Prakash Adhikari April 24, 2022

 

किएभ(रुस), ११ बैशाख(बीबीसी) । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन र रक्षामन्त्री लोइड अस्टिनले आइतबार किएभको भ्रमण गर्न लागेको बताउनुभएको छ।

उहाँहरु युक्रेन र रुसबीच द्वन्द्व सुरु भएपछि युक्रेनको भ्रमण गर्न लागेका सबैभन्दा वरिष्ठ अमेरिकी अधिकारी हुनुहुन्छ।

आफ्ना वरिष्ठ अधिकारीहरूको किएभ भ्रमणका बारेमा अमेरिकाले अहिलेसम्म प्रतिक्रिया दिएको छैन।

राष्ट्रपति जेलेन्स्कीले उहाँहरू ठोस सहयोग लिएर आउने अपेक्षा राखेको बताउनुभएको छ। राष्ट्रपति जेलेन्स्कीले थप हतियार माग गर्न सक्ने ठानिएको छ।

त्यसअघि उहाँले युक्रेनको युद्धका लागि हतियार एकदमै महत्वपूर्ण रहेको बताउनुभएको छ।

रुसले युक्रेनमा आक्रमण थालेयता युक्रेन पुगेका वरिष्ठ अधिकारीहरूमा युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन डेर लायन, युरोपेली सङ्घका वरिष्ठ कूटनीतिज्ञ जोसेफ बोरेल, इस्टोनिया, लाट्भिया, लिथुएनिया र पोल्यान्डका नेताहरू हुनुहुन्छ।

सबैभन्दा पछिल्लो पटक यूकेका प्रधानमन्त्री बोरिस जोनसनले युक्रेनको भ्रमण गर्नुभएको छ।

राष्ट्रसङ्घका महासचिवबारे जेलेन्स्की

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको बाक्लो उपस्थिति रहेको पत्रकार सम्मेलन किएभको सबवे स्टेशनमा आयोजना गरिएको थियो।

तीन घण्टासम्म सम्बोधन गरेका जेलेन्स्की एकचोटि रेल आएको समयमा केही बेर चुप लाग्नुभएको थियो।

उहााले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शान्तिवार्ताका लागि भेटघाट गर्न तयार रहेको पनि जनाउनुभयो।

उहााले किएभको भ्रमण नगरीकनै मङ्गलवार मस्कोमा रुसी राष्ट्रपतिलाई भेट्न जान लागेका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसको पनि आलोचना गर्नुभएको छ।

जेलेन्स्की

राष्ट्रसङ्घका महासचिव

स्थलगत रूपमा अवस्थाको जानकारी लिन राष्ट्रसङ्घका महासचिव पहिले युक्रेन आउनुपर्ने उहाँको भनाइ छ।

राष्ट्रसङ्घको विज्ञप्तिका अनुसार सोमवार टर्की पुग्ने महासचिव गुटेरस त्यहाँबाट मङ्गलवार मस्को जानुहुनेछ। उहाँले मस्कोमा राष्ट्रपति पुटिन र विदेशमन्त्री सर्गेइ लाभ्रोभलाई भेट्नुहुनेछ।
त्यसपछि उहााले बिहीवार किएभको भ्रमण गरी युक्रेनी राष्ट्रपति र विदेशमन्त्रीलाई भेट्नुहुनेछ ।टर्कीले युद्ध जारी रहेको अवस्थामा युक्रेन र रुसबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको थियो र दुवै पक्षबीचको वार्ताको आयोजना गरेको छ।

पत्रकार सम्मेलनमा जेलेन्स्कीले मारिऊपोल सहरको स्टील उद्योगको रक्षा गरिरहेका कुनै पनि बाँकी सैनिकहरूलाई रुसले हत्या गरे वा खेअर्सनमा जनमत सङ्ग्रहको आयोजना गरिएमा युक्रेनले मस्कोसँगको वार्ता भङ्ग हुने बताउनुभयो।

जेलेन्स्कीले झन्डै ५ हजार बालबालिकासहित लगभग ५ लाख व्यक्तिलाई रुसले कब्जा जमाएको युक्रेनी भूभागबाट रुसतर्फ पठाइएको बताउनुभयो।

यसैबीच अमेरिकास्थित इन्स्टिट्यूट अफ द स्टडी अफ वारले आफ्नो अद्यावधिक विवरणमा अन्तिम युक्रेनी रक्षकहरू रहेका मारिऊपोलको एजोभ्स्ताल उद्योगमा रुसी सेनाले दबाव बढाइरहेको जनाएको छ।

उक्त विवरणमा रुसी सैनिकहरूले स्टील उद्योगमा तैनाथ अन्तिम युक्रेनी फौजलाई भोकै बनाउने प्रयास रुसले गर्ने र त्यहाँ फसेका नागरिकहरूलाई उद्धार गर्न नदिने भनिएको छ।

युक्रेन युद्ध तेस्रो महिनामा प्रवेश
बीबीसीका कूटनीतिक संवाददाता जेम्स लान्डेलका अनुसार जम्मा आठ सातामा रुसले इतिहासलाई सम्झाएको छ र युक्रेनलाई बीसौँ शताब्दीको त्रासदीपूर्ण अवस्था सम्झन बाध्य पारेको छ।

जेलेन्स्की

हजारौँ मानिसको ज्यान गएको छ, दशौँ लाख विस्थापित भएका छन् र सहरहरू भग्नावशेषमा परिणत भएका छन्।

उहाँका अनुसार अतिक्रमणकारी फौजहरूलाई बाल अस्पताल र गैरसैनिक लुकिरहेका एउटा नाटकघरमाथि बम प्रहार गरेपछि युद्ध अपराधको आरोप लगाइएको छ। सहरी क्षेत्र कब्जा, सामूहिक चिहान र निष्कर्षविहीन शान्तिवार्ता दोहोरिएका छन्।

तर पनि रुसी फौजले किएभमा कब्जा जमाउन सकेको छैन र सरकार ढाल्न विफल भएको छ।

युक्रेनी फौजले बलियो प्रतिरोध गरेको छ र युक्रेनी राष्ट्रपति जेलेन्स्कीले देशलाई एकतामा बाँधेर उत्कृष्ट नेतृत्व प्रदर्शन गर्नुभएको छ।

उहाँ भन्नुहुन्छ, “तर रुसी फौजहरू पूर्वतर्फ भेला भइरहँदा के युक्रेनले तिनलाई पुनः रोक्न सक्छ ? के पश्चिमा शक्तिहरूले आफ्नो सैन्य सहयोगलाई वृद्धि गरेर युद्धका साझा लक्ष्यप्रति एकताबद्ध रहन सक्छन्? वा के समय, थकाइ वा कमजोर अस्त्र भण्डारले उनीहरूको क्षमता घट्छ? यो युद्ध दुई महिनाको भइसकेको छ तर अझै थप केही समय चल्न सक्नेछ।”

Share Now

Leave a comment.