काठमाडौं, १ कार्तिक । नेपाल हंगकंग र युएईबीचको त्रिकोणीय टी २० आई श्रृखलाको पहिलो खेल नेपालको पक्षमा गएको छ ।
आज नेपाल र युएईबीच भएको खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको छ ।
मूलपानीस्थित उपल्लो मैदानमा भएको आजको खेलमा टस जितेर नेपालले फिल्डिड. रोजेको थियो । पहिले ब्याटिड.को निमन्त्रणा पाएको युएईले २० ओभरको निर्धारित खेल पूरै ओभर खेल्दै ७ विकेटको क्षतिमा १ सय ४० रन बनाएको थियो ।
युएईले दिएको १ सय ४१ रनको लक्ष्य नेपालले ३ विकेटको क्षतिमा १८.६ ओभरमा १ सय ४४ रन हासिल गरेर पूरा गर्यो ।
नेपालका लागि कप्तान रोहित पौडेलले अविजित ५१ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३४ रन,आशिफ शेखले २३ रन, कुशल भूर्तेलले १४ रन र कुशल मल्लले ११ रन बनाए ।
ओपनर कुशल भूर्तेल ४.२ ओभरमा निलांश केशवनीको हातबाट, कुशल मल्ल ६.६ ओभरमा अलि नासिरको हातबाट र आशिफ शेख पनि ८.५ ओभरमा अलि नासिरकै बलबाट आउट भएपछि नेपाल एकपटक निकै दवावमा थियो ।
त्यसपछि क्रिजमा आएका दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलको धैर्यतापूर्ण खेलले नतिजा नेपालको पक्षमा आउन धेरै मद्दत गर्यो ।
नेपाललाई रोक्ने क्रममा युएईका निलांश केशबानी र अलि नासिरले एक एक विकेट लिए ।
यसभन्दा पहिले नेपालले टस जितेर फिल्डि. रोजेपछि ब्याटिड.मा उत्रिएको युएईले २० ओभरको निर्धारित खेलमा ७ विकेटको क्षतिमा पुरै ओभर खेल्दै १ सय ४० रन जोडेको थियो ।
युएईका लागि बसिल हमिदले ५१,अलि नासिरले ३२, कप्तान मोशम्मद वासिमले १७, आशिफ खानले १५, अलिशन शरफूले ६, निलांश केशवानीले ४,शचित शर्माले २ रनको योगदान दिए ।मोहम्मद फराजउद्दिन र खालिद शाहले कुनै रन जोड्न सकेनन् ।
युएईलाई रोक्ने क्रममा नेपालका करण के.सी.ले ३, गुलशन झाले २,सोमपाल कामी र अभिनास बोहोराले १ । १ विकेट लिएका थिए ।
चुनौतिपूर्ण अवस्थाबाट खेललाई जितसम्म पुर्याउदै ५१ रन जोडेका र आफ्नो टोलीलाई जिताउन २ क्याच गरेका नेपालका कप्तान रोहित पौडेल प्लेयर अफ द म्याच भए ।


















