Prakash Adhikari September 8, 2022

 

बाल्मोर(संयुक्त अधिराज्य), २४ भाद्र(बीबीसी) । बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहनुभएकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बाल्मोरलमा निधन भएको छ। उहाँ ७० वर्षसम्म गद्दीनसीन हुनुहुन्थ्यो।

बिहीवार उहाँको स्वास्थ्यका बारेमा गम्भीर चिन्ताहरू व्यक्त हुँदै गर्दा उहाँका परिवारका सदस्यहरू उहाँ रहेको स्कटल्याण्डस्थित निवासमा भेला हुनुभएको थियो।

महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हाल्नुभएको थियो र त्यसयता उहाँ ठूलो सामाजिक परिवर्तनको साक्षी बन्नुभएको थियो।

उहाँको निधनपछि उहाँका जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बन्नुभएको छ । उहाँ १४ वटा राष्ट्रमण्डलका देशहरूको राष्ट्रप्रमुख पनि बन्नुभएको छ।

नयाँ राजा चाल्र्स तृतीयले उहाँको प्रिय आमाको निधन एउटा ठूलो दुःखको क्षण भएको बताउनुभएको छ।

राजा चार्ल्सले एक विज्ञप्ती जारी गर्दै भन्नुभएको छ, “हामीले एकजना लोकप्रिय महारानी र सबैले माया गर्ने आमाको निधनको गहीरो शोक मनाउने छौँ। मलाई थाहा छ उहाँको अभाव देशभरी नै अनुभव गरिने छ र राष्ट्रमण्डलका देशहरूमा पनि। साथै संसारभरीका अनगिन्ती मानिसहरूले पनि उहाँको अभाव महसुस गर्नेछन्।”

उहाँले भन्नुभएको छ, शोक र परिवर्तनको अवधिमा उहाँ र उहाँको परिवारलाई महारानीलाई मानिसहरूले सम्मान व्यक्त गर्ने र गहीरो प्रेम गर्ने गरेको भन्ने जानकारीले सान्त्वना प्रदान गर्नेछ।

निधन
एउटा विज्ञप्ति जारी गर्दै बकिङ्गम दरबारले भनेको छ, “आज दिउँसो बाल्मोरलमा महारानीको शान्तिपूर्ण रूपमा निधन भएको छ। राजा र क्वीन कन्सोर्ट (राजाको धर्मपत्नी) आज बाल्मोरलमै बस्नुहुनेछ र भोलि लन्डन फर्कनु हुनेछन्।”

चिकित्सकहरूले महारानीलाई चिकित्सकीय निगरानीमा राखेपछी उहाँका सबै सन्तानहरू एबरडीन नजिकैको बाल्मोरलमा जानुभएको थियो।

महारानीको निधनको घोषणा हुँदा उहाँको नाति राजकुमार विलियम पनि त्यहाँ हुनुहुन्थ्यो भने अर्का नाति राजकुमार ह्यारी बाटोमा नै रहनुभएको थियो।

महारानी एलिजाबेथ द्वितीयाबाट मंगलबार मात्रै पदभार ग्रहण गर्नुभएकी ब्रिटेनकी प्रधानमन्त्री लिज ट्रसले “महारानी आधुनिक ब्रिटेन निर्माण भएको चट्टान जस्तै भएको र उहाँले हामीलाई आवश्यक स्थीरता र शक्ति प्रदान गरेको” बताउनुभएको छ।

नयाँ राजाका बारेमा बोल्दै उहाँले भन्नुभएको छ, ” हामी उहाँ समक्ष उहाँको आमाले यति लामो समयसम्म यति धेरै मात्रामा व्यक्त गरेको जसरी नै हाम्रो बफादारी र समर्पण प्रस्तुत गर्दछौ र दोस्रो एलिजाबेथ युगको अन्त्यसँगै हाम्रो महान् देशको उल्लेखनीय इतिहासमा हामी नयाँ युगको स्वागत गर्दछौँ, सम्भवतः ठीक महारानीले चाहना गरेको जस्तै गरी र भन्छौँ गड सेभ द किङ् (ईश्वरले राजाको रक्षा गरुन् )।”

 

प्रधानमन्त्री
महारानी एलिजाबेथ द्वितीयाको शासनकालमा ब्रिटेनमा १५ जना प्रधानमन्त्री भए, सन् १८७४ मा जन्मेका विन्स्टन चर्चील देखि लिएर त्यसको १०१ वर्ष पछि सन् १९७५ मा जन्मेकी हालकी प्रधानमन्त्री लिज ट्रससम्म।

राज्यकालभरी नै महारानी एलिजावेथले प्रधानमन्त्रीहरूसँग साप्ताहिक रूपमा भेटघाट गर्ने गर्नुहुन्थ्यो।

लण्डनस्थित बकिंघम राजदरबारबाहिर महारानीको स्वास्थ्य अवस्थाबारे जानकारीको प्रतिक्षा गरिरहेका मानिसहरू उहाँको निधनको समाचार सुनेर रून थालेका थिए।
स्थानीय समय अनुसार बेलुकीको साढे छ बजे महारानीको निधन भएको घोषणा गरिएपछि उक्त दरबारमा रहेको राष्ट्रिय झण्डा आधा झुकाइएको थियो भने महारानीको निधन भएको भन्ने औपचारिक सूचना दरबारबाहिर राखिएको थियो।

महारानीको जन्म सन् १९२६ को २१ एप्रिल लण्डनको मेफएरमा एलिजाबेथ एलेक्जान्ड्रा मेरी विन्डसरका रूपमा भएको थियो।

उहाँ ब्रिटेनको महारानी बन्नुहोला भनेर कसैले पनि अनुमान गरेका थिएनन् तर सन् १९३६ मा उहाँको ठूलो बुवा एडवर्ड अष्टम्‌ले दुईपटक पूर्वपतिहरूसँग छोडपत्र गरेकी अमेरिकी महिला वालिस सिम्पसनसँग विवाह गर्न राजगद्दी त्याग्नुभयो।

त्यसपछि उहाँका पिता जोर्ज छैठौँ राजाबनेपछि १० वर्षको उमेरमा नै परिवारभित्र लिलिबेट भनेर मायालु नामले बोलाइने एलिजावेथ राजगद्दीको उत्तराधिकारी बन्न पुग्नुभएको थियो।

Share Now

Leave a comment.