सानेपा (ललितपुर), ४ आषाढ । नेपाली कांग्रेसले स्थानीय तहको नेतृत्वमा रहेका पालिका प्रमुख र उपप्रमुखहरुलाई बजेट निर्माणका सम्बन्धमा मार्गदर्शन गरेकोे छ ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित “स्थानीय तहको वजेट तथा कार्यक्रमको प्राथमिकता” विषयक कार्यक्रममा पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षसंग जुम बैठकमार्फत मार्गनिर्देशन गरिएको पार्टीले जनाएको छ ।
उक्त बैठकमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सूचना, संचार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्मा र पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले को सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसको संकल्प स्थानीय तह निर्वाचन –२०७९ मा उल्लेखित भएको सवल स्थानीय सरकारः समुन्नत गाउँ, समुन्नत नगर भन्ने मूल नाराका साथ समावेश भएका विषयहरु, शिक्षा, स्वास्थ्य, प्राकृतिक श्रोत, वन तथा वातावरण, रोजगार, स्थानीय पूर्वाधार, कृषि रोजगारी उद्यम, सेवा प्रवाह, वित्तिय अनुशासन लगायत विभिन्न विषयहरुमा स्थानीय तहको आगामी वजेट निर्माण गर्दा समावेश गर्ने सम्बन्धमा आफ्नो धारणा राख्नु भएको थियो ।
महामन्त्री विश्वप्रकाश शर्माले पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधि बीचको सम्बन्ध, नागरिकसंगको सहकार्य, पारदर्शिता र जवाफदेहिता, सामाजिक रुपान्तरण तथा श्रोतको समुचित व्यवस्थापनका वारेमा आफ्नो विचार राख्नु भएको थियो ।
सूचना, संचार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले विकास र सुशासन संगसंगै जानु पर्ने तथा जनप्रतिनिधिको कार्यशैली र व्यवहार सरल हुनुपर्ने धारणा राख्नु भयो ।
उक्त कार्यक्रमको सहजीकरण प्रताप पौडेलले गर्नु भएको थियो ।


















