धनगढी(कैलाली), २७ चैत्र । महेन्द्रनगर युनाइटेड धनगढी प्रिमियर लिगको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
मंगलबार भएको इलिमिनेटरमा सिवाइसी अत्तरियालाई १५ रनले पराजित गर्दै महेन्द्रनगर क्वालिफायरमा प्रवेश गरेको हो।
योसँगै महेन्द्रनगरले दोस्रो क्वालिफायरमा काठमाडौं गोल्डेन्ससँगको भेट पक्का गरेको छ। इलिमिनेटरमा पराजित अत्तरिया भने प्रतियोगिताबाट बाहिरिएको छ।
खेलमा महेन्द्रनगर युनाइटेडले पहिले ब्याटिंग गर्दै दिएको१ सय ३१ रनको लक्ष्य पछ्याएको अत्तरिया निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय १५ रनमा सीमित रह्यो।
अत्तरियाका लागि सुवास खकुरेलले ३०, विपिन चन्द्राले २८ तथा दीपेन्द्रसिंह ऐरीले २७ रन जोडे। महेन्द्रनगरका रोबिन क्षेत्रीले २ विकेट लिए।
५६ रनको स्कोरमा ३ विकेट गुमाएको अत्तरियाको लागि दिपेन्द्र ऐरी र बिपिन चन्द्राले चौथो विकेटको लागि ५० रनको साझेदारी गर्दै टिमको स्कोर सय रन पार गराएका थिए। १८ औं ओभरको चौथो बलमा दिपेन्द्र ऐरीलाई करन केसीले रन आउट गरेपछि खेल महेन्द्रनगरको पक्षतिर गएको थियो।
अन्तिम २ ओभरमा अत्तरियालाई जितको लागि २३ रन आवस्यक हुँदा १९ औं ओभर बलिंग गर्दै करन केसीले मात्र ३ रन खर्चिएपछि अन्तिम ओभरमा जितको लागि २० रन चाहिएको थियो। अन्तिम ओभरमा पुनित बिस्टले पनि ४ रन मात्रै जोड्दा महेन्द्रनगर युनाइटेडले १५ रनले जित्यो।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको महेन्द्रनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३० रन बनायो।
महेन्द्रनगरका लागि आरिफ सेखले ३५ रन बनाए। ३७ बलको सामना गरेका उनले ५ चौका प्रहार गरे। यस्तै, पुनित मेहराले २६, करण केसीले २४ रनको पारी खेले। १३ बल खेलेका करणले ३ चौका र १ छक्का प्रहार गरेका थिए। बलिङमा अत्तरियाका कमलसिंह ऐरीले २ तथा कृष्ण कार्की, शुभांकर उराव, विनोद लामा, दीपेन्द्रसिंह ऐरी र विपिन चन्द्राले समान १ विकेट लिए।
खेलको म्यान अफ द म्याच सुबास खकुरेल र गौरभ चित्काराको विकेट लिएका देब्रे हाते स्पिनर रोबिन क्षेत्री घोषित भए जसले रु, १० हजार प्राप्त गरे। उनले ४ ओभरमा १६ खर्चिए।