काठमाडौं, १० असोज । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) र कुमारी एकापसमा गाभिने भएका छन् ।
कुमारी बैंक र एनसीसी बैंकले सोमबार आयोजित एक कार्यक्रममा बराबर हैसियतमा मर्जरमा जाने सम्झौता गरेका छन् ।
उक्त कार्यक्रममा कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवाली र एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोलाले समझादारी पत्रमा हस्ताक्षर गर्नुभएको थियो।
समझदारीअनुसार १ः१ अनुपातको स्वाप रेसियामो मर्जर हुनेछ। बाँकी विषय विस्तारै टुङ्गो लगाउने बताइएको छ। दुई बैंक मर्जरपछि बन्ने बैंकको चुक्ता पुँजी २५ अर्ब ८५ करोड हुनेछ।
पुस मसान्तसम्म एकीकृत कारोबार भएको खण्डमा राष्ट्र बैंकको नीतिअनुसार अतिरिक्त सुविधा पाइनेछ।
गाभिने बैंकहरुलाई सुविधा
राष्ट्र बैंकका अनुसार पुस मसान्तसम्ममा मर्जरमा जाने अर्थात् एक आपसमा गाभ्ने, गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत कारोबार सञ्चालन गरे विद्यमान व्यवस्थाको अतिरिक्त थप सुविधा तथा छुट २०८० असार मसान्तसम्म प्रदान गरिनेछ।
राष्ट्र बैंकले उल्लेख गरेअनुसार तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्ने अवधि एक वर्ष थप गरिने, एकीकृत कारोबार गरेको एक वर्षसम्म अनिवार्य नगद मौज्दातको सीमामा शून्य दशमलव ५ प्रतिशत विन्दुले छुट प्रदान गरिने, एकीकृत कारोबार गरेको एक वर्षसम्म वैधानिक तरलता अनुपातमा १ प्रतिशत विन्दुले छुट प्रदान गरिने, यस बैंकबाट तोकिएको प्रतिसंस्था निक्षेप संकलन सीमामा ५ प्रतिशत विन्दु थप गरिने, सञ्चालक समितिका सदस्य र उच्चपदस्थ कर्मचारी पदबाट हटेको कम्तीमा ६ महिना पूरा नभई राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त अन्य संस्थामा आबद्ध हुन नपाउने विद्यमान प्रावधानमा छुट प्रदान गरिने, यस बैंकको निर्देशनबमोजिम कायम गर्नुपर्ने कर्जा र निक्षेपको ब्याजदर अन्तरमा १ प्रतिशत विन्दुले छुट दिइनेछ।
त्यस्तै एकीकृत कारोबार थालनी गर्दा कर्जा निक्षेप अनुपातले सीमा नाघेमा सो नियमित गर्न एक वर्षको समय प्रदान गरिने, एकीकृत कारोबार सञ्चालनको क्रममा १ किमिभित्रका शाखा कार्यालयहरुमध्ये कुनै एक शाखा कायम राखी अन्य शाखा गाभ्न वा बन्द गर्न यस बैंकको स्वीकृति आवश्यक नपर्ने व्यवस्था गरिने, वाणिज्य बैंकको शून्य दशमलव १० प्रतिशत वा सोभन्दा कम सेयरधारण गरेका संस्थापक समूहको सेयरधनीहरुले यस्तो सेयर बिक्री गर्दा ‘फिट एण्ड प्रपर टेस्ट’ अनिवार्य नहुने व्यवस्था गरिने समेत उल्लेख छ


















