Prakash Adhikari June 21, 2023

शरद केसी /बीबीसी न्यूज नेपाली

काठमाडौं, ६ आषाढ । समाजवादी मोर्चा नेपालमा सहभागी चार दलमध्ये तीन वटा संसद् र सरकार दुवैमा छन्। नेत्रविक्रम चन्द ुविप्लवु नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मात्र ती दुवैबाट बाहिर छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमालेसँग एकता गर्दा ूहतारोू गरेको भन्दै मोर्चालाई केही समय निरन्तरता दिएर एकताको चरणमा प्रवेश गर्ने सङ्केत दिनुभएको छ।

तर पूर्वमाओवादी भएकाले विप्लवसँग उहाँको दलको एकीकरण अरूभन्दा चाँडो र सहज हुने कतिपयको ठम्याइ छ।

आफ्नो पार्टीको छवि अन्य संसद्‌वादी दलजस्तो बनेको अनुभूति गरिरहेका माओवादी केन्द्रका कतिपय नेता तथा कार्यकर्ताहरू मोर्चामा विप्लवको प्रवेशबाट अलि धेरै उत्साहित बनेको पाइन्छ।

पार्टी एकीकरण कहिले
माओवादीभित्रको त्यो वृत्तको दबावले प्रचण्डलाई विप्लवसँग एकीकरण जति सक्यो छिटो गर्न प्रेरित गर्ने ठानिएको छ।

यसअघि विप्लवले दुई दलबीच अनेकौँ वैचारिक मतभिन्नता रहेको बताउँदै आउनुभएको थियो।

समाजवादी मोर्चा गठन सुनिश्चित भएपछि गत साता झिल्को डट कम अनलाइनलाई दिएको भिडिओ अन्तर्वार्तामा भने उहाँले पार्टी एकताको बाटोमा प्रवेश गरिसकेको बताउनुभएको छ ।

के एकता एक महिनाभित्र होला त भन्ने प्रश्नमा विप्लव भन्नुहुन्छ, “हाम्रो छलफल हुन्छ, एक प्रकारले यो एकता नै हो भन्नुहोस्।”

हेटौँडामा भएको माओवादी केन्द्रको महाधिवेशनपछि उक्त दलले लोकतान्त्रिक गणतन्त्र स्वीकार गरेको भनि विप्लव लगायतका नेताको असहमत थिए।

तर त्यस प्रसङ्गलाई विप्लवले ूकतिपय पुराना कुराहरू छाडेर अघि बढ्नुपर्ने बेला आएकोू भन्दै पन्छाइदिनुभएको छ।

प्रचण्डको प्रतिरक्षामा विप्लव

‘क्रान्तिलाई धोका दिएको’ आरोप प्रचण्डमाथि लगाउँदै आएका विप्लवले पछिल्ला दिनहरूमा प्रचण्डको खुला रूपमा प्रशंसा गर्न थालेका छन्।

विशेषतः सरकारले घोषणा गरेको ‘जनयुद्ध दिवस’ घोषणा र त्यस क्रममा मारिएकाहरूको नाम शहीदको रूपमा राजपत्रमा प्रकाशित गर्ने निर्णयपछि उहाँ प्रचण्डप्रति नरम देखिनुभएको छ।

प्रचण्डविरुद्ध परेका रिट निवेदनपछि उनले प्रतिवाद गर्ने चेतावनी दिँदै प्रचण्डको प्रतिरक्षा नै गरेको पाइन्छ।

प्रचण्डबारे टिप्पणी गर्दै अन्तर्वार्तामा उहाँ भन्नुहुन्छ, “प्रचण्ड कमरेड नभएको भए जनयुद्ध हुँदैनथ्यो। अहिले जहाँ हुनुहुन्छ त्यसमा नकारात्मक र सकारात्मक पाटो छन्। तर फेरि नयाँ इतिहास सुरु गर्ने बेला आएको छ, आशा राख्नुपर्छ कि सँगै गर्न पाऔँ।”

तर माओवादी छाडेर नयाँ पार्टी बनाउँदा आफैले साथ दिएका मोहन वैद्य ू१९औँ शताब्दीमा रहेकोू विप्लवको टिप्पणी छ।

ूआदर्शबाट पछि फर्किएकोू सङ्ज्ञा दिँदै उहाँले बाबुराम भट्टराईलाई ूसाम्यवादी आदर्शमा फर्किनू आग्रह गर्नुभएको छ।

के विप्लव प्रचण्डको उत्तराधिकारी बन्न चाहन्छन् ?

