Prakash Adhikari April 25, 2022

काठमाडौं, १२ बैशाख(बीबीसी) । भर्खरै संयुक्त राज्य अमेरिकाको उच्चस्तरीय संसदीय प्रतिनिधिमण्डलले गरेको काठमाडौं भ्रमणलाई परराष्ट्र मामिलाका कतिपय विज्ञहरूले नेपालमा आफ्नो प्रभाव थप विस्तार गर्ने अमेरिकी चाहनाका रूपमा अर्थ्याएका छन्।

सिनेटर क्रिर्स्टन जिलिब्रान्डको नेतृत्वमा आएको उक्त प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासहित वरिष्ठ नेपाली अधिकारीहरूसँग भेटवार्ता गरेको थियो।

युक्रेन द्वन्द्वका कारण उत्कर्षमा पुगेको विश्वव्यापी तनावको समयमा भएको उक्त भ्रमणलाई अर्थपूर्ण रूपमा हेर्नुपर्ने विज्ञहरू बताउँछन्।

युक्रेनमाथिको आक्रमणको निन्दा गर्दै नेपालले संयुक्त राष्ट्रसङ्घको महासभामा रुसको विपक्षमा मतदान गरेको थियो।

अमेरिकी प्रभावको विस्तार

यो वर्ष नेपालको संसद्ले अमेरिकी मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताअन्तर्गत झन्डै ६० अर्ब रुपैयाँ बराबरको आर्थिक अनुदानलाई अनुमोदन गरिरहँदा काठमाण्डूमा भूराजनीतिक चासो खुला रूपमा प्रकट भएको थियो।

एमसीसी अनुमोदनमा भएको विलम्बबारे वाशिङ्टन डीसी र बेइजिङबीच सार्वजनिक रूपमा आरोपप्रत्यारोप नै चल्यो।

नेपालले हालसम्म प्राप्त गरेको सबैभन्दा ठूलो आर्थिक अनुदान पारित भएपछि चीनले त्यसलाई आफूले ‘जानकारीमा लिएको’ प्रतिक्रिया दियो।

त्यसपछि दक्षिण एशियाका विभिन्न देश घुमेर दिल्ली हुँदै काठमाडौं आउनुभएका चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले नेपालमा हुने कुनै पनि किसिमको वैदेशिक चलखेल आफ्नो मुलुकका लागि अस्वीकार्य हुने बताउनुभयो।

त्यसयता संयुक्त राज्य अमेरिकाले आगामी पाँच वर्षका लागि नेपाललाई झन्डै ८१ अर्ब रुपैयाँ बराबरको सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।

नेपाल र अमेरिकाले कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वार्षिकोत्सव मनाइरहँदा प्रभावशाली अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डलले नेपालमा तीनदिने भ्रमण गरी उच्चस्तरीय भेटवार्ता गरेको थियो।

त्यस क्रममा टोलीले एमसीसीको अनुमोदनका लागि सरकारलाई धन्यवाद दिएको र नेपाललाई अमेरिकी सहयोग जारी रहने प्रतिबद्धता जनाएको विवरण आएका छन्।

यो भ्रमणको अर्थ के हो ?

यो भ्रमणलाई युक्रेन सङ्कटप्रति आफ्नो देशले पैरवी गरिरहेका धारणाको पक्षमा समर्थन जुटाउने र चीनको तिब्बत पठारसँग भौगोलिक रूपमा नजिक रहेको नेपाललाई आफ्नो प्रभावमा राख्ने अमेरिकी प्रयासका रूपमा हेर्नुपर्ने कतिपय जानकारहरू बताउँछन्।

पूर्वपरराष्ट्रमन्त्री तथा अमेरिकाका लागि पूर्वराजदूत भेषबहादुर थापा युक्रेन युद्धले विश्वव्यापी ‘हलचल निम्त्याइएकोु’भन्दै त्यसको प्रभाव नेपालजस्ता साना देशसम्म परिरहेको बताउनुहुन्छ।

उहाँले भन्नुभयो, “हिजोका शक्तिकेन्द्रहरू आआफ्ना प्रभाव विस्तार गर्नका लागि लागेका छन्। त्यही चलखेल हामीले देखिरहेका छौँ। नेपालमा एमसीसीका बारेमा पनि धेरै विवाद र तलमाथि भयो तर अन्तिममा गएर संसद्ले पारित गर्‍यो। यो सबै जोडिएका छन्।”

रुसी अतिक्रमणलाई निन्दा गर्ने नेपालको कदमलाई एउटा अमेरिकी अनलाइन द हिलले अन्तर्राष्ट्रिय मामिलामा तटस्थताको आफ्नो नीतिबाट मोडिएको नेपालको कदमका रूपमा उल्लेख गरेको छ।

विश्वव्यापी परिवेश चुनौतीपूर्ण बन्दा नेपाल विदेशी चलखेलबाट जोगिनुपर्ने थापा बताउँनुहुन्छ।

“असंलग्नता र शान्ति बहालीका लागि हामीले जुन प्रयास गरिरहेका छौँ त्यसमा नेपालले आँच आउन दिनुहुँदैन”, उहाँले भन्नुभयो।

अमेरिकी प्रतिनिधिमण्डल

के नेपाल चीनलाई नियाल्ने अमेरिकी झ्याल हो ?

