Prakash Adhikari January 5, 2024

काठमाडौं, २० पौष । नेपाली यु -१९ क्रिकेट टोली आईसीसी यू -१९ विश्वकपका लागि आज प्रस्थान गर्दै छ ।

आईसीसी यु १९ विश्वकप खेल्न जाने नेपाली यू -१९ राष्ट्रिय क्रिकेट टिमलाई नेपाल क्रिकेट संघ(क्यान)ले बिदाइ गरेको छ ।

शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङ, क्यान अध्यक्ष चतुरबहादुर तन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्मा लगायतले बिदाइ गर्नुभयो ।

नेपाल ८ वर्षपछि यू -१९ विश्वकप खेल्न लागेको हो । यू -१९ टिमका कप्तान देव खनालले तयारी सबै राम्रो रहेको र प्राप्त सुविधालाई प्रयोग गरेको बताउनुभयो ।

उहाँले विश्वकप खेल्ने सपना पूरा हुन लागेको र राम्रो नतिजा ल्याउने बताउनुभयो । उहाँले एसिया कपको प्रदर्शनबाट धेरै शिक्षा लिएर विश्वकपमा राम्रो गर्दै देशलाई गौरवान्वित बनाउने भनाई राख्नुभयो ।

यू -१९ टिमका मुख्य प्रशिक्षक जगत टमाटाले ८ वर्षपछि फेरि विश्वकप खेल्न तयार नेपाली टिम मानसिक र शारीरिक रुपमा तयार रहेको बताउनुभयो ।

‘दक्षिण अफ्रिकामा पहिलो पटक खेल्न जाँद‌छौं । चुनौती त छ तर हामी त्यो चुनौती चिर्न तयार छौं’ टमाटाले भन्नुभयो, ‘विश्वकप अघि नै चार खेल खेल्दैछौं र त्यसले पनि हामीलाई सहयोग गर्छ । हामीले पहिले पनि टेष्ट नेशनलाई हराइसकेका छौं र फेरि नेपालको झण्डा फहराउने छौं ।’

क्यान अध्यक्ष चतुरबहादुर चन्दले ८ वर्षपछि यू -१९ विश्वकप खेल्न लागेको भन्दै टिमलाई उच्च प्रदर्शन गर्न शुभकामना दिनुभयो । क्यानले विश्वकपका लागि टिमलाई चाँडै पठाउन लागेको र नामिबिया र स्कटल्याण्डसँग अभ्यास म्याच खेल्ने तालिका रहेको उहाँले बताउनुभयो । नेपाली टिम आज शुक्रबार नै दक्षिण अफ्रिका प्रस्थान गर्दै छ ।

बिदाई कार्यक्रममा राखेप सदस्य सचिव टंकलाल घिसिङले नेपाली टिमले राम्रो खेलेर नै यू -१९ विश्वकप पुगेको र विश्वकपमा पनि राम्रो प्रदर्शन गर्ने विश्वास रहेको बताउनुभयो ।

घिसिङले नेपालको सिनियर टिम र यू -१९ टिमले २०२३ मा एसिया कप खेलेको र २०२४ मा पनि सिनियर टिम र यू -१९ टिमले विश्वकप खेल्न लागेको भन्दै सुखद संयोग रहेको बताउनुभयो ।

यू -१९ विश्वकपमा नेपाल कठिन समूहमा रहेको । समूह डी मा नेपालसहित पाकिस्तान, न्युजिल्याण्ड र अफगानिस्तान छन् । नेपालले पहिलो खेल २१ जनवरीमा न्युजिल्यान्डसँग खेल्नेछ ।

नेपालले विश्वकप अघि स्कटल्याण्ड र वेष्ट इन्डिजसँग वार्म अफ म्याच खेल्नेछ ।

Share Now