टोकियो(जापान), ७ फागुन । नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले जापानमा नियमित सेवा दिइरहेको नेपाल वायुसेवा निगमको हवाई भाडा अन्य वायुसेवाको भन्दाबढी नहुने बताउनुभएको छ ।
गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको आयोजनामा यही फागुन ७ गते सोमबार साँझ सम्पनन अन्तरक्रियासहित स्वागत तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष अधिकारीले अन्य प्रतिष्पर्धी वायु सेवा कम्पनीको भन्दा महँगो नहुने गरी भाडादर समायोजन लगायतका सुधारका कार्य गरिन लागेको बताउनुभएको हो।
उहाँले राष्ट्रिय ध्वजावाहक निगमका जहाजमा जापानी भाषामा एनाउन्समेण्टको व्यवस्था, जापानी भाषाको ज्ञान भएका विमान परिचारिकाको व्यवस्था, अन्तराष्ट्रिय मापदण्डको खानाको व्यवस्थासहित भाडादरमा समेत समायोजन गर्ने गरि आवश्यक कार्य भइरहेको बताउनुभयो।
कार्यकारी अध्यक्ष अधिकारीले नेपाली मन भएका सबैले राष्ट्रिय ध्वजावाहक जहाजलाई माया गरिदिन आग्रह पनि गर्नुभयो ।
निगमका जहाजहरुले अन्तराष्ट्रिय क्षेत्रमा १० वटा स्टेशनबाट सेवा दिइरहेको जानकारी दिँदै कार्यकारी अध्यक्ष अधिकारीले निकट दिनमा नै जापानको ओसाकाबाट पनि नियमित सेवा दिने गरी काम भइरहेको जानकारी दिनुभयो।
उहाँले निगमको सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर जापानमा मृत्यु हुने नेपालीको शवलाई नेपाल लैजान सहयोग पुग्ने गरि आवश्यक गृहकार्य अघि बढाउने समेत जानकारी दिनुभयो।
सोहि कार्यक्रममा बोल्दै जापानका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले अन्य प्रतिस्पर्धी वायु सेवाको तुलनामा नेपाल वायुसेवा निगमले आफ्नो भाडादरमा सहुलियत हुनेगरी सस्तो बनाउन निगम व्यवस्थापन समक्ष आग्रह गर्नुभयो ।
“चन्द्रसूर्य अंकित झण्डाको सम्मानका लागि पनि नेपालीहरुले निगमका जहाजको प्रयोग गर्नुपर्छ।” राजदूत डा सुवेदीले भन्नुभयो, अलिकति मात्रै सस्तो बनाइदिए मैले पनि ट्रान्जिट छैन र सीधै आउन पाइन्छ र अन्य विमान सेवाभन्दा सस्तो पनि छ भनेर नेपाल वायुसेवा निगमको सेवा लिन आफ्ना सम्पर्कका सबैलाई अनुरोध गर्न पाउछु।”
उडान सेवा विस्तारको क्रममा जापान भ्रमणमा रहनुभएका वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्तले सरकारले एनआरएनए नागरिकताको वितरण गरेर विदेशमा रहेका नेपालीहरुका निम्ति राम्रो काम थालेको बताउनुभयो। उहाँले सम्पत्तिको हकका सन्दर्भमा एनआरएनए नागरिकता र अन्य नेपाली नागरिकतामा समानता कायम भएको उल्लेख गर्नुभयो।
एनआरएनएको भवन हालै विशेष अदालतको फैसलाले राज्यको भएको भन्ने बारेमा राज्यले कर छुट दिएर जग्गा खरिद भएको र तोकिएको मापदण्ड पूरा गरी भवन बनाइएको पाइएकोले अन्य कुरा कानुन बमोजिम हुने बताउनुभयो।
अन्तर्क्रियाका सहभागीहरूले जापानमा मृत्यु हुने नेपालीको शव नेपाल पठाउन आवश्यक व्यवस्था गरिनु पर्ने, खाली सिट हुँदा समेत टिकट नपाउने अवस्थाको अन्त्य हुनुपर्ने, सेवालाई चुस्त दुरुस्त र अन्तराष्ट्रिय स्तरको बनाइनु पर्ने, सामाजिक सेवाका लागि लगिने समान तथा वस्तुमा आवश्यक सहयोग गरिदिनु पर्ने र भाडादर सस्तो बनाइनु पर्ने लगायतका सुझाव दिनुभएको थियो।
एनआरएनए जापानका अध्यक्ष नविन निउरेले प्रत्यक्ष रुपमा नेपालीहरुसँग जोडिएका विषय मध्ये मृतक नेपालीको शवलाई निःशुल्क नेपाल लैजाने, अस्तुलाई नेपाल पुर्याउने, कार्गोंलाई सस्तों र सुलभ गराउने लगायतका सेवाको सुधार तत्काल गर्न माग गर्दै प्राप्त सुझावहरुलाई आत्मसात गरी सुधार गरेर लैजाने विश्वास व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा कार्यकारी अध्यक्ष अधिकारी र वरिष्ठ अधिवक्ता पन्तलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।
एनआरएनए जापानको अध्यक्ष नविन निउरे अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक तथा उपाध्यक्ष सुवास लामिछानेले दिनुभएको थिया भने सञ्चालन महासचिव टिकाराम खरेलले सञ्चालन गर्नुभएको थियो ।


















