
काठमाडौं, २० पौष। नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी र शीर्ष तहका क्रिकेट खेलाडीले भारतीय विदेशमन्त्री डा. एस जयशंकरलाई भेटेका छन् ।
अध्यक्ष चतुरबहादुर चन्दको नेतृत्वमा भेटेको क्यानको टोलीले त्रिवि मैदानको स्तरोन्ततिदेखि नयाँ रंगशाला बनाउनका लागि सहयोग गर्न आग्रह गरेको थियो । भारतीय विदेशमन्त्री जयशंकरले आवश्यक भए नेपाली क्रिकेटको स्तर उकास्न आफूहरुले प्रशिक्षणमा पनि सघाउन सक्ने बचन दिनुभएको छ ।
क्यानका पदाधिकारीले केही खेलाडीसहित जयशंकरलाई भेटेका थिए। नयाँ रंगशाला बनाइदिन गरेको आग्रहमा जयशंकरले जग्गाको व्यवस्थापन गर्न सक्नुहुन्छ भनेर प्रतिप्रश्न गरेको क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिनुभएको छ।
‘हामीले रंगशालाको स्तरोन्नति लगायत क्षेत्रमा सहयोगको आग्रह गर्यौं। जवाफमा उहाँले एकै लाइनमा तपाइँहरु ल्याण्ड दिन सक्नुहुन्छ? जमीनको प्रतिबद्धता छ? भनेर सोध्नुभयो,’ चन्दले भन्नुभयो, ‘हामीले क्यान यसको अथोरिटी होइन। सरकारले चाहिं दिन सक्छ भन्यौं। उहाँले प्रधानमन्त्रीसँग पनि क्रिकेटबारे कुरा भएको छ। रंगशाला निर्माणबारे सरकारसँग समन्वय गर्छौं भन्नु भएको छ।’
जयशंकरसँग बिहिबार साँझ भएको भेटमा अध्यक्ष चन्दका अलावा उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का, कोषाध्यक्ष पदमबहादुर खड्कालगायत पदाधिकारी तथा राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, अभिनास बोहरालगायत खेलाडी सम्मिलित हुनुहुन्थ्यो।
‘पूर्वाधारको सवालमा एउटा स्टेडियम त हुनुपर्यो। उहाँले यसमा चासो दिनुभएको छ। तर, तत्कालका लागि क्यानको आकांक्षा टीयू मैदानलाई अपग्रेड गर्ने अपेक्षा राखेका छौं। यसमा उहाँ सकारात्मक हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘आगामी दिनमा हामी सर्ट टर्म र लङ टर्मका लागि कार्ययोजना पेश गर्छौं।’
क्यानले बिहिबार वार्षिक क्यालेन्डर सार्वजनिक गर्ने क्रममा त्रिवि मैदानको स्तरोन्नतिमा जोड दिएको थियो।
सन् २०१४ मा पहिलो पटक टी २० विश्वकप खेलेको नेपाल त्यसको ठीक एक दशकपछि फेरि विश्वकपमा छनोट भएको छ। जयशंकरले विश्वकपमा छनोट भएकामा बधाइ दिंदै विश्वकपको तयारीबारे पनि चासो देखाउनुभएको थियो ।
जयशंकरले क्यानका पदाधिकारीसँग ‘विश्वकपको तयारीका लागि भारतका तर्फबाट के सहयोग चाहिन्छ भनेर सोध्नुभएको थियो।
‘दीर्घकालीनरुपमा हामीलाई एक्सपोजर दिने कुरा भएको छ। हाम्रो सिनियर टोलीलाई भारतका घरेलु टिमसँग खेल्ने वातावरण कसरी बनाउन सकिन्छ भन्ने कुरा भएको छ,’ अध्यक्ष चन्दले भन्नुभयो, ‘भारतले जसरी अफगानिस्तानलाई ग्राउण्ड उपलब्ध गराएको छ, त्यसरी नै ‘होम ग्राउण्ड’ बनाउन सके त्यहाँ टिमहरु पाउन सजिलो हुन्छ। टेस्ट कन्ट्री पनि आउन सक्छन्। त्यहाँ स्टेट टिम र इण्डिया ए टिम पनि उपलब्ध हुन सक्छ।’
उहाँका अनुसार जयशंकरले कोचिङ स्टाफबारे पनि चासो राख्नुभयो। ‘उहाँले कोचिङमा पनि चासो दिनुभएको छ। हाइ पर्फमेन्स क्याम्पका लागि कस्तो कोचिङ स्टाफ चाहिएको छ भनेर सोध्नुभयो,’ क्यानका अध्यक्ष चन्दले भन्नुभयो। क्यानका पदाधिकारी, खेलाडी र जयशंकरबीच करिब २५ मिनेट कुराकानी भएको थियो।