Prakash Adhikari May 20, 2023

काठमाडौं, ६ जेठ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले माओवादी केन्द्रको नेतृत्वमा रहेको बर्तमान गठबन्धन सरकारले संसदमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित हुन नदिने नीति लिएको छ ।

नेकपा एमालेको संसदीय दलको आज संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा एमाले अध्यक्ष एवं पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले ल्याएको नीति तथा कार्यक्रम संसदबाट पारित हुन नदिएर यो सरकारलाई विस्थापन गर्ने बताउनुभएको हो ।

एमाले अध्यक्ष ओलीले सरकारले देशलाई निर्देश गर्ने खालको नीति तथा कार्यक्रम नल्याएकाले त्यसलाई समर्थन र स्वीकार गर्न नसकिने बताउनुभयो।

‘यो एउटा बेकारको पुलिन्दा हो। जसले यस देशलाई निर्देशित गर्न सक्दैन। नीतिगत हिसाबले निर्देशित गर्न सक्दैन। कार्यक्रमिक हिसाबले निर्देशित गर्न सक्दैन,’ पूर्वप्रधानमन्त्री ओलीले भन्नुभयो, ‘यसले कुनै डेस्टिनेशननै तोकेन। कुनै बाटो नै देखाएन। जसले गर्दा त्यहाँ पुगिने भन्ने कुरै रहेन। कहाँ पुग्ने भन्ने कुरै छैन यसमा। यस वर्ष कहाँ पुग्ने ?’

सरकारले देशलाई निर्देश गर्न नसक्ने खालको नीति तथा कार्यक्रम ल्याउनु दुःखद् भएको भन्दै एमाले अध्यक्ष ओलीले त्यसलाई संसदबाट पारित गर्न नहुने पार्टीको अडान रहेको पनि स्पष्ट पार्नुभयो।

‘यस वर्षको नीति, कार्यक्रमले यस वर्ष यहाँ पुग्छु भन्नु पर्‍यो नि। यस वर्ष यति गर्छौ भन्नुपर्‍यो नि,’ उहाँले भन्नुभयो, ‘त्यसकारण यो त के हो भने डेमोक्रेसी के हो भनेर क्याम्पसमा विद्यार्थीलाई पढाएजस्तो भयो। यस्तो खालको भयो। अलिअलि केही कुराहरू पुरानाबाट तानतुन गरिएका छन्। यसले नीतिगत रुपमा कुनै मार्ग निर्देश गर्दैन। स्विकार योग्य छैन, समर्थन योग्य छैन।’

अध्यक्ष ओलीले सरकारको नीति तथा कार्यक्रम अस्पष्ट, अन्यौलग्रस्त र दिशाहिन रहेको बताउनुभयो।

संसदमा पेश गरेको नीति तथा कार्यक्रम पारित भएन भने संसदीय व्यवस्थामा त्यो सरकार गिर्छ । अर्को सरकार बन्ने प्रक्रिया सुरु हुन्छ ।

Share Now

Leave a comment.