बेरुत(लेबनान), १८ पोष(बीबीसी) । हमासका वरिष्ठ नेता सालेह अलअरूरी बेरूतमा मारिएपछि लेबनान सरकारले इजरायलमाथि मध्यपूर्वमा क्षेत्रीय युद्ध बल्झाउन खोजेको आरोप लगाएको छ। इजरायलले भने उक्त घटना लेबननमाथिको आक्रमण नभएको तर्क गरेको छ।
इजरायल सरकारका एक प्रवक्ताले सालेह अलअरूरी हमासको नेतृत्वविरुद्ध गरिएको सर्जिकल स्ट्राइक मा मारिएको बताएका छन्। तर उनले त्यसमा इजरायलको भूमिकाबारे केही टिप्पणी गरेनन्।
इजरायलले हमास लडाकु समूहविरुद्ध सैन्य कारबाही थालेपछि ज्यान गुमाउने नेतामध्ये अरूरी सबैभन्दा वरिष्ठ हुन्।
हमासले उक्त आक्रमणको निन्दा गरेको छ।
हमासको साझेदार हिज्बुल्लाहले उक्त घटनालाई लेबनानको सार्वभौमिकतामाथि भएको आक्रमणू को सङ्ज्ञा दिएको छ।
लेबनानका प्रधानमन्त्रीले इजरायलले लेबनानलाई मुठभेडमा तान्न खोजेको आरोप लगाएका छन्।
कसले के भने ?
लेबनानमा स्थानीय सञ्चारमाध्यममा प्रकाशित विवरणहरूका अनुसार हमासको राजनीतिक विभागका उपनेता अरूरी र अरू छ जनाको दक्षिणी बेरूतमा भएको ड्रोन आक्रमणमा मृत्यु भएको थियो।
मृत्यु हुनेमा हमासका दुई सैन्य कमान्डर र चार अन्य सदस्य पनि छन्।
लेबनानका विदेशमन्त्री अब्दल्लाह बू हबिबले बीबीसीसँग कुराकानी गर्दै इजरायल गाजामा विफल भएकाले उसले त्यसको क्षतिपूर्ति गर्ने प्रयास गरिरहेको बताए।
ड्रोन हमलामा मारिएका अरूरी तेस्रो तलामा रहेको विवरणहरू आएका छन् ।
समाचारसंस्था रोयटर्सका अनुसार एक प्रत्यक्षदर्शीले अग्निनियन्त्रक र स्वास्थ्यकर्मीहरू एउटा अग्लो भवनको छेउमा भेला भएको जनाएका छन्।
उक्त भवनको तेस्रो तलामा एउटा ठूलो भ्वाङ परेको जनाइएको छ।
सामाजिक सञ्जालमा देखा परेका भिडिओ सामग्रीमा एउटा व्यस्त आवासीय क्षेत्रमा रहेका भवनहरूमा धेरै क्षति पुगेको र एउटा कारबाट आगोको मुस्लो निस्किएको देखिन्छ।
डाहिए भनिने उक्त आवासीय क्षेत्रमा हिज्बुल्लाह समूहको बलियो प्रभाव छ।
इजरायल के भन्छ ?
