मोरोक्को, २४ असोज । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ)को संयुक्त वार्षिक बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल सहुलियतपूर्ण ऋण सहायता दिनुपर्नेमा जोड दिनुभएको छ।
अर्थमन्त्री तथा विश्व बैंक समूहका गभर्नर डा. प्रकाशशरण महतले हामी बसोबास गरिरहेको धर्तीलाई बस्नयोग्य बनाउनुपर्ने विश्व बैंकको थिममा समर्थन जनाउँदै जलवायु परिवर्तनको गैरअनुपातिक असर परेको नेपालजस्ता साना अर्थतन्त्र भएका मुलुकका लागि प्रवाह गरिने ऋण सहायता अझ बढी सहुलियतपूर्ण बनाउनुपर्ने बताउनुभएको हो।
उहाँले खासगरी विश्व बैंकले तयार गरेको ‘प्लेबुक’ मा सहुलियत दर बढाउँदै जाने कुराको प्रतिबद्धता ठोस रुपमा प्रतिविम्वित हुनुपर्ने कुरा व्यक्त गर्नुभयो । डा. महतले निजी क्षेत्रसँग सम्बन्धित उपकरणहरु समेत साना अर्थतन्त्र भएका मुलुकको पहुँचमा पुर्याउने र व्यालेन्सिट अप्टिमाईजेसनमार्फत बैंकको आयको महत्वपूर्ण हिस्सा विश्वबैंकको सहुलियतपूर्ण ऋण लगानी गर्ने संरचनाको रुपमा चिनिने ‘आइडीए’मा समावेश गरेर जान सकेमा कम आय भएका देशमा सहुलियत दर बढाउनु पर्ने चासोको सम्बोधन हुन सक्ने विचार व्यक्त गर्नुभयो ।
त्यसैगरी अन्तर्राष्ट्रिय मुद्राकोषको प्रस्तुतिमा प्रतिक्रिया दिँदै अर्थमन्त्री डा. महतले कोषको वित्तीय सुविधाहरु परम्परागत कोटाको आधारमा वितरण गर्ने विद्यमान अभ्यासका कारण कम प्रतिनिधित्व भएका मलुकको आवश्यकता प्रतिविम्वित हुन नसकेकोले जारी कोटा पुनरावोलकन प्रकृयामा पुनर्विचार गर्नुपर्ने धारणा समेत सशक्त रुपमा राख्नुभयो ।
अर्थमन्त्री महतले राखेको विचारको सराहना गर्दै कार्यकारी निर्देशकले सहुलियतपूर्ण ऋणको अंश बढाउनेतर्फ काम शुरु भैसकेको र यसलाई यथाशीघ्र सम्पन्न गरिने जवाफ दिनुभएको थियो ।
आजै अर्थमन्त्रीको कोरियाका उपप्रधानमन्त्री तथा युरोपियन युनियनका कमिस्नरसँग छुट्टाछुट्टै द्विपक्षीय भेटघाट हुने कार्यक्रम तय भएको छ ।


















