Prakash Adhikari August 22, 2023

 

बैंकक(थाइल्याण्ड), ५ भाद्र(एजेन्सी) । थाइल्याण्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आठ वर्षको जेल सजाय भएको छ ।

थाइल्याण्डको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आठ वर्षको जेल सजाय सुनाएको हाँे ।

नेता सिनावात्रालाई उहाँको अनुपस्थितिमा अदालतले तीन वटा अभियोगमा दोषी ठहर गर्दै आठ वर्षको काराबासको सजाय आज सुनाएको हो ।

नेता सिनावात्रामाथि सत्तामा रहँदा शक्तिको दुरुपयोग गरेको, गैरकानूनी रूपमा सरकारी ब्याङ्कलाई विदेशी ऋण जारी गर्न आदेश दिएको तथा मनोनित व्यक्तिमार्फत अवैध रूपमा शेयर राखेको कसूरमा दोषी ठह¥याइएको अदालतले जनाएको छ ।

थाइल्याण्डका पूर्वप्रधानमन्त्री सिनावात्रा १५ वर्षका निर्वासित जीवनपछि स्वदेश फर्केको केही घण्टामा नै जेलमा पर्नुभएको हो ।

पूर्वप्रधानमन्त्री थाक्सिनको राजनीतिक दल फेउ थाईका सदस्य एवं धनाड्य व्यापारी श्रेथा थाविसिनलाई प्रधानमन्त्रीका रुपमा चयन गर्ने तयारी भएका बेला उहाँलाई अदालतलबाट काराबासको सजाय भएको छ ।

चौहत्तर वर्षीय थाक्सिनलाई अदालतले जेल सजाय सुनाए पनि उहाँ कति दिन बन्दी बन्नुहुनेछ भन्ने स्पष्ट नभएको अधिकारीहरूले बताएका छन् ।

 

आफूमाथि राजनीतिक रुपमा प्रेरित भएर विभिन्न आपराधिक मुद्दा लगाएपछि निर्वासनमा जानुभएका नेता थाक्सिनलाई कमजोर बनाउन सैन्य विद्रोह र विवादास्पद अदालती मुद्दाको सहारा लिइएको थियो ।
निर्वाचित नेता उहाँलाई राजपरिवारले पनि तिरस्कार गरेपछि देशबाहिर जानु परेको थियो । उहाँविरुद्ध दश वटा आपराधिक मुद्दा लगाइएका छन् ।

दुबईबाट सिङ्गापुर हुँदै निजी जेटमा स्थानीय समय अनुसार बिहान ९ः०० बजे राजधानी व्याङ्ककमा अवतरण गर्नुभएका उहाँको सयौँ समर्थकले जयकारका साथ स्वागत गरेका थिए ।
नेता सिनावात्राको दलको गढ मानिएको उत्तरपूर्वको सुरिन प्रान्तबाट रातभर यात्रा गरेर समर्थक विमानस्थलमा पुगेका थिए ।

आफ्ना दुई छोरी र छोराको साथमा उहाँ विमानस्थलको टर्मिनलबाट छोटो समयको लागि निस्कनुभयो र राजा र रानीको तस्बिरमा श्रद्धाञ्जली अर्पण गर्नुभयो । त्यसपछि उहाँलाई सर्वोच्च अदालत लगिएको थियो ।
उहाँलाई लामो समयसम्म हिरासतमा नराखिने अपेक्षा गरिएको छ । नेता थाक्सिनको पार्टी फेउ थाई गठबन्धन सरकारमा आजै सहभागी हुने अपेक्षा पनि गरिएको छ ।

हालैको निर्वाचनमा सबैभन्दा धेरै स्थानमा जित हासिल गरेको कट्टरपन्थी युवा मुभ फर्वार्ड पार्टी नेतृत्वले फेउ थाईसँग सत्ता साझेदारीका निम्ति समझदारी गरेको छ । गठबन्धनमा अन्य दल पनि सहभागी हुने बताइएको छ ।

Share Now

Leave a comment.