Prakash Adhikari April 25, 2022

काठमाडौं, १२ बैशाख । नेपाली कांग्रेसले विराटनगर , काठमाडौ र ललितपुर महानगरपालिकाको मेयरको टिकट टुंगो लगाएको छ ।

नेपाली कांग्रेसले विराटनगर महानगरपालिकामा नागेश कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने काठमाडौंमा सिर्जना सिंह र ललितपुरमा चिरिबाबु महर्जनलाई ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार बिहान गठबन्धनमा नेपाली कांग्रेसको भागमा परेका महानगर पालिकाको मेयर उपमेयरको टिकटको टुगो लगाउनुभएको हो ।

नेपाली कांग्रेसको आइतबार बसेको संसदीय समिति र कार्यसम्पादन समितिको बैठकले महानगरपालिकाको मेयर र उपमेयरको टिकटको टुंगो लगाउने जिम्मा सभापति देउवालाई प्रत्यायोजन गरेको थियो ।

विराटनगरबाट महानगरको टिकट पाउनुभएका कोइरालालाई डा.शेखर कोइराला निकट मानिनुहुन्छ । विराटनगरको मेयरको रथ हाँक्न वर्तमान मेयर भीम पराजुली, केन्द्रीय सदस्यद्धय अमृत अर्याल र डा. डिला संग्रौलाले पनि दाबी गर्नुभएको थियो ।

विराटनगरको कारण कांग्रेसको कार्यसम्पादन समितिले महानगरका उम्मेदवारहरुको टिकट टुंग्याउन सकेको थिएन । अर्याल र संग्रौला देउवा निकट हुनुहुन्छ भने पराजुलीलाई कृष्ण सिटौलाको साथ थियो । नागेश भने डा. शेखर कोइराला निकट मानिनुहुन्छ । पार्टीमा आफूसंग सभापतिमा प्रतिस्पर्धा गर्नुभएका डा. शेखर कोइरालाको गृह जिल्ला भएकोले कांग्रेस सभापति देउवाले त्यहाँ कोइरालाले रुचाएको व्यक्तिलाई नै साथ दिनुभएको देखिन्छ ।

काठमाडौंमा सिर्जना सिंह
काग्रेस सभापति देउवाले काठमाडौं महानगरपालिकाको मेयरमा सिर्जना सिंहलाई टिकट दिनुभएको छ ।

सिंहलाई टिकट दिन तल्ला निकायबाट पनि सिफारिस भएको थियो ।

केही दिनदेखि उहाँको नाम सर्वसम्मत जस्तै थियो । पार्टी सभापतिको निर्वाचनमा दोस्रो चरणमा प्रकाशमान सिंहको समर्थन लिनुभएकोले कांग्रेस सभापति देउवाले सिर्जना सिंहको नाम राजधानीको मेयरमा सहर्ष स्वीकार गर्नुभएको बताइन्छ ।

मेयरको टिकट पाउनुभएकी सिंह कांग्रेस नेता प्रकाशमान सिंहको धर्मपत्नि हुनुहुन्छ । तर राजनीतिमा उहाँको आफ्नै पनि योगदान छ । उहाँ शंकरदेव क्याम्पसको स्ववियूमा हुनुहुन्थ्यो ।

आज दिउँसो शान्तिबाटीकामा भेला भएर उहाँले उम्मेदवारी दर्ता गराउन जाने तयारी गर्नुभएको छ ।

ललितपुरमा चिरिबाबुलाई चिठ्ठा

ललितपुरको मेयरमा कांग्रेस सभापति शेरबहादुर देउवाले चिरिबाबु महर्जनलाई नै टिकट दिनुभएको छ ।

सभापति देउवाले सोमबार बिहान यसको निर्णय गर्नुभएको हो ।

महर्जन ललितपुरका वर्तमान मेयर हुनुहुन्छ । उहाँ काम गर्ने मेयरको लिष्टमा पर्नुहुन्छ । उहाँको नेतृत्वमा भूकम्पले ध्वस्त भएका ललितपुरका सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण सम्पन्न भएको छ ।

 

Share Now

Leave a comment.