काठमाडौं, २२ जेठ । नेपाल उद्योग परिसंघले भारतीय र बंगलादेशी पर्यटक लक्षित ‘समर टुरिजम क्याम्पेन’ संचालन गरेको छ ।
राजधानीमा विहिबार आयोजित पत्रकार सम्मेलनमा अभियानको शुभारम्भ गर्दै परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले कोभिड १९ पछि भारतीय र बंगलादेशीसहित अन्य मुलुकका पर्यटक समेत विस्तारै बाहिर निस्कन थालेको अवस्थामा उनीहरुलाई नेपालमा आकर्षित गर्न यो अभियान संचालन गरेको बताउनुभयो ।
हाल भारत एवं बंगलादेशमा निकै गर्मी छ । गर्मी मौसममा उनीहरु बाहिर भ्रमण गर्न निस्कन खोजिरहेको बेला नेपाललाई नै गन्तव्य बनाउन यो अभियानले आकर्षित गर्ने विश्वास उहाँको छ ।
“पर्यटनले नेपाललाई विश्वमा चिनाएको छ । पर्यटन यस्तो उद्योग हो जहाँ एक विदेशी एक पटक आउँदा त्यसले धेरै क्षेत्रमा मूल्यअभिबृद्धि गर्नुका साथै विदेशी मुद्रा आर्जन हुन्छ । त्यसैले परिसंघले नेपालको पर्यटन प्रबद्र्धन गर्न र पर्यटक भित्र्याउन यो अभियान संचालन गरेको हो” उहाँले भन्नुभयो।
परिसंघ जस्तो जिम्मेवारी संस्थाले लामो समय कोभिडबाट प्रभावित पर्यटन उद्योगको प्रबद्र्धन गर्नुपर्छ भन्ने उद्देश्यले नै अभियान संचालन गरेको उहाँले बताउनुभयो । यो अभियानले भारतीय र बंगलादेशीसहित अन्य मुलुकका पर्यटक भित्र्याउन पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास अग्रवालको छ ।
भारत र बंगलादेश पर्यटन पनि दु्रत रुपमा बृद्धि भइरहेको छ । दुवै देशको आर्थिक बृद्धि पनि उच्च छ । नेपालसँग हवाई संजाल राम्रो र सहज पनि भएकाले यी देशका नागरिक अन्य मुलुकमा भ्रमण गर्नुभन्दा नेपालमा आउन सहज पनि छ । तर, उनीहरुलाइ हाम्र्रो गन्तव्य, मौसमको बारेमा जानकारी गराउनु पनि पर्छ । सोही उद्देश्य अनुरुप परिसंघले यो अभियान संचालन गरेको हो ।
सन् २०१९ मा २ करोड ६३ लाख बढी भारतीय अन्य मुलुकको भ्रमण गएको तथ्यांक छ । यस्तै सोही अवधिमा २५ लाख बंगलादेशी नागरिक पनि अन्य मुलुकमा भ्रमणका लागि निस्किएको देखिन्छ । कोभिड पछि उनीहरु विस्तार बाहिर निस्कन थालेकाले नै उनीहरुलाई लक्षित गरी यो अभियान संचालन गरिएको हो ।
नेपाल उद्योग परिसंघका उपाध्यक्ष राज बहादुर शाहले भारत र बंगलादेशको उच्च गर्मीबाट शीतलता खोजिरहेका भारतीय र बंगलादेशी पर्यटकका लागि नेपालको मौसम अनुकूल रहेकाले यो अभियानले उनीहरुलाई आकर्षित गर्ने विश्वास व्यक्त गर्नुभयोे ।
“नेपालमा जस्तो अनुकूल मौसम अन्य कुनै पनि मुलुकमा छैन । कोभिडका कारण दुई वर्ष बाहिर निस्किएनन् । भारत र बंगलादेशमा अहिले निकै गर्मी छ । त्यसैले उनीहरु नेपालको मौसममा रमाउन आउन यो अभियानले पक्कै आकर्षित गर्नेछ” उहाँले भन्नुभयो ।
परिसंघका महानिर्देशक दीपकराज जोशीले भारत र बंगलादेशमा रहेका परिसंघको नेटवर्कबाट पनि यो अभियान प्रबद्र्धन गरिने बताउनुभयो । परिसंघले भारतमा अल इण्डिया एसोसिएसन अफ इन्डस्ट्रीज, फेडेरेसन अफ इण्डियन इन्डस्ट्रिज, फेडेरेसन अफ इण्डियन च्याम्बर्स अफ कमर्स एण्ड इण्डस्ट्रिज, पीएचडी च्याम्बर अफ कमर्स एण्ड इण्डीस्ट्रसँग सहकार्य गर्दै आएको छ ।
यस्तै बंगलादेशको मेट्रोपोलिटीन च्याम्बर अफ कमस एण्ड इन्डस्ट्रि, र ढाका च्याम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिसँग पनि परिसंघले सहकार्य गर्दै आएको छ । यो अभियान यी संस्थाहरुमार्फत पनि ती देशमा प्रबद्र्धन गरिने जोशीले बताउनुभयो । यस्तै भारत र बंगलादेशमा रहेका पर्यटनसँग सम्बन्धित संस्थाहरुसँग पनि परिसंघले अन्तर्राष्ट्रिय रुपमा समन्वय र सहकार्य गर्दै आएको छ ।
परिसंघको पर्यटन समिति सभापति पम्फा धमलाले नजिकको छिमेकीबाट यो अभियान संचालन गर्न लागिएको जानकारी गराउनुभयो । उहाँले यो अभियानले नेपालको पर्यटन प्रबद्र्धनमा निकै सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
पत्रकार सम्मेलनमा परिसंघको पर्यटन समिति सदस्यहरु अशोक पोख्रेल, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐर, नाट्टा अध्यक्ष रमेश थापा, सुरेश बुडाललगायतले परिसंघले संचालन गरेको यो अभियानले भारत, बंगलादेश मात्रै नभई अन्य मुलुकका पर्यटक पनि आकर्षित गर्न सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयोे ।
पर्यटनसँग सम्बन्धित विभिन्न संघ, संस्था एवं व्यवसायीहरुलाई यो अभियानको अपनत्व लिदै आ आफ्नो सञ्जालबाट थप प्रबद्र्धन गर्न परिसंघले आग्रह गरेको छ ।


















