
लिबिया(त्रिपोली),२० बैशाख (बीबीसी)। लिबियाको राजधानी त्रिपोलीस्थित निर्वाचन आयोगको मुख्यालयमा आत्मघाती हमला हुँदा कम्तीमा १२ जनाको ज्यान गएको त्यहाँका अधिकारीहरूले बताएका छन्।
कैयौँ घाइते भएका छन्।
कम्तीमा एकजना आत्मघाती हमलाकारीसहित कैयौँ लडाकुहरू बलपूर्वक मुख्यालयमा प्रवेश गरेको र एउटा विस्फोटन गराएको बताइएको छ।’
चुनाव
संयुक्त राष्ट्रसंघले यसै वर्षको अन्त्यसम्ममा लिबियामा चुनाव गराउन सकिने अपेक्षा गरिरहेको छ र सोही चुनावका लागि त्यहाँ मतदाताको नाम दर्ता गर्ने कार्य चलिरहेको छ।
निर्वाचन आयोगका सदस्यहरु तथा सुरक्षाकर्मीहरू पनि हताहत भएको ठानिएको छ।
निर्वाचन आयोगका प्रवक्ता खालेद ओमारले रोयटर्स समाचार संस्थासंग कुरा गर्दै तीन जना अधिकारीहरू तथा चार जना सुरक्षाकर्मीहरू मारिएको बताए।
अधिकारीहरूका अनुसार एकजना हमलाकारीले मुख्यालयमा आत्मघाती विस्फोटन गराएका थिए भने अन्य सशस्त्र हमलाकारीहरूले भवनमा आगजनी गरेका थिए।
हमलाको जिम्मेवारी कसैले लिएको छैन, तर इस्लामिक स्टेट लडाकु समूहसँग सम्बन्ध भएका लडाकुहरूले सो हमला गरेको ठानिएको छ।
संकट
सन् २०११ मा नेता मुअम्मर गद्दाफीलाई सत्ताच्युत गराइएयता लिबियाले राजनीतिक संकटको सामना गर्दै आएको छ।
उनको ४२ वर्षलामो शासनको अन्त्यपछि लिबियाका विभिन्न भूभागहरू अनगिन्ती प्रतिद्वन्द्वी सशस्त्र समूहहरूको नियन्त्रणमा रहेका छन्।
बीबीसीका उत्तर अफ्रिका संवाददाता राना जवाद भन्छिन्, उक्त हमला त्रिपोलीमा कम्तीमा तीन वर्ष यता भएकामध्ये सबैभन्दा घातक र सबैभन्दा योजनाबद्ध रुपमा गरिएको छ।
“लिबियाको फितलो सुरक्षा व्यवस्थालाई हेर्दा सो हमला आश्चर्यजनक नलाग्ला ,तर हमलाको निशाना र निर्वाचन आयोगका कर्मचारीसहित त्यसमा परेका भनिएकाहरूका कारण सो हमलाले राजधानी त्रिपोली वरपर स्तब्ध तुल्याउने तरंगहरू उत्पन्न गराएको छ।”
कैयौँ पर्यवेक्षकहरूले सैन्य तथा राजनीतिक रुपमा विभाजित लिबियामा चुनाव गराउन सकिनेबारे आशंका व्यक्त गर्दै आएका छन् ।
तर अन्तर्राष्ट्रिय समुदायले त्यहाँ चुनाव गराइ संकटको सामना गरिरहेको उक्त उत्तर अफ्रिकी देशलाई ताजा सुरुवात दिन सकिने ठानेजस्तो देखिन्छ।