Prakash Adhikari June 8, 2023

काठमाडौं, २५ जेठ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बैंकिङ प्रणालीबाट भएको पुँजी पलायन रोक्न आफै अग्रसर हुनुभएको छ ।

विदेशबाट वस्तु तथा सेवाको आयात गर्दा लागतभन्दा बढी मूल्य (ओभर इन्भ्वाइसिङ) देखाएर नेपालबाट पुँजी पलायन हुने क्रम बढ्न थालेको भन्दै अधिकारीले गंभीर चासो व्यक्त गर्नुभएको छ ।

मंगलबार अपरान्ह सबै बैंक तथा वित्त कम्पनीका अध्यक्षहरुलाई राजधानीको याक एण्ड यति होटेलमा बोलाएर गभर्नरले ‘भन्सार शुल्क कम भएका वस्तुमा ओभर इन्भ्वाइसिङ गरेर बैंकिङ प्रणालीबाटै पुँजी पलायन भइरहेको बताउदै त्यसलाई गंभीररुपमा हेर्न र रोक्न आग्रह गर्नुभयो । बैंकले नरोके आफूले कारबाही गर्ने चेतावनी पनि उहाँले दिनुभयो ।

बैंकका अध्यक्ष र राष्ट्र बैंकका उच्च अधिकारीहरुबीच मंगलबार दिउँसो २ बजेदेखि ५ बजेसम्म छलफल भएको थियो ।

 

गभर्नर अधिकारीले स्वार्थ बाझिने भएकोले व्यवसायीहरुलाई बैंकको सञ्चालक समितिमा नबस्न पनि सुझाव दिनुभयो ।

‘तपाईं बैंकका अध्यक्ष तथा सञ्चालकज्यूहरुले नै व्यवसायमा पनि संलग्न हुनुहुन्छ, जसकारण स्वार्थको द्धन्द्ध भयो,’ अधिकारीले भन्नुभयो, ‘बिजनेश गर्नेहरु बैंकको सञ्चालक समितिमा नबस्दा राम्रो, प्रोफेशनल ल्याएर चलाउनूहोस् ।’

पछिल्ला वर्षहरुमा बैंकहरुमा संस्थागत शुसाशनको अवस्था कमजोर हुन थाालेको भन्दै गभर्नर अधिकारीेले बैंकका अध्यक्षहरुको ध्यानाकर्षण गराउनुभएको थियो ।

राष्ट्र बैंकले यसपटक बाणिज्य बैंककासाथै विकास बैंक र फाइनान्स कम्पनीका अध्यक्षहरुलाई पनि बोलाएको थियो ।

‘हामीले जारी गरेका नीति निर्देशनको के कति पालना भइरहेको छ भनेर जानकारी लिने र केन्द्रिय बैंकले भावी दिनमा कस्तो नीति लिन खोजिरहेको छ भन्ने सन्देश दिने उदेश्यले छलफल आयोजना गरिएको हो,’ नियमन विभागका कार्यकारी निर्देशकसमेत रहेका राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले भन्नुभएको छ ।

छलफलमा राष्ट्र बैंकको तर्फबाट गभर्नर अधिकारी, डेपुटी गभर्नर बमबहादुर मिश्र, नियमन विभागका भट्ट, बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक देवकुमार ढकाललगायत सहभागी हुनुहुन्थ्यो ।

छलफलमा अधिकांश बैंकका अध्यक्ष उपस्थित थिए भने अध्यक्ष उपस्थित नभएको बैंकका सञ्चालक उपस्थित थिए । अन्तरक्रियामा दर्जन बढी बैंकका अध्यक्षले आफ्ना कुरा राखेका थिए ।(स्रोतः क्लिकमाण्डु)

 

Share Now

Leave a comment.