भूराजनीतिक विषयका अरू केही जानकारहरू उदाउँदा दुई शक्ति चीन र भारतबीचको अवस्थिति र त्यसमा पनि तिब्बतसँग सीमा जोडिएका कारण नेपाल अमेरिकाको प्राथमिकतामा सधैँ रहेको ठान्छन्।

न्यूयोर्ककी सिनेटर जिलिब्रान्डले आफ्नो कलेजको शोध तिब्बतको धर्मका बारेमा लेखेको र त्यस क्रममा निर्वासित तिब्बती नेता दलाई लामालाई समेत भेटेको वाशिङट्न एक्जामिनर अनलाइनमा छापिएको खबरमा उल्लिखित छ।

सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा उहाा डेमोक्र्याटिक दलबाट आकाङ्क्षी रहनुभएको थियो।

विगतमा दुई प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रहेका परराष्ट्रविज्ञ दिनेश भट्टराई चीन अझ त्यसमा तिब्बतलाई नियाल्ने झ्यालका रूपमा नेपालको महत्त्व अमेरिकाका लागि रहेको बताउनुहुन्छ।

उहााले भन्नुभयो, “नेपालमा अमेरिकाको चासो बढ्नुमा चीनको उदय एउटा मुख्य कारण हो। अमेरिका आफ्नै कतिपय कार्यक्रमहरूसहित नेपालमा संलग्न छ। दुई देशको सम्बन्ध लगभग एकैनासको भए पनि अहिले आएर चासो यसरी बढ्नु चाहिँ चीनको अभूतपूर्व उदय नै हो।”

उहााले थप्नुभयो, “भूगोल भन्ने कुराको कूटनीतिमा ठूलो महत्त्व हुन्छ। आखिरमा हामीले चीनलाई भोग्नुपर्छ। हामीले चीनलाई चिढ्याउनुहुँदैन किनभने दुईवटा छिमेकी हाम्रो अस्तित्वसँगै जोडिएर रहेका छन्।”

नेपाल चीन
नेपाल चीन

सन् २००८ मा नेपालमा गणतन्त्र घोषणा भएपछि चीनले काठमाडौंमा सरकार, दलहरू र राज्यका विभिन्न निकायसँग तीव्र रूपमा सम्बन्ध विस्तार गरेको थियो।

अमेरिका र चीनको सहयोग कति ?

नेपालले सन् २०१७ मा चीनको महत्त्वाकाङ्क्षी पूर्वाधार निर्माण परियोजना बेल्ट एन्ड रोड इनिशीअटिभमा हस्ताक्षर गरेको थियो भने सन् २०१९ मा काठमाडौंको भ्रमण गर्दा चिनियाँ राष्ट्रपति सी जिन्पिङले नेपाललाई भूजडित बनाउन रेल्वेसहितका पूर्वाधार निर्माणमा सघाउने वाचा गर्नुभएको थियो।

वर्तमान सरकारले व्यावसायिक ऋण लिएर बेल्ट एन्ड रोड इनिशीअटिभ अन्तर्गतका परियोजना अघि बढाउन नसकिने किसिमको सन्देश हालै नेपाल भ्रमण गरेका चिनियाँ विदेशमन्त्रीलाई दिएको विवरण सार्वजनिक भएको थियो।

चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणका क्रममा बेइजिङले नेपाललाई दिने आर्थिक र प्राविधिक सहयोगलाई बढाएर ११ अर्ब ३० करोड रुपैयाँ पुर्‍याएको थियो।

चीन

केही समय पहिले चिनियाँ विदेशमन्त्रीले नेपालको भ्रमण गर्नुभएको थियो

सन् २०२१ को फेब्रुअरीमा नेपाली सेनाका अधिकृतहरूलाई सम्बोधन गर्दै नेपालस्थित अमेरिकी राजदूत र्‍यान्डी बेरीले ७३ वर्षको अवधिमा अमेरिकाले नेपालको विकासका लागि ३.३ अर्ब डलर (चार खर्ब ४ अर्ब रुपैयाँभन्दा बढी) उपलब्ध गराएको बताउनुभएको थियो।

