हेटौडा(मकवानपुर), ७ जेठ । बागमती प्रदेशमा थप ६ मन्त्रीले शपथ लिनुभएको छ । मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराउनुभएको हो ।
नेकपा (एकीकृत समाजवादी) का डा राजेन्द्रमान श्रेष्ठले कृषि तथा पशुपक्षी र लक्ष्मण लम्सालले श्रम, रोजगार तथा यातायातमन्त्रीका रुपमा शपथ लिनुभएको छ । यस्तै नेपाली कांग्रेसका पुकार महर्जनले पर्यटन, उद्योग तथा सहकारी, मसिना खड्काले वन तथा वातावरण, उत्तम जोशीले स्वास्थ्य मन्त्री र विनाविभागीय मन्त्रीका रुपमा रामकृष्ण चित्रकारले शपथ लिनुभएको छ ।
यसअघि नेकपा (माओवादी केन्द्र) का युवराज दुलालले भौतिक पूर्वाधार विकास, कुमारी मोक्तानले सामाजिक विकास र गङ्गानारायण श्रेष्ठले आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भइसक्नुभएको छ । यस्तै कांग्रेसका बहादुर सिं लामा आर्थिक मामिला तथा योजना र तीर्थबहादुर लामा खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री नियुक्त हुनुभएको थियो ।
शपथ कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेल, आर्थिक मामिला तथा योजनामन्त्री लामा, आन्तरिक मामिला तथा कानुनमन्त्री श्रेष्ठ, भौतिक पूर्वाधार विकासमन्त्री दुलाल, सामाजिक विकासमन्त्री मोक्तान लगायतको उपस्थिति रहेको थियो ।
यसअघि २०७९ साल पुस २५ मा नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका संसदीय दलका नेता जमकट्टेलले प्रदेशको मुख्यमन्त्री पदमा नियुतm हुनुभएको थियो । तत्कालीन समयमा सरकारमा राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा (एमाले)मा मन्त्रीहरु पनि सहभागी हुनुहुन्थ्यो । तर राप्रपा र एमाले सरकारबाट बाहिरिएपछि रिक्त पदमा नयाँ मन्त्री नियुक्त गरिएको हो ।
मुख्यमन्त्री जमकट्टेलले गत चैत १० मा विश्वासको मत प्राप्त गर्नुभएको थियो । विश्वासको मत प्राप्त गरेलगत्तै गत चैत २६ मा नेपाली कांग्रेसको तर्फबाट बहादुरसिंह लामा आर्थिक मामिला तथा कानुनमन्त्री र तीर्थ लामा ऊर्जा तथा जलस्रोत मन्त्रीमा नियुक्त हुनुभएको थियो ।


















