
धनगढी(कैलाली), ३० चैत्र । रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) को दोस्रो संस्करणको आज भैरहेको फाइनल खेलका पहिलो इनिड.मा टिम चौराहा धनगढीले काठमाडौं गोल्डेन्ससामु १ सय ८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
चौराहाको खातामा उच्च रन जोड्न सुनिल धमला र रोहन मुस्तफाले उत्कृष्ट ब्याटिंगले ठूलो सहयोग गर्यो ।
निर्धारित २० ओभरको खेलमा टिम चौराहा धनगढीले ४ विकेटको नोक्सानीमा १ सय ८१ रन जोड्न सफल भयो ।
टस जित्दै पहिले ब्याटिंग गर्न उत्रिएको टिम चौराहा धनगढीको प्रारम्भको खेल राम्रो थिएन । टीमको खातामा मात्र १२ हुँदा व्यक्तिगत ४ रनको स्कोरमा अस्फाक अहमद सन्नी पटेलको बलमा एल बि डब्लु धरापमा पर्दै पभेलियन फर्किएका थिए ।
तर त्यसपछि भने टीम चौराहाका लागि सुनिल धमला र रोहन मुस्तफाले उत्कृष्ट साझेदारी गर्दै काठमाडौं गोल्डेन्सका बलरलाई कठिन अवस्थामा पुर्याएकाथिए । उनीहरुले दोस्रो विकेटको लागि १ सय ४२ रनको साझेदारी गर्दै धनगढीलाई विशाल स्कोर तर्फ लैजान सहयोग पुर्याए ।
व्यक्तिगत ६० रनको स्कोरमा रन आउट हुनअघि रोहन मुस्तफाले ४२ बलमा ४ चौका र समान छक्का प्रहार गरेका थिए ।
इनिंगको सुरुवातमा समय लिएर क्रिजमा जमेका मुस्तफाको ब्याट फाइनल खेलमा गज्जबसंग चल्यो । यस प्रतियोगितामा मुस्तफाको यो पहिलो अर्ध(शतक समेत हो ।
यस्तै चौराहा धनगढीका लागि उत्कृष्ट लयमा रहेका सुनिल धमलाले व्यक्तिगत ७८ रनको योगदान गरे ।
प्रतियोगिताको दोस्रो अर्ध-शतक बनाउने क्रममा धमलाले ६३ बलको सामना गर्दै ८ चौका र ३ छक्का प्रहार गरे । प्रतियोगिताको पहिलो खेलमा समेत धमलाले काठमाडौं गोल्डेन्स बिरुद्द अर्ध(शतक बनाएका थिए ।
फिल्डिंग र बलिंगमा अनुशासन बिहिन देखिएको काठमाडौं गोल्डेन्सले कुल ३१ अतिरिक्त रन खर्चिन पुग्यो । काठमाडौंको बलिंगमा सुबोथ भाटीले ४ ओभरको स्पेलमा १७ रन खर्चिएर २ विकेट लिए । यस्तै सन्नी पटेलले ४ ओभरमा २७ रन खर्चेर १ विकेट हात पारे ।