काठमाडौं, १५ असोज । राष्ट्रिय ध्वजाबाहक विमान सेवा सञ्चालन गर्ने नेपाल वायुसेवा निगमको न्यारो बडी जहाज सगरमाथा इञ्जिन फेरेर फर्किएको छ ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले दिनुभएको जानकारी अनुसार इजरायलको एरोस्पेस इन्ड्रष्ट्रिज(आईएआई, ) मा मर्मत संभार सकिएको ए ३२० सेरिजको नाइन एन एकेडब्ल्युको बाँया इञ्जिन एस एन भी १७५८४ जडान गरेर जहाज फर्किएको हो ।
अब सो जहाज भोलिदेखि नै नियमित उडानमा चल्ने बताइएको छ ।
निगमको सगरमाथा जहाज यसको दायाँ इञ्जिन सि.नं.भी १७५८५ को उडान समयावधि सकिन लागेकोले त्रिभुवन विमानस्थलमा ३१ जुलाई देखि भूमिस्थ भएको थियो ।
सो जहाजको दाँया इञ्जिनमा समस्या देखिए पछि निगमका इञ्जिनियरहरुले बोरोस्कोपिक परीक्षण गर्दा इञ्जिनको एचपीटी ब्लेड र मेटेरियल लस पाइएको थियो । निगमको संबन्धित विभागले इञ्जिन निर्माता कम्पनी आईएईलाई जानकारी गराउदा उसले सो इञ्जिन १० साइकलभित्र फेर्नुपर्ने सुझाब दिएको थियो । त्यसपछि पनि सो जहाजले ३ उडान अर्थात ६ साइकल उडान गरेकोले अब ४ साइकल मात्र उडान गर्नसक्ने अवस्थामा सो जहाज भूमिस्थ गरिएको हो ।
निगमको यो मर्मतसंभार गर्नुपर्ने इञ्जिन संबन्धित मर्मत संभार केन्द्र निकट पुर्याउने र इजराइलमा मर्मत भैसकेको इञ्जिन जहाँजलाई त्यही लगेर जडान गरेर ल्याउनका लागि यो जहाजको व्यवसायिक उडान स्थगित गरिएको थियो ।
अहिले चाडबाड संगै पर्यटकीय सिजन पनि सुरु भएकोले निगमका जहाजहरुको अत्यधिक उडान उपयोगिता गर्न व्यवस्थापनले भूमिस्थ भएको जहाजलाई छिटो उडाउने र समयावधि सकिएको इञ्जिनको छिटो मर्मत संभार गर्ने निर्णय गर्दै यसकोलागि आवश्यक प्रशासनिक, प्राविधिक, वित्तीय कार्यहरु तदारुकताका साथ अगाडि बढाएको थियो ।
नेपाल वायुसेवा निगमको चार्टर फ्लाईट र फेरी (Ferry) फ्लाईटमा अहोरात्र खटिएर विशेष योगदान पुर्याउने निगमको साख बृद्धि गर्न अनुकरणिय कार्य गरेकोले निगमका कार्यकारी अध्यक्षज्यूले उक्त कार्यको उच्च मूल्याङ्कन गर्दै प्रशंसा पत्र प्रदान गर्नु भएको छ ।
१) ज्ञान बहादुर कुँवर, उप–निर्देशक, कन्टिन्यूइङ्ग एयरवर्दिनेश म्यानेजमेन्ट विभाग
२) रमेश पौडेल, का.मु.उप–निर्देशक, वाणिज्य विभाग
३) टिका राम पँगेनी, का.मु.उप–निर्देशक, अपरेशन्स विभाग
४) पुनम अधिकारी, प्राविधिक अधिकृत, ग्राउण्ड सर्पोट विभाग
५) चक्र नकर्मी, सिनियर फ्लाईट डिस्प्याचर, अपरेशन्स विभाग
६) राजिव अधिकारी, सिनियर फ्लाईट डिस्प्याचर, अपरेशन्स विभाग
निगम व्यवस्थापनले मर्मत संभारको समयावधि आइपुगेको इञ्जिनलाई इजराईलको मर्मतकेन्द्रमा छोडेर त्यहाँ मर्मतसंभार सकिएको इञ्जिन जडान गरेर ल्याएको हो ।
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमसंग अन्तर्राष्ट्रिय उडान गर्ने दुई ए ३३० वाइडबडी र दुई ए ३२० न्यारोबडीका जहाज छन् ।
भूमिस्थ जहाज इञ्जिन फेरेर आएकोले भोलिदेखि अन्तराष्ट्रिय उडानतर्फ निगमका चारैवटा जहाजहरुको सेवा सूचारु हुनेछ ।