यति हुँदाहुँदै पनि विप्लवले एकीकरणको निम्ति छलफल गर्नुपर्ने थुप्रै कुरा रहेको बताउनुभएको छ।

कतिपयले एकीकरणपछि पार्टीमा आफू लगायतका नेताहरूको भूमिका लगायतका विषयतर्फ उहाँले सङ्केत गर्नुभएको ठानेका छन्।

नेकपामा प्रवक्ता खड्गबहादुर विश्वकर्माले पनि अहिले भरखरै समाजवादी मोर्चा बनेको भन्दै एकीकरणबारे अहिल्यै कुरा नभएको बताउनुभयो।

केपी ओली नेतृत्वको सरकारले एउटा सम्झौतापछि विप्लवको दलमाथिको प्रतिबन्ध हटाएको थियो ।

मोर्चाको नेतृत्व शीर्षस्थ नेताहरूले आलोपालो गर्ने भनिएको छ। मोर्चामा अन्य दलका प्रमुख सरहको समान हैसियत पाएपछि विप्लवले एकीकरणपछि प्रचण्डको उत्तराधिकारी बन्ने अवसर आएको ठानेको हुनसक्ने विश्लेषण पाइन्छ।

त्यसको निम्ति उनी कार्यकारी भूमिका रहने पार्टी महासचिव बन्ने अपेक्षा गर्ने आकलन गरिएको छ।

तर माओवादीका नेताहरूले उनलाई महासचिव स्वीकार गर्लान् त ?

प्रचण्डमा निर्भर

उपमहासचिव मातृका यादव भन्नुहुन्छ, “अब पूर्वमाओवादी सबै एक ठाउँमा आउनुपर्छ। कसैले कसैको भाग खोस्ने र खोसिने कुरा सोच्नु हुँदैन।”

वर्षमान पुन र जनार्दन शर्माले महासचिव बन्ने आकाङ्क्षा राखेको भनिएका बेला देव गुरुङलाई महासचिव बनाएका प्रचण्डले चाहेमा विप्लव महासचिव बन्न सक्ने धेरै माओवादी नेता ठान्छन्।

ती दुई नेताको आकाङ्क्षा विप्लवको निम्ति बाधक बन्न सक्ने विश्लेषण पनि पाइन्छ। तर माओवादी केन्द्रका सचिव गणेश शाह भन्छन्, “प्रचण्डजीले निर्णय गर्नुभयो भने पार्टीमा स्वीकार्य हुन्छ। त्यो उहाँमा निर्भर हुन्छ।”

विप्लवसँग पार्टी एकीकरणको निम्ति पहल गरिरहेका भनिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले दुईचार महिना मोर्चाको अभ्यासपछि एकीकरणको चरण आउन सक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “अहिले मोर्चामा नभएका अन्य दलहरू पनि आउनुहोला। अहिले मोर्चा बनेको छ, एकताको कुरा हुन न अझै दुई(चार महिना लाग्ला नि।”

प्रचण्डले चाहेमा पार्टी एकीकरण अघिनै विप्लव स्वीकार्य हुने वातावरण बनाउन सक्ने उपायहरू कतिपयको देखेका छन्।

प्रचण्ड निकटस्थ एक नेताले भन्नुभयो, “मोर्चामा आलोपालो नेतृत्व गरेर विप्लवको अध्यक्षता प्रचण्डले नै स्वीकार गरेपछि पार्टीमा अरूले नमानेर के गर्नेर ?”

त्यसैले समाजवादी मोर्चालाई अघि बढाएर प्रचण्डले त्यो स्वीकार्य बनाउन सक्ने ती नेताको ठम्याइ छ।

तर उहाँ भन्नुहुन्छ, “पार्टी छाडेर फर्किएका देव गुरुङलाई महासचिव बनाएका प्रचण्डको निम्ति विप्लवलाई सम्भावित उत्तराधिकारीको दौडमा भित्र्याउन आपत्ति होला जस्तो लाग्दैन। त्यस अवधिलाई प्रचण्डले विप्लवको पनि परीक्षण गर्ने अवसरको रूपमा उपयोग गर्ने छन्।”

उहाँका भनाइमा विप्लवको दल एउटा राजनीतिक प्रक्रियामा हिँडेको र माओवादी केन्द्र संसदीय अभ्यासमा रहेकाले त्यो मिलाउने कुरा कति सहज र छरितो हुन्छ त्यसमा एकीकरण निर्भर हुने छ।

“तर नेताहरूको व्यवस्थापन चुनौती बन्ने सम्भावना देखिन्न”, उहाँले भन्नुभयो।

 

Share Now

Leave a comment.