको छ ।
महानगर र उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुख पदका उम्मेद्वारहरुको टुंगो लगाउन समितिको बैठक बस्न लागेको हो ।
नेपाली कांग्रेसले महानगर तथा उपमहानगरपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेद्वारी टुंग्याउन शुक्रबार दिउँसो २ बजेको लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको थियो । तर सत्तारुढ गठबन्धनले कांग्रेस नेता रामचन्द्र पौडेलको संयोजकत्वमा गठन गरेको स्थानीय निर्वाचनको तयारी तथा अनुगमन समितिको शिफारिसका आधारमा गठबन्धनका शीर्ष नेताहरुको बुधबारको बैठकले महानगर र उपमहानगरपालिका गरेको भागवण्डामा सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका विभिन्न जिल्लामा देखिएको असन्तोषलाई दृष्टिगत गर्दै शुक्रबारको बैठक शनिबार बिहान ११ बजेका लागि सारिएको हो ।
निर्वाचन आयोगले सार्वजनिक गरेको स्थानीय तह निर्वाचन तालिका अनुसार भोलि बैशाख ११ गते सबै पालिकामा उम्मेदवारी दर्ता गर्नुपर्ने भएकोले नेपाली कांग्रेस आजै सबै पालिका प्रमुख उपप्रमुख वडा अध्यक्ष र सदस्यहरुको टुंगो लगाउनु पर्ने दवावमा रहेको छ ।
पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन ललितपुरमा बस्ने बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरुको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ ।
यस्तो छ भागवण्डा
गठबन्धनका शीर्ष नेताहरुबीच बुधबार भएको सहमति अनुसार देशका ६ नगरपालिकामा नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिको प्रमुख पाएको छ भने वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकामा उपप्रमुख पाएको छ ।
देशभरका ११ उपमहानगरपालिका मध्ये नेपाली कांग्रेसले धरान, इटहरी,कलैया,बुटवल, तुल्सीपुर, नेपालगञ्ज र धनगढीमा प्रमुख पद पाएको छ । कांग्रेसलाई जितपुर सिमरा, घोराही र हेटौडा उपमहानगरमा उपप्रमुख दिइएको छ ।
नेकपा माओवादीले भरतपुरमा प्रमुख र ललितपुरमा उपप्रमुख र पद पाएको छ । भने उमहानगरपालिकामा जितपुर सिमरा र घोराहीमा प्रमुख पाएको छ भने धरान र धनगढीमा उपप्रमुख पाएको छ ।
एकीकृत समाजवादीलाई पोखरा महानगरपालिकाको प्रमुख र काठमाडौं महानगरपालिकाको उपप्रमुख भागमा परेको छ ।
त्यस्तै समाजवादीलाई हेटौडा उपमहानगरपालिको प्रमुख तथा इटहरी, बुटबल र तुलसीपुरको उपप्रमुख भागमा परेको छ ।
जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको प्रमुख र विराटनगर महानगरपालिकाको उपप्रमुख पाएको छ ।
उपमहानगरमा जनकपुर उपमहानगरपालिकाको प्रमुख तथा कलैया र नेपालगञ्जको उपप्रमुख पाएको छ ।
स्थानीय निर्वाचन तालमेल सहमतिमा गठबन्धन रहेको नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवाले, नेकपा माओवादीको तर्फबाट अध्यक्ष प्रचण्डले, एकीकृत समाजवादीका तर्फबाट अध्यक्ष माधवकुमार नेपालले, जनता समाजवादीका तर्फबाट उपेन्द्र यादवले र राष्ट्रिय जनमोर्चाका तर्फबाट दुर्गा पौडेलले हस्ताक्षर गर्नुभएको थियो ।