न्यूयोर्क(संयुक्त राज्य अमेरिका),२८ चैत्र । सिरियामा विकसित पछिल्ला परिस्थितिका कारण संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उनको पूर्वनिर्धारित ल्याटिन अमेरिकाको भ्रमण रद्द गरेका छन्।
ट्रम्पले अमेरिकी प्रतिक्रियाको आफैँले निरीक्षण गर्न चाहेको ह्वाइट हाउसले जनाएको छ।
पूर्वी गुटास्थित डुमा नगरमा भएको भनिएको रासायनिक आक्रमणप्रति कडा प्रतिक्रिया जनाइने राष्ट्रपति ट्रम्पले बताएका छन्।
यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसकोले रासायनिक हमला भएको भनिएको स्थानमा अन्तर्राष्ट्रिय अनुसन्धानकर्ताहरूलाई विना कुनै अवरोध पहुँच दिन आह्वान गरेका छन्।
आक्रमणको घटनाको छानबिनका सम्बन्धमा रुस र संयुक्त राज्य अमेरिका दुवैले एकअर्काको भन्दा विपरीत प्रस्तावहरू संयुक्त राष्ट्रसंघमा पेश गरेपछि महासचिव गुटेरेसको त्यस्तो प्रतिक्रिया आएको हो।
बढाइचढाइ
रासायनिक भनिएको सो आक्रमण विद्रोहीहरूले बढाइँचढाइँ गरेर प्रस्तुत गरेको मस्कोले बताउँदै आएको छ।
आक्रमणप्रति एकदमै कडा प्रतिक्रिया जनाइने अमेरिकी राष्ट्रपतिको प्रतिबद्धताप्रति ब्रिटेन तथा फ्रान्सले पनि समर्थन जनाएका छन्।
सैन्य हिसाबबाट आफूहरूसँग थुप्रै विकल्प भएको र त्यस्ता विकल्प बारे छिट्टै निर्णय गरिने ट्रम्पले बताए।
साथै डुमा नगरमा शनिवार भएको आक्रमण कसले गराएको भनेर अमेरिकाले केही स्पष्ट जानकारी पाउँदै गरेको पनि ट्रम्पले बताएका छन्।
उक्त रासायनिक हमलामा परी दर्जनौँको ज्यान गएको तर यकिन संख्या भने पुष्टि गर्न सम्भव हुन नसकेको स्वास्थ्य सूत्रहरूले जनाएका छन्।
निन्दा
ट्रम्पले आक्रमणबारे सोमवार अबेर फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँसँग छलफल गरेका थिए।
दुवै नेताहरूले कडा प्रतिक्रिया जनाउने इच्छा व्यक्त गरेको फ्रान्सेली राष्ट्रपति कार्यालयले जनाएको छ।
गत फेब्रुअरी महिनामा माक्रोँले रासायनिक अस्त्र प्रयोग भएकोबारे प्रमाण फेला परे सिरियामा आक्रमण गर्ने भन्दै धम्की दिएका थिए।
ब्रिटिश प्रधानमन्त्री टरिजा मेले पनि सो घटनालाई सो बर्बर भन्दै कडा निन्दा गरेकी छन्।
सिरियाली राष्ट्रपति बसर अल-असदका समर्थकहरूलाई त्यसका लागि जिम्मेदार ठहराइनुपर्ने मेको भनाइ छ।
चिन्ता
रासायनिक आक्रमणबारे छलफल गर्न बसेको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्को बैठकका क्रममा पश्चिमी नेताहरूले आक्रमणको निन्दा गरे। ।
राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले सिरियामा रासायनिक अस्त्रहरू प्रयोग भएकोबारे नयाँ छानबिन समिति गठन गर्नेसम्बन्धी प्रस्तावमाथि मंगलवार मतदान गर्नका लागि आह्वान गरेकी छन्।
तर सो प्रस्तावमा “अस्वीकार्य तत्त्वहरू” भएको कारण आफूले समर्थन गर्न नसक्ने रुसले जनाएको छ।
संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय- यूएनएचसीआरले सिरियामा हिंसाको बढ्दो प्रयोग तथा ठूलो संख्यामा मानिसहरू विस्थापित भएकोमा पुनः चिन्ता व्यक्त गरेको छ।
गत चार हप्ताको अवधिमा मात्रै एक लाख तीस हजार मानिसहरू पूर्वी गुटा छाडेर भागेको यूएनएचसीआरले बताएको छ।
बीबीसी