सिन्धुली, ६ जेठ । पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुले चाहेमा सरकार ढाल्नसक्ने चेतावनी दिनुभएको छ।
शनिबार सिन्धुलीमाडीमा एकीकृत समाजवादी सिन्धुलीको सातौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले प्रतिनिधिसभा र राष्ट्रिय सभामा आफ्नो सिट संख्या जोड्दा चौथो शक्ति रहेको जिकिर गर्नुभयो ।
उहाँले थोरै सिट भनेर नहेप्न र कम नआँक्न सत्ता गठबन्धनलाई चेतावनी दिदैै आफूहरुले चाहेमा कुनै पनि बेला सरकार गिर्ने दावी गर्नुभयो ।
नेकपा एमालेतर्फ इंगित गर्दै अध्यक्ष नेपालले धेरै सिट हुनेहरुको सरकार प्रदेससभामा भकाभक ढलेको भन्दै कटाक्ष समेत गर्नुभएको थियो ।
बढी सिट भएर मात्र नहुने भन्दै उहाँले टिकाउन नसक्नेले धेरै फुइँ हाँक्न नहुने गुनासो गर्नुभयो ।
अध्यक्ष नेपालले पानीजहाज, भ्यू टावर नेपालको आवश्यकता नभएको तर्क गर्दै वर्तमान गठबन्धनको सरकारले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रमले आशा जगाएको बताउनुभएको थियो ।
एकीकृत समाजवादी स्थापना भएको दुई वर्ष मात्र भएकाले आकार ठूलो जस्तो नदेखिए पनि देशभर संगठन फैलँदै गएको उहाँको दावी थियो । आफूहरूकै कमजोरीले गर्दा राष्ट्रिय पार्टी बन्न नसकेकोमा भने उहाँले आत्मालोचना गर्नुभएको थियो ।
यता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सरकार गिराउने कुरा गर्नु र सत्तारुढ दलले पनि सरकार ढाल्ने चेतावनी दिनुले भित्रभित्रै कुनै खिचडी त पाकिरहेको छैन भन्ने आशंका उब्जिएको छ ।
सत्तारुढ नेकपा माओवादी केन्द्रका एक ठूलो जत्था पूर्वसभामुख अग्निप्रसाद सापकोटाको नेतृत्वमा मित्र राष्ट्र चीनको भ्रमणमा गएकोले सो टोलीले चिनिया नेतृत्वसंग भेट गरेपछि नेपालको सत्ता डगमगाउन सक्ने अडकल पनि राजनीतिक बजारमा गर्न थालिएको छ । प्रचण्ड नेतृत्वको सरकारलाई सघाउने राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो समर्थन फिर्ता लिइसकेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीले पहिल्यै सरकारलाई समर्थन छोडिसकेका थिए ।


















