Prakash Adhikari March 5, 2024

काठमाडौं, २२ फागुन । मन्त्रालयहरुको भागवण्डा गर्नका लागि हिजोदेखि बनेको नयाँ सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ ।

आज गठबन्धनका शीर्ष नेताहरु र कार्यदलको अलगअलग बैठक बस्ने बताइएको छ ।

‘कार्यदलको बैठक बिहान ११ बजे बस्ने बताइएको छ ।

नेकपा माओवादी केन्द्रको नेतृत्वमा बनेको नयाँ सत्ता गठबन्धनमा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी रहेका छन् ।
मन्त्रालयको बाँडफाँटको टुंगो लगाउन नयाँ गठबन्धनले सोमबारै चार सदस्यीय कार्यदल गठन गरेको छ।

कार्यदलमा एमालेबाट उपाध्यक्ष विष्णुप्रसाद पौडेल, माओवादीबाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने र जनता समाजवादी पार्टीबाट अध्यक्ष उपेन्द्र यादव रहनुभएको छ।

सोमबार नियुक्त भएका तीन मन्त्रीहरुको पनि मन्त्रालय तोक्न बाँकी छ।

रास्वपाको दावी गृहसहित ४ मन्त्रालय

नयाँ गठबन्धनमा जोडिएको राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयसहित ४ मन्त्रालयकोे दाबी गरेको छ । सो पार्टीका उपसभापति स्वर्णिम वाग्लेले गृह मन्त्रालयलाई बटमलाइन बनाएर न्युनतम ४ मन्त्रालयमा गरिने बताउनुभएको छ । उहाँले गृह मन्त्रालयको नेतृत्व सभापति रवि लामिछानेले नै गर्ने बताउनुभएको छ ।

‘एमालेको दाबी होला तर गृह त हामी छोड्दैनौं । गृह त हाम्रो बटम लाइन नै हो,’ उपसभापति वाग्लेले भन्नुभएको छ ‘यत्रो मूल्य चुकाएर पुराना पार्टीमा जानु छ । गृह नै पाइएन भने त औचित्य नै हुँदैन ।’

अर्थमा माओवादी र एमालेको दुवैको दावी

अर्थ मन्त्रालयमा पनि नेकपा माओवादी र नेकपा एमाले दुवैको दावी रहेको छ । प्रधानमन्त्री दाहालले अर्थमन्त्रालय आफ्नो पार्टीकै मन्त्री राख्न चाहानुभएको छ। तर एमाले भने देशको अर्थतन्त्र नाजुक रहेको र माओवादी अर्थमन्त्रालय सञ्चालनमा कुशलता देखाउन नसकेकोले आफूलाई दिन माग गरिरहेको छ ।

अर्थ माओवादीको भागमा परेमा यो गठबन्धनका सूत्रधार बर्षामान पुन अर्थमन्त्री बन्ने पक्कापक्की जस्तै छ भने एमालेको भागमा परेमा पार्टी उपाध्यक्ष विष्णु पौडेल हुने  संभावना छ । तर उहाँले आज बिहानदेखि आफू यो चरणमा सरकारमा नजाने बताउनुभएको छ।

अर्थ माओवादीको भागमा परेको खण्डमा एमालेले गृहको दावी गर्ने छ । गृहमा राष्ट्रिय स्वतन्त्र पार्टीको पनि दावी छ ।

सत्ता गठबन्धन दलहरुबीच सोमबार सम्पन्न ८ बूँदे संझौतामा राष्ट्रिय सभाको अध्यक्ष सत्ता गठबन्धनको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रलाई दिने उल्लेख भैसकेकोले मन्त्रालयको चयनका नेकपा एमालेले रोजेको मन्त्रालय पाउने अवस्था हुन्छ ।

 

Share Now