ख्रैबरपस्तुन(पाकिस्तान), ५ भाद्र (बीबीसी) । पश्चिमोत्तर पाकिस्तानमा एउटा नदीमाथि आकाशमा झुन्डिरहेको केबलकारबाट चारजना बालकको उद्धार भएको अधिकारीहरूले बताएका छन्।
उद्धारपछि हेलिकप्टर अवतरण हुने स्थानमा चिकित्सकहरूलाई तयारी अवस्थामा राखिएको छ।
प्रहरीका अनुसार उद्धार भएका बालकहरूको स्वास्थ्य अवस्था सामान्य पाइएको छ।
केबलकारमा रहेका बाँकीलाई पनि उद्धार गर्ने प्रयास भइरहेको विवरण आएका छन्।
उक्त केबलकारमा छजना बालबालिकासहित आठजना सवार थिए।
ती बालबालिका विद्यालय जान केबलकार चढेका थिए। तर एउटा तार चुँडिएपछि उक्त केबलकार जमिनभन्दा २ सय ७४ फीटमाथि झुन्डिरहेको छ।
पाकिस्तानका अन्तरिम प्रधानमन्त्रीले खाइबर पख्तून्ख्वास्थित बट्टग्राममा केबलकारमा फसेका मानिसहरूलाई उद्धार गर्न निर्देशन दिनुभएको थियो।
उक्त केबलकारनजिक सेनाका हेलिकप्टरहरू पुगे पनि तीव्र हावाका कारण समयमा उद्धार हुन सकेको थिएन।
स्थानीय पत्रिका डनको अनलाइन संस्करणका अनुसार केबलकारमा मानिसहरू फसेको चार घण्टापछि बल्ल एउटा हेलिकप्टर उक्त स्थानमा पुगेको थियो।
एउटा तारको भरमा मात्र
अल्लाई उपत्यकामा स्थानीय समयानुसार बिहान ७ बजेतिर यो घटना भएको हो।
आकाशमा केबलकार झुन्डिएको देखेपछि स्थानीय बासिन्दाहरूले माइकबाट सरकारी अधिकारीहरूलाई सूचित गरेका थिए।
छतबिनाको उक्त केबलकार अहिले एउटा तारको भरमा मात्र झुन्डिएको स्थानीय उद्धार अधिकारी अब्दुल बासित खानले समाचारसंस्था एएफपीलाई बताउनुभयो।
“ईश्वरका लागि हामीलाई सहयोग गर्नुहोस्”, केबलकारमा फसेका गुलफराजले पाकिस्तानी टेलिभिजन जिओ न्यूजलाई फोनबाट भन्नुभएको थियो। उहाँले केबलकारमा आफूसहित छ जना भएको पुष्टि गर्नुभएको थियो।
उहाँका अनुसार विद्यार्थीहरू १० देखि १५ वर्षका छन्। तीमध्ये एक जना अचेत भएका छन् ।
उद्धारकार्य हेर्न मानिसहरूको भिड जम्मा भएको छ। अधिकारीहरूले कारमुनि जाली फैलाउने प्रयास गरिरहेका छन्।
“मानिसहरू यहाँ उभिएका छन् र चिच्याइरहेका छन्”, गुलफराजले भन्नुभयो। उहाँले तत्काल सहयता गर्न अनुरोध गर्नुभयो ।
उद्धार जटिल
उक्त स्थानमा हेलिकप्टर पुगेको भए पनि तीव्र गतिको वायुका कारण उद्धारकार्य जटिल बनेको छ। हेलिकप्टरका पङ्खाले केबलकारलाई अस्थिर बनाउन सक्ने चिन्ता पनि देखिएको उद्धारकार्यमा संलग्न एक अधिकारीले समाचारसंस्था रोएटर्सलाई बताएका छन्।
स्थानीय सरकारी विद्यालयका प्रधानाध्यापक अलि असगर खानले ती बालबालिकाहरू आफ्ना विद्यार्थी भएको एएफपीलाई फोनबाट बताउनुभएको छ।
एक स्थानीय शिक्षकका अनुसार यातायातको अरू सुविधा नभएकाले प्रत्येक दिन १ सय ५० जनाले विद्यालय जान केबलकारको जोखिमपूर्ण यात्रा गर्ने गरेको डनले जनाएको छ।
उत्तरी पाकिस्तानका दुर्गम पहाडी गाउँहरूमा केबलकार नियमित यात्रा गर्ने साधन बनेको छ। अहिले फसेको केबलकार स्थानीय बासिन्दाहरूले सञ्चालन गरेको ठानिएको छ।


















