Prakash Adhikari October 16, 2023

काठमाडौँ । नेपालीको महान चाड बडादसैँको दोस्रो दिन आज देवीमन्दिर तथा शक्तिपीठहरुमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरिँदै छ। ब्रह्मचारिणीदेवीलाई ब्रह्म, विद्या र शक्तिकी माताको रूपमा पूजाअर्चना गर्ने प्रचलन छ।

ब्रह्मचारिणीदेवीको आराधनाले व्यक्तिलाई ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचर्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रहरूमा उल्लेख छ। सांसारिक मायामोहको जञ्जालबाट मुक्त गराई व्यक्तिलाई ज्ञानमा आकर्षित गरी मानव चोला सार्थक बनाउन साधकलाई ब्रह्मचारिणीदेवीको अनुकम्पा आवश्यक हुने बताइएको छ।

ब्रह्मचारिणीदेवीलाई भक्तिको प्रतीक मानिन्छ । ब्रह्मचारिणी माता पार्वतीको विवाह पूर्वको अवस्थाको रूपमा चर्चा गरिएको छ । पार्वतीको यो रुपलाई ब्रह्मचारिणी, तपस्वी तथा योगिनी पनि भनिएको देवीभागवत लगायतका ग्रन्थहरुमा उल्लेख छ। शास्त्रहरूमा ब्रह्मचारिणीलाई वदनवर्ण कलेजी रङको रहेको भनेर वर्णन गरिएको छ।

देवीका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ। महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रूपमा पूजाआजा एवं आराधना गर्ने परम्परा छ।

 

Share Now

Leave a comment.