उहाँले संयुक्त राज्य अमेरिकाले नेपाललाई अमेरिका वा अरू कुनै देशमा निर्भर रहेको देख्न नचाहेको भन्दै नेपालले आफ्नो राष्ट्रिय स्वार्थमा केन्द्रित हुँदा नै उसको सार्वभौमसत्ता र अखण्डता जोगिने धारणा राखेका थिए।

नेपाललाई अमेरिकाले दिएको सहयोगमध्ये सुरक्षा सहयोगको हिस्सा पनि उल्लेख्य छ जसमा नेपाली सेनासहितका सुरक्षा निकायको क्षमता अभिवृद्धिसहितका क्षेत्र समेटिएको छ।

काठमाडौंस्थित अमेरिकी राजदूतावासको एउटा विवरणका अनुसार पछिल्ला केही दशकमा अमेरिकाले १० करोड डलर (१२ अर्ब २४ करोड रुपैयाँभन्दा बढी) को रक्षा साझेदारी नेपाली सेनासँग गरेको छ।

गत वर्ष नेपाललाई अमेरिकाले १९ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी सहयोगको प्रतिबद्धता जनाएको यूएसएडको फरेनअसिस्टन्स डट गोभ वेबसाइटमा उल्लेख छ।

परराष्ट्र मामिलाविज्ञ भट्टराईका अनुसार औलो उन्मूलनसहित विभिन्न स्वास्थ्य, विकास र कृषि क्षेत्रका परियोजना र लोकतन्त्र प्रवर्धबजस्ता कार्यक्रममा लामो समयदेखि अमेरिका नेपालमा संलग्न हुँदै आएको छ।

उनले तिब्बती शरणार्थीको अधिकारजस्ता मुद्दा अमेरिकी अधिकारीहरूले नेपालसँग राख्ने गरेको बताए।

नेपाल -अमेरिका सम्बन्धको विशेष महत्त्व किन ?

संयुक्त राष्ट्रसङ्घका लागि नेपालका भूतपूर्व स्थायी प्रतिनिधि जयराज आचार्य अमेरिकासँगको सम्बन्ध नेपालका लागि विशेष महत्त्वको रहेको बताउनुहुन्छ।

नेपाल अमेरिका

नेपाल अमेरिका

“ब्रिटेनसँग मात्रै कूटनीतिक सम्बन्ध भएको नेपालले दोस्रो विश्वयुद्ध सकिनेबित्तिकै, भारत स्वतन्त्र पनि नभई, अमेरिकासँग हामीले कूटनीतिक सम्बन्ध राख्यौँ। दुई पक्षले त्यसलाई महत्त्वपूर्ण ठानेकाले त्यस्तो सम्भव भयो।”,  उहााले भन्नुभयो, “संयुक्त राष्ट्रसङ्घको सदस्यता लिने हाम्रो प्रयासमा रुसले ‘तिमीहरू कहिलेदेखि स्वतन्त्र भयौ ?’ भन्ने जस्ता प्रश्न सोधेर अवरोध पुर्‍याएको थियो। नेपालले ‘हामी सधैँ स्वतन्त्र नै छौँ’ भनेर जबाफ दियो। तर हामी साँच्चिकै स्वतन्त्र मुलुक हौँ भन्नका लागि अमेरिकासँगको सम्बन्ध र संयुक्त राष्ट्रसङ्घको सदस्यताको कुरा निक्कै महत्त्वपूर्ण रह्यो। जुन समयमा हामीले सम्बन्ध राख्यौँ अहिलेसम्म त्यो सम्बन्धको महत्त्वको निरन्तरता कायम छ।”

आचार्यका बुझाइमा नेपालका लागि सबैभन्दा महत्त्वपूर्ण मित्रराष्ट्रहरू भारत, चीन र अमेरिका हुन्।

उहाँले थप्नुभयो, “एक नम्बरमा भारत किन पनि हुन्छ भने हाम्रो ज्यादै ठूलो निर्भरता भारतमा छ। हाम्रो सबै चिज त्यतैबाट आउँछ। व्यापार वाणिज्यको तथ्याङ्कले र धर्मसंस्कृति मिल्ने कुराले पनि त्यही देखाउँछ। अर्थराजनीति सबै जोडिन्छ।”

उहाँले नेपाल र चीनबीच पुरानो सम्बन्ध रहेको भन्दै उत्तरको शक्तिशाली छिमेकीसँगको नेपालको सम्बन्धको दोस्रो नम्बरमा महत्त्वपूर्ण रहेको बताउनुभयो।

भूगोलले नै नेपालको परराष्ट्रनीतिको सीमा कोरेको भन्दै विज्ञहरूले त्यसै अनुसारका कूटनीतिक व्यवहारहरू गरिनुपर्ने धारणा राखेका छन्

 

Share Now

Leave a comment.