काठमाडौँ, २७ फागुन। उपराष्ट्रपतिमा चार जनाको उम्मेद्वारी परेको छ । निर्वाचन आयोगले निर्धारण गरेको समयमा उपराष्ट्रपतिको निर्वाचन कार्यालयमा अष्टलक्ष्मी शाक्य, रामसहाय प्रसाद यादव, प्रमिला यादव र ममता झाको उम्मेदवारी परेको छ ।
उपराष्ट्रपतिमा एमालेको एक जना र सत्तारुढ दलहरुकै गठबन्धनबाट ३ जना हुनुहुन्छ ।
नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँको प्रस्तावकमा अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, गोकर्ण बिष्ट, रघुवीर महासेठ हुनुहुन्छ भने समर्थकमा कृष्णगोपाल श्रेष्ठ, महेश बर्तौला, तुलसा दाहाल, भगवती न्यौपाने, यशोदा रिजाल रहनुभएको छ ।
सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपालबाट २ जना र जनमत पार्टीबाट १ गरी तीन जनाको उम्मेदवारी परेको हो ।
जसपाबाट प्रमिला यादव र जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादवको उम्मेदवारी दर्ता भएको छ ।
प्रमिला यादवको प्रस्तावकमा रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की, राजकिशोर यादव रहनुभएको छ।
समर्थकमा अनिता देवकोटा, विमला सुवेदी, सीता गुरूङ, जयन्ती राई, मनिष सुमन रहनुभएको छ।
त्यस्तै रामसहायप्रसाद यादवको प्रस्तावकमा जसपा नेता अशोककुमार राई, प्रदीप यादव, एकीकृत समाजवादीका किसान श्रेष्ठ, माओवादी केन्द्रका शक्ति बस्नेत र नेपाली कांग्रेसका रमेशजंग रायमाझी हुनुहुन्छ । समर्थकमा जसपाकी रेखा यादव, अम्बिका काफ्ले, एकीकृत समाजवादीका प्रकाश ज्वाला, खिमलाल देवकोटा, भानुभक्त जोशी रहनुभएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका सत्तारुढ गठबन्धनमै रहेको दल जनमत पार्टीकी नेता ममता झाले पनि उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।
उहाँको प्रस्तावकमा जनमत पार्टीका अब्दुल खान, अनिता देवी, नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी, अविराम शर्मा, रुपाकुमारी यादव हुनुहुन्छ भने समर्थकमा गोमालाम सापकोटा, विनिताकुमारी सिंह, बसन्तकुमार कुशवाह, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी ।
उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुँदैछ ।
जसपाबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ । नेकपा एमालेका तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार रहेकी अष्टलक्ष्मी शाक्यका प्रतिनिधि महेश बर्तौलाले उजुरी दर्ता गराउनुभएको हो।
बिहान ९ बजेदेखि ३ बजेसम्म उम्मेदवारी दर्ताको कार्यक्रम सकिएपछि यादवको उम्मेदवारी विरुद्ध उजुरी परेको हो ।



















