पोखरा(कास्की), २७ फागुन । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान शुरु भएको छ ।
अन्तर्राष्ट्रिय विमानस्थललाई हब बनाएर चार आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान सुरु भएको विमानस्थलका प्रमुख विक्रम गौतमले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट बिहीबार रातिदेखि विभिन्न चार गन्तव्यबाट रात्रिकालीन उडान सुरु गरेको हो ।
बुद्ध एअरले काठमाडौँ, भद्रपुर, भैरहवा र नेपालगञ्जबाट पोखरामा रात्रिकालीन उडान भरेको विमानस्थलले जनाएको छ ।
उहाँले रात्रि उडान तालिका बनाएर उडान सञ्चालन भएको र यसबाट यात्रुको सहजताका साथै पर्यटन विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । ‘रात्रिकालीन उडानबाट अत्यावश्यक कामकाजी यात्रुलाई सहजता हुनका साथै ‘सिटी लाइफ’ चलायमान बन्नेछ’ उहाँले भन्नुभयो ‘पर्यटन उद्योगलाई पनि चलायमान बनाउन मद्दत पुग्नेछ ।’
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार रात्रि उडान भरेर पोखरामा विसान भएका जहाजले शुक्रबार बिहान पोखराबाट पुनः काठमाडौँ, भैरहवा, नेपालगञ्ज तथा भद्रपुर उडान गरेका छन् ।
कर्णले पोखरालाई हब बनाएर एकसाथ सुरु भएको रात्रिकालीन उडानले यात्रुलाई सहज आवातजावतका साथै मुलुकको पर्यटन विकास तथा स्थानीयस्तरमा थप रोजगारी सिर्जना गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । रात्रि उडानले विभिन्न कामको शिलशिलामा पोखरामा पुग्ने यात्रुले साँझ पोखरा बसाइ तथा घुमफिर गरेर बिहान आफ्नो गन्तव्यमा फर्कन सहज बनाएको छ ।
निर्धारित रात्रिकालीन उडान तालिकाअनुसार भद्रपुर–पोखरा साँझ ६ः५५ बजे, भैरहवा–पोखरा साँझ ७ः२५ बजे, नेपालगञ्ज–पोखरा साँझ ७ः३० बजे र काठमाडौँ–पोखरा साँझ ७ः३५ बजे रहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गत फागुन ११ मा इन्स्ट्रमेन्ट फलाइट रुल्स ९आइएफआर० प्रणाली लागू भएको थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिकतर्फ निजी क्षेत्रका बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स र सौर्य एयरले काठमाडौँ–पोखरा उडान भर्दै आएका छन् । पोखराको पुरानो आन्तरिक विमानस्थलबाट तारा एयर र समिट एयरले स्टल रुटमा उडान भर्दै आएका छन् ।


















