Prakash Adhikari April 26, 2022

काठमाडौं, १३ बैशाख । नागरिक उड्डयन सुरक्षामा नेपालमा नेपालको स्थितिमा सुधार भएको छ । सोमबार नागरिक उड्ययन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै आइकाओले गरेको अडिटमा नेपालले विश्वको औसत अंकभन्दा ३ प्रतिशत बढी अंक प्राप्त गरेको छ ।

‘विश्वको औसत ६७.२ प्रतिशत छ, तर नेपालले यसपटक ७०.१ प्रतिशत अंक प्राप्त गरेको छ,’ प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले पत्रकार सम्मेलनमा भन्नुभयो ।

आइकाओले विभिन्न ८ क्षेत्रलाई आधार मानेर यही अप्रिल १३ तारिखदेखि २५ तारिखसम्म नेपालका हवाई उड्डयन क्षेत्रको संपरीक्षण अडिट गरेको थियो ।

आइकाओको संपरीक्षणमा कानूनीपक्ष, संस्थाको संगठानिक स्वरुप, व्यक्तिगत अनुमति, उडान सञ्चालन, उडान योग्यता, जहाज सञ्चालन सेवा, हवाई मैदान र उपकरणको अवस्था तथा दुर्घटना र छानबिनलाई आधार बनाएको थियो ।

उक्त १० सदस्यीय संपरीक्षक टोलीले २५ अप्रिलमा नतिजा सार्वजनिक गरेको थियो । जसअनुसार एशिया प्रशान्त क्षेत्रको औसत परिपालना दर ६१.४ प्रतिशत छ भने विश्वको औसतदर ६७.२ प्रतिशत छ ।

‘यो क्यानको मात्रै होइन, क्यानको मात्रै हेर्ने हो भने ८० प्रतिशतभन्दा बढी हुन्छ,’ महानिर्देशक अधिकारीले भन्नुभयो, ‘हवाई उड्डयन क्षेत्रसँग सम्बन्धित सबैले परिपालना गरेको आधारमा यो तथ्यांक निकालिन्छ ।’

नागरिक उडान सुरक्षामा भएको नेपालको प्रगतिले युरोपेली आयोगले लगाएको कालोसूचीबाट हटाउन अनुरोध गर्न नेपाललाई सहज भएको छ ।

इयुले सन २०१३ को डिसेम्बर ५ देखि नेपाललाई नागरिक उडानको कालो सूचीमा राख्दै आएको छ । नेपालका कुनै पनि वायुसेवाले त्यसयता युरोपमा आफ्नो उडान गर्न पाएका छैनन ।

राति १२ बजेसम्म उडान गर्ने योजना

क्यानका अनुसार वैशाख १५ गतेदेखि सम्भव भएसम्मका सबै विमानस्थलमा राति १२ बजेसम्म हवाई उडान गरिनेछ ।
अहिले कतिपय विमानस्थलमा रातिमा उडान गर्न मिल्दैन तर सम्भव भएसम्मका सबै विमानस्थलमा वैशाख १५ गतेदेखि उडान शुरु गरिने महानिर्देशक अधिकारीको भनाइ छ ।

अहिले हवाई उडानमा यात्रुको चाप अत्यन्तै बढिरहेकोले व्यवस्थापनका लागि पनि रात्रि उडान जरुरी भएको उहाँको कथन छ ।

Share Now

Leave a comment.