Prakash Adhikari May 28, 2023

 

काठमाडौँ, १४ जेठ । पशुपतिनाथ मन्दिरको शिवलिङ्गको तल्लो भागमा घेरा लगाइएको जलहरीको सुनको तौल र गुणस्तर परीक्षण गरेर विवारण निरूपण गर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ ।

कोषका सदस्य सचिव डा. मिलनकुमार थापाले गोरखापत्र दैनिकका संवाददातासंग कुरा गर्दै प्रतिनिधि सभामा जलहरीमा लगाइएको धातु सुन हो वा पित्तल भन्ने विवाद भएपछि सरकार वा संसद्ले समिति बनाएर तौल र सुनको गुणस्तर परीक्षण गर्न अनुरोध गर्नुभएको हो ।

यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन गरिहेकामा आयोगलाई पनि तौल र गुणस्तर परीक्षण गर्न आग्रह गरेको उहाँले बताउनुभएको छ ।

उहाँले मुचुल्का उठाउने क्रममा कोषका तर्फबाट भएको त्रुटिका कारण सुरु भएको विवादलाई आधार मानेर अख्तियारले अनुसन्धान गरिरहेको पनि बताउनुभएको छ ।

अख्तियारले २०७८ देखि सुरु गरेको अनुसन्धानमा पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र पूर्वपदाधिकारीलाई बयान लिएको छ । तर यो विषय अझै टुङ्गिएको छैन । अख्तियारका प्रवक्ता भोला दाहालले यस सम्बन्धमा अनुसन्धान जारी रहेको बताउनुभयो ।

जलहरीमा प्रयोग भएको सुनको वैज्ञानिक ढङ्गले परीक्षण गर्ने र जलहरीको तौल गर्ने जस्ता वस्तुगत विषयमा प्रवेश नभएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “के हुँदैछ भन्ने त अनुसन्धान अधिकृतलाई नै थाहा हुन्छ । मलाई यति थाहा छ, अनुसन्धान हुँदैछ ।”

जलहरीको सुनको तौल विवाद महालेखाको प्रतिवेदनमा पनि औँल्याइएको छ । महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा कोषको मुचुल्कामा ‘जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम रहेको र बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाएको’ उल्लेख गरिएको भनिएको छ।

प्रतिवेदनमा रिङ बनाउन प्रयोग भएको सुनको मूल्य सात करोड ८६ लाख ४६ हजार रुपियाँ रहेको उल्लेख छ। जलहरी बनाएर बाँकी रहेको सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि हुने विवरण पेस नगरिएको दाबी प्रतिवेदनमा प्रस्तुत छ । महालेखा परीक्षकको कार्यालयका निर्देशक एवं सहायक प्रवक्ता रमेश सुवेदीले कोषले जलहरी निर्माण गर्दाको मुचुल्काका आधारमा प्रतिवेदन आएको र बाँकी काम गर्दाको मुचुल्का विवरण नभएकाले प्रतिवेदनमा सोही कुरा उल्लेख गरिएको बताउनुभयो।

कोषका सदस्य सचिव डा. थापाले सबै काम सेनाको निगरानीमा भएकाले अनियमितताको कुनै सम्भावना नै नरहने दाबी गर्नुभयो तर मुचुल्का उठाउने व्रmममा कमीकमजोरी भएको हुन सक्ने भने स्वीकार गर्नुभयो। विवादमा आए जस्तो सुन गायव भएको विषय केवल अफवाह मात्रै भएको उहाँको तर्क छ। उहाँका अनुसार कोषका तत्कालीन सदस्य सचिव डा। प्रदीप ढकालले मुचुल्का उठाउन नमिल्ने बताउनुभएको थियो।

डा. ढकालले अदालत र अख्तियारमा मुद्दा रहेका कारण त्यति बेला मुचुल्का नउठाइएको दाबी गर्नुभयो। उहाँले भन्नुभयो, “जलहरीमा किला ठोकेर पेटी कसेपछि काम सम्पन्न भएर मात्रै मुचुल्का उठाउनुपर्छ। म जिम्मेवारीबाट पन्छिएको होइन। तर अदालतमा मुद्दा चलिरहेका बेला मुचुल्का उठाउँदा न्यायालयको मानहानि हुने सोचेर नै त्यसो नगरिएको हो।”

सशस्त्र प्रहरी बलका इन्स्पेक्टर एवं बेसक्याम्स पशुपतिका तत्कालीन प्रमुख वेदप्रसाद पनेरूले पशुपतिको जलहरी निर्माण गर्दा सुरक्षामा कुनै कमजोरी नभएको बताउनुभयो। उहाँले जलहरी निर्माणमा प्रविधियुक्त नेपाली सेनाको टोली, मन्दिरभित्र नेपाल प्रहरीको टोली र बाहिर सशस्त्र प्रहरीको टोली परिचालन भएको बताउनुभयो।

उहाँले भन्नुभयो, “केही प्राविधिक त्रुटिका कारण यो विषय बहसमा आएको हुनसक्छ। तर हाम्रोतर्फबाट कुनै कमीकमजोरी भएको छैन।”

Share Now

Leave a comment.