Prakash Adhikari April 25, 2022

काठमाडौं, १२ वैशाख । यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशका ७ सय ५३ पालिकाका प्रमुख,उपप्रमुख, वडा अध्यक्ष र सदस्यहरुमा गरी देशभरका निर्वाचन अधिकृतको कार्यालयमा अहिलेसम्म ६० हजार ९ सय ५० उमेद्वारहरुले मनोनयनपत्र दर्ता गराएका छन् ।

देशभरका २ सय ९३ नगरपालिका छन् । निर्वाचन आयोगको विवरण अनुसार १ हजार ९ सय १४ जनाले प्रमुख (मेयर) पदमा मनोनयन दर्ता गराएका छन् । उपप्रमुख (उपमेयर)पदमा १ हजार १ सय ७३ जनाको मनोनयन परेको छ ।

त्यसैगरी कुल ४ सय ६० गाउँपालिकाको अध्यक्ष पदमा १ हजार ९ सय ४४ जनाले मनोनयनपत्र दर्ता गराएका छन् । १ हजार ३ सय १९ जनाले उपाध्यक्षमा मनोनयनपत्र दर्ता गराएका छन् ।

स्थानीय तहको प्रमुख पदमा उमेद्वारी दिनेको संख्या ३ हजार ८ सय ५८ पुगेको छ । उपप्रमुख पदमा उमेद्वारी दिनेको संख्या २ हजार ४ सय ९२ छ ।

देशभरका कुल ६ हजार ७ सय ४३ वडाको वडाध्यक्ष पदमा १५ हजार २ सय ८५ जनाले मनोनयन दर्ता गराएका छन् । वडा सदस्यमा मनोनयन गर्नेको संख्या २० हजार ७ सय ३० छ । त्यस्तै ९ हजार ८ सय ९१ जनाले महिला सदस्य पदमा उमेद्वारी दिएका छन् भने ८ हजार ६ सय ९४ जनाले दलित महिला सदस्य पदमा उमेद्वारी दिएका छन् ।

विभिन्न ठाउँमा मनोनयन दर्ता गर्नेहरुको नाम अध्यावधकि गर्ने काम भइरहेको भन्दै आयोगले उम्मेदवार अझै बढ्ने् जनाएको छ ।

Share Now

Leave a comment.