हमासले इजरायलमा अप्रत्याशित आक्रमण गरेर ठूलो क्षति पुर्याइदिएपछि इजरायलका प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले उक्त लडाकु समूहलाई ूनिमिट्यान्न पार्नेू उद्घोष गरेका थिए।
तर इजरायल सरकारका प्रवक्ता मार्क रेगेभले अरूरीको हत्या इजरायलले गराएको पुष्टि गरेनन्। उनले एमएसएनबीसीलाई भने, “जसले गरेको हो यो आक्रमण लेबनन राज्यमाथि गरिएको हैन भन्ने स्पष्ट हुनुपर्छ।यो आतङ्कवादी समूह हिज्बुल्लाहमाथिको आक्रमण पनि होइन।यो आक्रमण जसले गरेको भए पनि हमास नेतृत्वविरुद्ध सर्जिकल स्ट्राइक गर्यो। जसले गर्यो उसको हमाससँग सिकायत छ। त्यो स्पष्ट छ।”
गाजामा युद्ध सकिएपछि के गर्ने भन्ने विषयमा छलफल गर्न मङ्गलवार साँझ बोलाइएको इजरायली मन्त्रिपरिषद्को सुरक्षा बैठक स्थगित भएको छ।
हमासका नेता इस्माइल हानिएले बेरूतमा भएको साङ्घातिक घटनालाई ूआतङ्ककारी कार्यू भन्दै त्यसले लेबननको सार्वभौमिकताको उल्लङ्घन गरेको बताए।
बेरूतमा हमला भएको क्षेत्रलाई आफ्नो नियन्त्रणमा राखेको लडाकु समूह हिज्बुल्लाहले उक्त घटनालाई अपराध भन्दै आफ्नो प्रतिक्रिया र सजायबिना आक्रमणकारी पक्ष उम्किन नसक्ने चेतावनी दिएको छ।
गाजामा युद्ध चलिरहेका बेला हिज्बुल्लाहले इजरायललाई लक्ष्य बनाउँदै बारम्बार रकेट प्रहार गर्दै आएको छ।
सालेह अल-अरूरीबारे हामीलाई के थाहा छ?
साहेल अल(अरूरीलाई हमासको नेतृत्वपङ्क्तिमा निकै वरिष्ठ मानिन्थ्यो। उनी राजनीतिक र सैन्य मोर्चा दुवैतिर सक्रिय थिए।
सन्ताउन्न वर्षीय अरूरी हमासको राजनीतिक विभागका उपनेता थिए।
उनले हमासको सैन्य विभाग ुइज अल(दिन अल(कसाम ब्रिगेड्सु स्थापना गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
उनी सन् १९८७ मा हमासमा आबद्ध भएका थिए।
उनले इजरायलको अधीनमा रहेको वेस्ट ब्याङ्कमा हमास समूहको सैन्य उपस्थिति स्थापित गर्न सघाएका थिए।
उनी हमासको सैन्य गतिविधिमा संलग्न थिए। उनलाई हमास नेता इस्माइल हानिएसँग निकट मानिन्थ्यो।
लेबननमा बसेर उनले हमास र हिजबुल्लाहबीच सम्पर्कसूत्रका रूपमा काम गरिरहेका थिए। उनी इरानसँग पनि नजिक थिए।
इस्माइल हानिए हमासका मुख्य नेता भएको ठानिन्छ। अरूरीको उनीसँग निकट सम्बन्ध थियो ।
अरूरी इजरायलको जेलमा पनि बसेका थिए।
जेलबाट छुटेपछि सन् २०११ मा उनी बन्धक बनाइएका एक इजरायली सैनिकलाई मुक्त गराउन १,००० प्यालेस्टिनी बन्दीहरूलाई छोड्ने सहमतिमा भए।
गत अक्टोबर महिनामा इजरायली सेनाले वेस्ट ब्याङ्कस्थित उनको घर भत्काइदिएको थियो।
अक्टोबर ७ मा हमासले सीमा वरपरका बस्तीमा हमला गर्दा झन्डै १ हजार २ सय जनाको गएको थियो र करिब २ सय ४० जनालाई बन्धक बनाएर गाजातिर लगिएको थियो।
ज्यान गुमाएका धेरैजसो सर्वसाधारण मानिस थिए।
हमासलाई सखाप पार्ने उद्देश्यसहित इजरायलले अहिले गाजामा सैन्य कारबाही गरिरहेको छ।
अहिलेसम्म इजरायली कारबाहीमा परेर २२ हजार जनाभन्दा बढी प्यालेस्टिनीको ज्यान गएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ।








