Prakash Adhikari June 21, 2023

काठमाडौं, ६ आषाढ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । धितोपत्र बजार परिसूचक १४.०५ अङ्कले घटेर २०५०. ७८ को बिन्दुमा कायम भएको हो ।

आज विभिन्न दुई सय ७१ कम्पनीका ८६ लाख ५१ हजार एक सय ६४ कित्ता शेयर रू तीन अर्ब ४९ करोड ६८ लाख २२ हजार दुई सय ६० बराबरको कारोबार भएको छ ।

यो दिनको कारोबारमा होटल तथा पर्यटन, जीवन बीमा उत्पादन तथा प्रशोधन र व्यापार समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ । होटल तथा पर्यटन समूह दुई सय ३९ दशमलव ५१, जीवन बीमा ११ दशमलव ९६, उत्पादन तथा प्रशोधन १५ दशमलव ०१ र व्यापार समूह दुइ दशमलव ३६ अङ्कले बढेको छ ।

सबैभन्दा धेरै विकास बैंक समूहको उपसूचकमा ५२ दशमलव ०५ अङ्कको गिरावट देखिएको छ । त्यस्तै बैंकिङ नौ दशमलव ९९, वित्त २८ दशमलव ०४, जलविद्युत् ४१ दशमलव ८७, लगानी एक दशमलव २०, लघुवित्त ४० दशमलव ३८, म्युचुअल फन्ड शून्य दशमलव १३, निर्जीवन बीमा शून्य दशमलव ८३ र अन्य समूह सात दशमलव ३० अङ्कले घटेको छ ।

सिटी होटल लिमिटेडको शेयर मूल्यमा आज सबैभन्दा धेरै नौ दशमलव ९७ प्रतिशतको वृद्धि देखिएको छ । सबैभन्दा धेरै गुमाउनेमा भने ग्रीन भेञ्चर्स लिमिटेडको शेयर मूल्यमा छ दशमलव ९८ प्रतिशतको गिरावट देखिएको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू २३ करोड छ लाख ४१ हजार तीन सय २७ बराबरको चार लाख २३ हजार एक सय ९८ कित्ता शेयर किनबेच भएको छ ।

Share Now

Leave a comment.