काठमाडौं, २६ वैशाख । यूनियन, गुराँस र प्राइम लाइफको मर्जर प्रक्रिया टुंग्याएर आजदेखि एकीकृत कारोबार सुरु गरेका छन् ।
कम्पनीहरुले ‘हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गरेका हुन् ।
प्राइम लाइफ, गुँरास लाइफ र यूनियन लाइफले २०७९ को वैशाख २९ गते मर्जरमा जाने समझदारी पत्रमा हस्ताक्षर गरेका थिए । यी कम्पनीहरु एक बराबर एक अनुपातमा मर्ज भएका हुन् ।
नयाँ बनेको कम्पनीको अध्यक्षमा सुलभ अग्रवाल र सिइओमा हालका युनियन लाइफ प्रमुख कार्यकारी अधिकृत(सीइओ) मनोजलाल कर्ण चयन हुनुभएको छ ।
नेपाल बीमा प्राधिकरणले यी तीनवटै कम्पनीहरुलाई वैशाख १३ गते एक आपसमा गाभिन अन्तिम स्वीकृति दिएको थियो । कम्पनीहरुलाई नेपाल धितोपत्र बोर्डले वैशाख १९ गते तीन वटै कम्पनीहरुलाई एक आपसमा गाभिन अन्तिम स्वीकृति दिएको थियो । यस्तै, कम्पनी रजिष्ट्रारको कार्यालयबाट यी कम्पनीहरुले वैशाख २० गते मर्जरमा जाने अन्तिम स्वीकृत पाएका थिए ।
नेपाल बीमा प्राधिकरणले पुँजी वृद्धिको नीति लिनु भन्दा अघि बजारमा १९ वटा जीवन बीमा कम्पनीहरु सञ्चालनमा थिए ।
प्राधिकरणले पुँजी वृद्धिको नीति लिएपछि जीवन बीमा कम्पनीतर्फ ९ कम्पनी चार वटामा कायम हुने गरी मर्जर प्रक्रियामा सहभागी भएका थिए । जसमध्ये ७ कम्पनी ३ वटामा कायम हुने गरी एकीकृत कारोबार गरिसकेका छन् ।
अझै जीवन बीमा कम्पनीतर्फ मर्जर प्रक्रियामा सहभागी भएका ९ मध्ये २ वटाको भने एकीकृत कारोबार हुन बाँकी छ । मर्जरपश्चात जीवन बीमा कम्पनीको संख्या १४ वटा कायम हुने छ ।
‘हिमालयन लाइफ इन्स्योरेन्स’ जीवन बीमा कम्पनीतर्फ चुक्ता पुँजीका आधारमा दोस्रो ठूलो कम्पनी बनेको छ । प्राइम लाइफको चुक्ता पुँजी २ अर्ब ७७ करोड, गुराँस लाइफको २ अर्ब ८ करोड र युनियन लाइफको २ अर्ब १५ करोड चुक्ता पुँजी छ । एकीकृत कारोबारपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ७ अर्ब ७२ करोड रुपैयाँ नाघेको छ ।
यस्तै, नेपाल लाइफ इन्स्योरेन्स चुक्ता पुँजीका आधारमा जीवन बीमा कम्पनीमध्ये सबैभन्दा ठूलो कम्पनी बनेको छ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ माथि छ ।


















