Prakash Adhikari September 24, 2022

 

काठमाडौं, ८ असोज । नेपाली कांग्रेसको संस्थापन इतर समूहले टिकट वितरणमा ४० प्रतिशत हिस्सा माग्दै आज खबरदारी भेलाको आयोजना गर्ने भएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा पार्टीका तर्फबाट दिइने उम्मेद्वारमा आफ्नो समूहका नेता तथा कार्यकर्तालाई कुनामा पुर्याएको आरोप लगाउदै १४ महाधिवेशनमा सभापति पदका उपविजेता शेखर कोइरालाको नेतृत्वमा आज खबरदारी सभा हुन लागेको हो ।

कोइराला समूहले आम निर्वाचनको समानुपातिक तर्फको सूची तयारीमा पनि आफ्नो समूहलाई पेलिएको जनाएको छ ।

शुक्रबार बसेको सो समूहको अनौपचारिक बैठकमा शेखर पक्षका केन्द्रीय सदस्य, केही जिल्ला सभापति, पूर्व जिल्ला सभापति, प्रदेश समितिका पदाधिकारी, भातृ संस्थाका नेताहरु लगायत सहभागी थिए ।

बैठकले देउवालाई दबाव दिनका लागि आज शनिबार दिउँसो १ बजे वानेश्वर ब्यांक्वेटमा खबरदारी भेला गर्ने निर्णय गरेको छ ।

भेलामा टिकटका लागि प्रत्यक्ष तथा समानुपातिकमा सिफारिस परेका र आकांक्षीहरु पनि सहभागी हुने बताइएको छ ।

नेपाली कांग्रेसको संसदीय बोर्डमा संस्थापन इतर समूहको पनि राम्रो प्रतिनिधित्व रहेको छ ।

उपसभापति धनराज गुरुड., महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री जीवन परियार, बद्री पाण्डे संस्थापन इतरबाट प्रतिनिधित्व गर्नुहुन्छ ।

 

Share Now

Leave a comment.