Prakash Adhikari June 4, 2022

काठमाडौं, २१ जेठ । स्थानीय तह निर्वाचन परिणामबारे यदाकदा असन्तुष्टि व्यक्त गर्ने क्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आइरहेको नयाँ सार्वजनिक अभिव्यक्ति दिइरहनुभएको छ।

यसैगरी आफूलाई पनि प्रधानमन्त्री बन्ने प्रस्ताव आएको दाबी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि अप्रत्यक्ष रूपमा गर्नुभएको छ।

कांग्रेस नेतृत्वको सरकारका केही प्रमुख साझेदार दलका अध्यक्षहरूले आफूहरूलाई प्रधानमन्त्री बन्न प्रस्ताव आएको बताएपछि राजनीतिमा नयाँ बहस र आशङ्काहरू सुरु भएका छन्।

कतिपय जिल्ला समन्वय समिति गठनमा एमाले र माओवादीका स्थानीय जनप्रतिनिधिबीच भएको तालमेलले पनि सत्ता गठबन्धनभित्र आशङ्का बढेको ठानिएको छ।

सार्वजनिक अभिव्यक्ति र अन्तर्वार्ताहरूमा प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन आएको त्यो प्रस्ताव कसले गरेको हो भन्नेबारे खुलाउनुभएको छैन।

संसदीय गणितका हिसाबले एमाले बाहेकको शक्तिले उहाँलाई प्रधानमन्त्री बनाउन नसक्ने भएका कारण पनि प्रचण्डलाई यस्तो प्रस्ताव यदि आएको भए एमालेबाट मात्रै हुनसक्ने अनुमान पनि गरिएको छ।

तर एमालेका नेताहरू प्रचण्डलाई प्रधानमन्त्री बनाउने कुनै योजना नरहेको दाबी गर्छन्।

“कुरा पनि भएको छैन। हाम्रो तर्फबाट प्रस्ताव जाने सम्भावनै छैन। नेकपा एमाले त्यो गल्ती गर्दै गर्दैन”, एमाले उपाध्यक्ष विष्णु पौडेलले बीबीसीसँग भन्नुभयो, “नेकपा एमालेलाई कमजोर देखाउने खेल हो यो।”

प्रस्ताव र भेटको प्रसङ्ग
माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रमलाई बुधवार सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कांग्रेसलाई पनि ूठेगान लगाइदिनेू आशयका अभिव्यक्ति दिनुभएको थियो।

“माओवादी केही होइन अब स्थानीयमा पनि धेरै जसो ठाउँमा ठेगान लगाइयो अब प्रदेश र सङ्घमा पनि ठेगान लगाउने भन्यो भने हामीले एमाले जस्तै कांग्रेसलाई पनि लगाउने दिन नआओस् भन्ने छ हामीलाई”, उहाँले भन्नुभएको थियो।

प्रचण्ड ओली

प्रचण्ड ओली

बीबीसीसँगको कुराकानीमा प्रचण्डका स्वकीय सचिव रमेश मल्लले गत साता दुई पटक भएका छुट्टाछुट्टै भेटमा नेकपा एमालेका नेताहरूले प्रचण्डलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेको दाबी गर्नुभयो।

मल्लका अनुसार गत शनिवार एमाले अध्यक्ष केपी ओली निकट केही नेताहरूले संसद् भवन नयाँ बानेश्वरमा प्रचण्डसँग भेट गर्नुभएको थियो।

“सरकारको नीति तथा कार्यक्रम पारित गर्ने दिन पनि उहाँहरूले संसद् भवनमै कार्यकक्षमा आएर भेट्नुभएको हो। त्यसअघि पनि एक चरण भेट्नु भएको थियो”, मल्लको दाबी छ।

तर उहाँले भेटमा सहभागी भनिएका एमाले नेताहरूको नाम खुलाउनु भएन।

‘मोलमोलाइको दाउ’

एमाले महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले पनि माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बन्ने प्रस्ताव नगरिएको दाबी गर्नुभएको छ।

प्रचण्ड ओली

प्रचण्ड ओली

बिहीवार बीबीसी नेपाली सेवासँगको रेडि‌ओ अन्तर्वार्ताका क्रममा नेता ज्ञवालीले प्रदेश र प्रतिनिधिसभा निर्वाचनअघि कांग्रेससँग ‘मोलमोलाइ’का लागि प्रचण्डले यस्तो अभिव्यक्ति दिएको आरोप लगाउनुभयो।

“कांग्रेससँग आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो बार्गेनिङ बढाउन गरिएको सुनियोजित प्रपञ्च र प्रचार हो”, उहाँले भन्नुभयो।

गठबन्धनको अर्को साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि आफूलाई समेत प्रधानमन्त्री बन्ने प्रस्ताव आएको सङ्केत गर्नुभएको छ।

“तपाईँलाई मात्रै होइन अन्त पनि आएको होला है”, सुर्खेतमा एक कार्यक्रममा नेपालले भन्नुभयो “यस्तो प्रस्तावको भूल भूलैयामा पर्ने मान्छे म होइन।”

माओवादीको तुजुक

माओवादी केन्द्रका एक नेताले माओवादी गठबन्धन तोडेर एमालेसँग सहकार्यको पक्षमा नभए पनि देउवाले आफैँ प्रधानमन्त्री पद हस्तान्तरण गर्दा उपयुक्त हुने बताउनुभएको छ।

नेता हरिबोल गजुरेलले आगामी निर्वाचन गर्नका लागि प्रचण्ड वा माधव नेपालको नेतृत्वमा सरकार बनाउन सकिने बताउनुभयो ।

“अब यतिन्जेल मैले चलाएँ। एउटा निर्वाचन पनि गरेँ। अबको निर्वाचन तपाईँहरूमध्ये कसैले गर्नुस् भन्दा मिल्ने कुरा हो”, गजुरेलले बताउनुभयो “तर यताउता गरिरहँदा राम्रो सन्देश जाँदैन नि।”

कांग्रेस निश्चिन्त

देउवा प्रचण्ड

नेपाली कांग्रेसका नेताहरू भने माओवादीले गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्ने सम्भावना आफूहरूले नदेखेको बताउँनुुहुन्छ।

“उहाँहरू (एमाले नेताहरू)ले कोसिस पनि गर्नुभएको होला। कुराहरू चलिरहेकै हुन्छन्। यो अनौठो मान्ने कुरा भएन। तर यही गठबन्धन अघि जान्छ भन्ने हामीलाई विश्वास छ”, कांग्रेस प्रवक्ता प्रकाश शरण महतले भन्नुभयो।

पार्टीको सामर्थ्यका आधारमा चुनावी तालमेल हुने भन्दै उनले त्यसबाट गठबन्धनका कुनै पनि दल असन्तुष्ट हुने कारण नरहेको दाबी गर्नुभयो।

माओवादीका नेताहरूले सरकारको नेतृत्वमा दाबी गरे कांग्रेस तयार होला भन्ने प्रश्नमा महतले भन्नुभयो,”प्रचण्डजीले त्यस्तो कुनै माग गरेको हामीले ठानेको छैन। माग नै नभएको कुरामा किन प्रवेश गर्ने।”(बीबीसी)

Share Now

Leave a comment.