काठमाडौ, ३२ आषाढ । नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले भारत सरकारले गहुँ, चिनी लगायत केही खाद्यन्य वस्तुहरूमा लगाएको निर्यात प्रतिबन्ध नेपालको हकमा लागू नहुने वताउनुभएको छ।
नेपाल उद्योग वाणिज्य महासंघले बिहिबार आयोजना गरेको भेटवार्तामा नवनियुक्त भारतीय राजदूत श्रीवास्तवले गहुँ र चिनीको निर्यात प्रतिबन्ध नेपालका लागि नभएको बताउनुभएको हो ।
ुभारत सरकार, भारतसँगै नेपालको पनि आर्थिक विकास हुनुपर्छ भन्ने पक्षमा छ। तपाईंहरूको प्रगतिको हरेक प्रयासमा सहयोग गर्न भारत सदैव तयार छ,ु राजदूत श्रीवास्तवले भन्नुभयो, ुहामी दुवै देश ज्वाइन्ट भेन्चर जसरी नै काम गर्न चाहान्छौं।ु
सडक, रेल, हवाईका साथै डिजिटल कनेन्टिभिटीमा देखा परेका समस्याहरूको समाधान गर्दै नेपालको अर्थतन्त्रलाई बलियो बनाउन भारत सरकार तयार रहेको उहाँले बताउनुभयो।
प्रयोगशाला टेष्टका सम्बन्धमा भने भारत सरकारले रक्सौलमा अन्तर्राष्ट्रियस्तरको प्रयोगशाला स्थापना भएको उहाँको भनाइ छ। उहाँले काठमाडौंमा रहेको प्रयोगशालालाई भारतमा एक महिनाभित्रै मान्यता दिने गरी काम भइरहेको समेत जानकारी दिनुभयो।
महासंघका अध्यक्ष शेखर गोल्छाले भारत सरकारकातर्फबाट केही अत्यावश्यक वस्तुहरूको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय भएपछि नेपाली उद्योगहरूलाई समस्या उत्पन्न हुन थालेको बताउनुभएको थियो।
उहाँले भेटवार्तामा नेपालमा लगानी विस्तार, व्यापारिक नाकाहरूको पूर्वधार विकास, प्रयोगशालाहरूको स्तरीकरण तथा थप प्रयोगशालाहरूको विस्तार, गैर भन्सार अवरोधहरूका विषयबारे आफ्नो विचार व्याक्त गर्नुभएको थियो।
नेपालको भारतसँगको व्यापार घाटा नेपालका लागि चिन्ताको विषय भएकाले व्यापार घाटालाई कम गर्ने कार्यमा भारतीय सहयोग अपरिहार्य रहेको समेत अध्यक्ष गोल्छले उल्लेख गर्नुभएको थियो।
तेस्रो मुलुकसँगको व्यापारका लागि थप दुई बन्दरगाहको प्रयोग गर्ने सुविधाका लागि पनि उहाँले आग्रह गर्नुभयो।


















