Prakash Adhikari June 21, 2023

 

काठमाडौं, ६ आषाढ। २० मेगावाट क्षमताको तल्लो बलेफी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्प्न्न भएको छ।
साझा पावर डेभलपमेन्ट प्रालिले प्रवर्द्धन गरिरहेको आयोजनामा कुमारी बैंकको अगुवाइमा ऋण लगानी सम्झौता भएको हो।

सिन्धुपाल्चोकको बलेफी खोलामा निर्माण हुने २० मेगावाटको आयोजनाको अनुमानित लागत ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ। ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्‍वपूँजीमा निर्माण हुने आयोजना यहि असारबाटै निर्माणमा जाने कम्पनीका प्रबन्ध सञ्चालक कुवेरमणी नेपालले जानकारी दिनुभएको छ।

नेपालले निर्माण सुरु गरेको दुई वर्षमा आयोजनाबाट विद्युत उत्पादन हुने बताउनुभएको छ।

आयोजनाले वार्षिक १० करोड ५३ लाख युनिट विद्युत उत्पादन गर्नेछ। उत्पादित विद्युत नेपाल विद्यूत प्राधिकरणलाई बेचिने छ । प्राधिकरणसंग आयोजनाबाट उत्पादित विद्युत वर्षायाममा ४ रुपैयाँ ८० पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसा प्रति युनिटका दरले विक्री गरिने संझौता भएको छ।

आयोजनाबाट वर्षायाममा ७ करोड २६ लाख ८४ हजार युनिट अर्थात ३४ करोड ८८ लाख रुपैयाँ र हिउँदमा ३ करोड २६ लाख २१ हजार युनिट अर्थात २७ करोड ४० लाख रुपैयाँ गरी ६२ करोड रुपैयाँ बराबरको ऊर्जा उत्पादन हुनेछ ।

असार ५ गते भएको वित्तीय व्यवस्थापनमा आयोजनाका तर्फबाट कम्पनीका अध्यक्ष सञ्जिव न्यौपाने र प्रवन्ध सञ्चालक कुवेरमणी नेपाल तथा बैंकका आयोजना लगानी प्रमुख भुषण तण्डुकारले हस्ताक्षर गर्नुभएको छ ।

रिडी पावर कम्पनीले मुख्य लगानीमा निर्माण हुने आयोजनामा कुमारी बैंकले १५० करोड रुपैयाँ ऋण लगानी गर्ने प्रतिबद्धता जनाएको छ । बाँकी १ अर्ब ८० करोड रुपैयाँ ऋण लगानीका लागि कुमारी बैंकले नै अन्य बैंकसँग प्रस्ताव गर्ने छ ।

Share Now

Leave a comment.