Prakash Adhikari January 13, 2024

काठमाडौं, २८ पौष। नेपालको पहिलो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकै बर्षमा झण्डै ८७ लाख यात्रुहरुको आवागमन भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार सन् २०२३ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै गरी कूल ८६ लाख ९१ हजार चार सय ४३ यात्रुले यस विमानस्थल हुँदै हवाईयात्रा गरेका छन्।

सन् २०२२ मा ७९ लाख ५४ हजार ४ सय ९५ ले हवाईयात्रा गरेका थिए। जुन अघिल्लो वर्षको तुलनामा नौ दशमलव दुई प्रतिशतले बढी हो। कूल यात्रु आवागमन (आन्तरिक र अन्तर्राष्ट्रिय) पनि बढेको विमानस्थल कार्यालयले जनाएको छ।

कोभिडअघि सन् २०१८ मा ७१ लाख ९० हजार ९ सय १२ र सन् २०१९ मा ७३ लाख २७ हजार ३१ यात्रुले हवाईयात्रा गरेका थिए।

विमानस्थलबाट एक वर्षको अवधिमा अन्तर्राष्ट्रियतर्फ ४५ लाख ४१ हजार १ सय ३७ ले हवाईयात्रा गरेका छन्। जुन अघिल्लो वर्षको तुलनामा ३० दशमलव १८ प्रतिशतले बढी हो। यो सङ्ख्या कोभिड–१९ अघि सन् २०१८ को भन्दा चार दशमलव पाँच प्रतिशतले बढी रहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिनुभयो। उहाँका अनुसार यो अहिलेसम्मकै सबैभन्दा धेरै हो।

महाप्रबन्धक तिवारीले अन्तर्राष्ट्रिय हवाई यात्रु आगमन अहिलेसम्मकै बढी भएको बताउँदै कूल यात्रु आगमन पनि बढेको जानकारी दिनुभयो। कोभिड पहिलाको तुलनामा १८ प्रतिशत र सन् २०२२ को तुलनामा नौ दशमलव दुई प्रतिशतले वृद्धि भएको उहाँको भनाइ छ।

सन् २०२३ मा अन्तर्राष्ट्रिय उडान र अवतरणकोे संख्या गत वर्षको तुलनामा ३१ हजार ४ सय ६० ले अर्थात २९.४ प्रतिशतले वृद्धि भएको छ।

जुन कोभिडअघि सन् २०१८ को भन्दा १० दशमलव ७६ प्रतिशतले घटेको छ।
उक्त अवधिमा कार्गो आवागमन २२ हजार ९ सय ४६ टन भएको छ। जुन गत वर्षको तुलनामा १३.९८ प्रतिशतले घटेको छ।

आन्तरिकतर्फ हवाईयात्रा गर्नेको सङ्ख्या ४१ लाख ५० हजार ३ सय २६ पुगेको छ। जुन गत वर्षको तुलनामा ७.०७ प्रतिशत कम हो। उक्त अवधिमा आन्तरिकतर्फ ९६ हजार ९ सय ८९ उडान अवतरण भएका छन्। उडान पनि गत वर्षको तुलनामा १०.८७ प्रतिशतले घटेको छ।

आन्तरिकमा कार्गो आगमन गत वर्षको तुलनामा १०.३६ प्रतिशतले वृद्धि भई ३ हजार ४ सय२६.८६१ टन पुगेको महाप्रबन्धक तिवारीले बताउनुभयो।
उहाँका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल आन्तरिकतर्फ ९ एयरलाइन्स कम्पनी र १२ हेलिकोप्टर कम्पनी सञ्चालनमा छन् भने अन्तर्राष्ट्रियमा ३ नेपालीसहित ३० वायुसेवा कम्पनीले १६ देशका ३१ गन्तव्यमा सेवा दिइरहेका छन्।

नेपालले ४१ मुलुकसँग दुई पक्षीय हवाई सेवा सम्झौता गरेको छ। पछिल्लो पटक गत मङ्सिर १९ गते नेपाल र रुवाण्डाबिच द्विपक्षीय हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको थियो। रासस

Share Now