Prakash Adhikari April 25, 2022

काठमाडौं, १२ बैशाख । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्ने आज अन्तिम दिन हो । स्थानीय निकायका ३५ हजार २ सय २१ पदका लागि हुने निर्वाचनमा आइतबार जम्मा ११ हजार जनाको मनोनयन दर्ता भएको छ । राष्ट्रिय मान्यता प्राप्त ठूला राजनीतिक दलहरुले आज उम्मेद्वारी दिने भएका छन् ।

देशका ७ सय ५३ स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यलयमा आज कार्यालय समयभिन बिहान १० बजे साँझ ५ बजेसम्म उम्मेदवारको मनोनय दर्ता गर्ने कार्यक्रम छ। ​

 

कानुनबमोजिम स्थानीय तह सदस्यको निर्वाचनमा उम्मेदवार बन्न योग्यता पुगेका कुनै पनि व्यक्तिले कुनै पनि समयमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता गर्न सक्ने आयोगले जनाएको छ।

स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख पदका लागि उम्मेदवारी दिने व्यक्तिले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, धरौटी राखेको बैंक भौचर वा नगद रसिद, दलको उम्मेदवारको हकमा सो दलले प्रदान गरेको औपचारिक पत्र र सम्बन्धित स्थानीय तहको कुनै वडाको मतदाता नामावलीमा नाम समावेश भएको तथा वडाअध्यक्ष र वडा सदस्यले सम्बन्धित वडाको मतदाता नामावलीमा नाम समावेश भएको निस्सा तथा उम्मेदवारको स्वघोषणा पेस गर्नुपर्नेछ।


दलित महिला वडा सदस्यले दलित समुदायको व्यक्ति भएको प्रमाणित हुने निस्सा पनि पेस गर्नुपर्ने आयोगले जनाएको छ।

स्थानीय तहको प्रमुख वा उपप्रमुखमा उम्मेदवार दिने व्यक्तिले धरौटीबापत रु एक हजार ५००, वडाध्यक्षले रु एक हजार र वडा सदस्यले रु ५०० धरौटी राख्नुपर्ने आयोगले जनाएको छ। महिला, दलित, विपन्न तथा अल्पसङ्ख्यक उम्मेदवारको हकमा धरौटी रकममा ५० प्रतिशत छुट हुनेछ।

सोमबार साँझ नै उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।

वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयन पत्र जाँच गर्ने तथा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ।

मनोनयनसँग सम्बन्धित सम्पूर्ण कार्य सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट हुने आयोगले जनाएको छ।

आइतबार करिब ११ हजारको उम्मेदवारी


निर्वाचन आयोगका अनुसार देशभर करिब ११ हजारले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन्।

आयोगको बुलेटिनअनुसार आइतबार साँझ साढे ७ बजेसम्म १० हजार ५ सय ३३ जना उम्मेदवारको दर्ता भएको थियो।

त्यसमध्ये पालिका प्रमुखमा ९ सय ७३, उपप्रमुखमा ४ सय ९४ र वडाध्यक्षमा २ हजार ८ सय २६ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै वडा सदस्यमा ३ हजार १ सय ९०, महिला सदस्यमा १ हजार ९१ र दलित महिला सदस्यमा १ हजार ३० जनाले मनोनयन दर्ता गराएका छन्। सफ्टवेयरमा इन्ट्री जारी रहेकाले रातिसम्म यो संख्या बढ्न सक्ने आयोगले जनाएको छ।

देशभरिका कुल ७ सय ५३ पालिकामा ३५ हजार २२१ पदका लागि आगामी बैशाख ३० मा चुनाव हुँदैछ।

सोमबार सबै ठाउँमा गरी झण्डै एक लाखको हाराहारीमा उम्मेदवारी दर्ता हुन सक्ने आयोगको अनुमान छ।

आइतबार मनोनयन दर्ताको पहिलो दिन कांग्रेस, एमाले र माओवादी जस्ता प्रमुख दलहरुले महानगर र उपमहानगरमा उम्मेदवारी दर्ता गराएनन्।

आन्तरिक विवाद समाधान गर्न र कतिपय ठाउँमा उम्मेदवार तय गर्न बाँकी नै रहेकाले प्रमुख दलले सोमबार मात्रै उम्मेदवारी मनोनयन गर्ने योजना बनाएका छन्।

 

Share Now

Leave a comment.