Prakash Adhikari July 12, 2023

काठमाडौँ, २७ आषाढ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि बस्दैछ ।

बैठक पार्टीको मुख्यालय सानेपा ललितपुरमा बस्ने छ ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक एक बर्षमा बस्न लागेको हो ।

काँग्रेसको विधानमा प्रत्येक दुई महिनामा केन्द्रीय कार्यसमिति बैठक बस्ने उल्लेख छ । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको अधिकार केन्द्रीय कार्य सम्पादन समितिद्धारा अपहरण गराएको आरोप लाग्ने गरेको छ ।

यो बीचमा देशमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्पन्न भएको छ । चितवन २ र तनहुँ १ मा उपनिर्वाचन सम्पन्न भएको छ । उपनिर्वाचनमा नेपाली कांग्रेसले पहिले जितेको तनहुँ गुमाएको छ ।

राष्ट्रपति निर्वाचनमा नेकपा माओवादीले नेपाली कांग्रेसका उम्मेद्वार रामचन्द्र पौडेललाई सघाएपछि केन्द्रदेखि प्रदेशसम्म बनेको नयाँ समीकरणले सत्तामा नेपाली कांग्रेसको पुनरागमन भएको छ । निर्वाचन पछि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले धोका दिएर नेकपा एमालेको समर्थनमा सरकार गठन गर्दा आफ्नो हातबाट फुत्किएका प्रदेश सरकारहरु नेपाली कांग्रेस, माओवादी र जनता समाजवादीको हातमा आएका छन् । नेपाली कांग्रेसले कोशी, गण्डकी,लुम्बिनी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गर्न पाएको छ ।

यसैले राजनीतिक रुपमा संस्थापन पक्षको त्यति चर्को आलोचना हुने देखिदैन । तर सांगाठानिक र सरकार सञ्चालनको पक्षमा भने चर्को आलोचना हुने देखिन्छ । नेपाली काग्रेसको भातृ संस्थाहरुको तदर्थ समितिलाई पूर्णता दिन नसकेको , निर्वाचन हुन नदिएको ,पार्टीका विभागहरु गठन नगरेको र बजेट निर्माणमा केन्द्रीय सदस्य र पार्टीका सांसदहरुसंग पर्याप्त परामर्श नगरेको जस्ता विषयमा भने संस्थापन पक्षले चर्को आलोचना खप्नुपर्ने देखिन्छ ।

केन्द्रीय समितिको बैठकको मुखमा महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरुको भेला डाकेर १४ बूँदै प्रस्ताव पारित गरेकोले सभापतिमाथि महामन्त्रीहरुकै पनि असहयोग हुने देखिएको छ ।

आजको बैठकका मुख्य एजेन्डा बिहान ९ बजे पार्टी पदाधिकारी र पूर्वपदाधिकारी बसेर अन्तिम रूप दिइने जनाइएको छ ।

बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँडलाई निलम्बन गर्ने बारेमा पनि छलफल हुने बताइएको छ ।

महामन्त्रीसहित संस्थापन इतरका नेताहरुले खाँण पक्राउ परेदेखि नै निलम्बन गर्न आग्रह गर्दै आएका थिए । निलम्बन नगर्दा पार्टीले भ्रष्टाचारलाई सघाएको हुने धारणा राख्दै कारबाही गर्न माग गरिएको थियो । सरकारमा गएका मन्त्रीहरुको कार्यसम्पादनकका बारेमा केन्द्रीय समिति बैठकमा छलफल हुने बताइएको छ ।

बैठकमा प्रत्येक सदस्यलाई ५ देखि ७ मिनेटको बोल्ने समय दिने तयारी भएकोले बैठक एक सातासम्म चल्ने अनुमान गरिएको छ ।

Share Now

Leave a comment.