निगमसंग आन्तरिक उडानका लागि लिइएका जहाजको संख्या ८ वटा छ । यसमध्ये चीनमा निर्मित दुई थान एमए ६० र तीन थान वाई १२ जहाजहरु निगम सञ्चालक समितिको २०७७ आषाढ १६ गतेको बैठकले आर्थिक कारण देखाउदै उडाउन नसकिने ती बिमानहरु कि भाडामा दिने कि बिक्री गर्ने निर्णय गरेर थन्क्याएको हो ।
निगमको वर्तमान व्यवस्थापन आएपछि निगमको यो सम्पत्तिलाई सदुपयोग गर्नका लागि मर्मत संभार गरेर सञ्चालन गर्ने, भाडामा दिने र बिक्री गर्ने तीन विकल्पमा अध्ययन गरेको थियो । र्दुईवटा वाई १२ सञ्चालनमा ल्याउन ५ करोड खर्च लाग्ने देखिएपछि सञ्चालक समितिको पहिलेको निर्णय अनुरुप नै संशोधित दररेटमा भाडामा लगाउन प्रस्ताव माग गरिसकेको छ ।
अर्को ट्विनओटर पनि तयार भयो
निगमका रहेका तीनवटा ट्वीनओटर मध्ये लामोसमयदेखि थन्केर बसेको नाइनएन एबीटीको मर्मत संभार सकिएको छ । निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी आफैले चासो राखेर आफ्नै निगरानीमा यो जहाज मर्मत गराएर यसको परीक्षण उडान पनि भएको छ ।
निगम व्यवस्थापनले यो जहाजको उडानतालिका आजै सार्वजनिक गरिने छ र भोलिदेखि नै यो जहाज उडानमा जाने छ ।
निगम व्यवस्थापनले दिएको जानकारी अनुसार चाडपर्वको समयमा निगमले अन्तर्राष्ट्रिय क्षेत्रमा दुई वाइडबडी र दुई न्यारोबडीका जहाजहरु र आन्तरिक उडानतर्फ दुई वटा ट्रवीनओटर पूर्ण सेवामा लगाउने छ ।

निगमले एक ट्विनओटरलाई काठमाडौं बेस बनाएर पूर्वी पहाडका जिल्लाहरुमा चलाउने छ भने अर्कोलाई नेपालगञ्ज बेस बनाएर कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली जिल्लाहरुमा सेवा दिनेछ ।
नाइन एन एबीएक्स संकेत चिन्हको जहाज विगत एक दशकदेखि भूमिस्थ रहेको छ । यसको विड. एसेम्ब्लीको लाईफ सकिएकोले त्यसको मर्मतसंभार नगरी उडाउन नसकिने अवस्था छ । यसको लागि ठूलो खर्च लाग्ने भएको हुँदा के कसरी गर्ने भन्ने छलफल भैरहेको निगम व्यवस्थापनले जानकारी दिएको छ ।
आन्तरिक उडानका विमान सञ्चालन गर्ने उपायमा पनि निगमलाई सञ्चालक समिति र मन्त्रालयको साथ र सहयागको खाँचो परेको छ ।
टिकट बिक्री अनलाईन प्रणालीमा
निगमको वर्तमान व्यवस्थापनले अनलाईन टिकटिड. सुरु भईसकेको जनाएको छ । निगमले एक सूचना प्रकाशित गर्दै असोज १० गतेबाट निगमका नियमित उडान सुरु भएका दिल्ली, मुम्बई, बंगलोर, दोहा, दुबाई, रियाद, क्वालम्पुर, बैंकक, हंगकंग, नारिता(जापान)मा यो प्रणाली लागू भएकोले अनलाइनबाट टिकट बुक गर्न अनुरो गरेको छ ।

यसको वित्तीय अवस्थामा सुधार आएर यसले आषाढको अन्तिम सातामात्र कर्मचारी सञ्चय कोषको ९० करोड र नागरिक लगानी कोषको ४५ करोड ऋण तिरेको छ । ओभर ड्राफ्टबाट लिएको रकम चुक्ता गरेको छ । कर्मचारी र व्यवस्थापनका बीचमा सुमधुर सम्बन्ध विकसित भएको छ । विश्व उड्डयन तथा पर्यटन बजार कोरोना पूर्वको अवस्थामा नआउदै निगमले रियादमा अन्तर्राष्ट्रिय गन्तव्य विस्तार गरेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा ग्राउण्ड ह्याण्डलिड. सेवा सञ्चालन भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको लागि जनशक्ति तयार पारिदैछ ।






















