काठमाडौं, १९ भाद्र । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतक कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिनुभएको छ।
प्रमुख सचेतकको भूमिकामा रहँदा पार्टी संगठन र दोलखेली जनताको सेवामा समय दिन नसकिएकाले उक्त जिम्मेवारी छाडेको उहाँले बताउनुभएको छ।
राजीनामा दिएको तस्बिरसहित कांग्रेस नेता काफ्लेले मंगलबार बिहानै सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘नेपाली कांग्रेस बागती प्रदेश संसदीय दलको प्रमुख सचेतकको भूमिकाबाट राजीनामा दिएको छु।’
उहाँले भन्नुभएको छ, ‘गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भएकै कुरा हो। प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा पार्टी संगठन र दोलखेली जनसेवामा समय अभाव महसुस गरेको छु। अतः केन्द्रीय सदस्यका रूपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशील रहन र दोलखेली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दिएको छु।’
यसबीच आफूलाई सहयोग गर्ने नेपाली कांग्रेस, बागमती प्रदेशका सबै सांसद तथा नेता कार्यकर्तालाई उहाँले धन्यवाद दिनुभएको छ।


















