Prakash Adhikari June 8, 2023

प्रिटोरिया(दक्षिण अफ्रिका), २५ जेठ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज दक्षिण अफ्रिकामा स्कटल्याण्डसंग वार्मअप खेल खेल्दै छ । दुवै टोली जिम्वाबेमा हुने विश्वकप क्रिकेट छनोट खेलको तयारीमा रहेका छन् ।

नेपाली टिमले शनिवार दक्षिण अफ्रिकाको प्रिटोरियामा नै नेदरल्यान्ड्ससँग वार्मअप खेल खेल्नेछ । त्यसपछि नेपाल आइतबार जिम्बावे जाने कार्यक्रम छ ।

जिम्बावेमा विश्वकप छनोट खेल्नुअघि नेपालले १३ जुनमा युएई र १५ जुनमा ओमानसँग वार्मअप खेल खेल्नेछ । प्रतियोगिता १८ जुन देखि ९ जुलाई सम्म हुनेछ । नेपाल, वेस्टइन्डिज, जिम्बावे, अमेरिका र नेदरल्यान्ड्स समूह ए मा छन् । समूह बी मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई छन् । नेपालले १८ जुनमा जिम्बावेसँग खेल्दै सुरुवात गर्नेछ ।

हरेक समूहबाट शीर्ष तीन टोली सुपर सिक्समा प्रवेश गर्नेछन् । सुपर सिक्समा समूह बी बाट आउने तीन टोलीले समूह ए का तीन टोलीसँग खेल्नेछन् । त्यसपछि शीर्ष दुई टोली फाइनलमा पुग्दै भारतमा हुने विश्वकपमा स्थान बनाउनेछन् ।

मुख्य प्रशिक्षक मोन्टी लाई भिसामा विलम्ब

नेपाली टोली वार्मअप खेलका लागि दक्षिण अफ्रिका पुगिसके पनि मुख्य प्रशिक्षक मोन्टी देशाई  भिसाको बिलम्बले बुधबारसम्म भारतको नयाँदिल्लीमा नै रोकिन परेको छ ।

उनको दक्षिण अफ्रिकाको भिसा बुधबार आएको क्यानका पदाधिकारीले जनाएका छन् । उनी बिहिबार बिहान त्यसतर्फ लाग्ने बताइएको छ ।

एसीसी प्रिमियर कपमा नेपाल च्याम्पियन बनेपछि मुख्य प्रशिक्षक मोन्टि देसाइँ बिदामा अमेरिका गएका थिए । उनले अमेरिकाबाट दक्षिण अफ्रिकाको भिसाको प्रक्रिया सुरु गरेपनि त्यहाँबाट सफल भएन । त्यसपछि उनी गएको बुधबार भारत फर्किएका थिए । भारतबाट पुन भिसा प्रक्रिया थालेका थिए । ।

आज  मोन्टीको अभावमा उनीसंग परामर्श गरेर नेपाली टोलीका साहायक प्रशिक्षक बसन्त शाही ठकुरी, क्यानका क्रिकेट म्यानेजर विनोद दास र कप्तान रोहित पौडेलले खेलाडीको चयन र टिमको व्यवस्थापन गर्नेछन् ।

Share Now

Leave a comment.