Prakash Adhikari May 20, 2018

काठमाडौं, ६ जेठ । मलेसिया जाने कामदारसँग अवैध रूपमा रकम उठाएको आरोपमा वान स्टेप सेन्टर (ओएससी) र भिएलएनका सञ्चालक राम श्रेष्ठलार्इ प्रहरीले पक्राउ गरेको छ।

उनलाई प्रहरीले गौरीधाराबाट पक्राउ गरेको हो।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले माइग्राम्स, ओएससी, भीएलएन, जीएसजीबाट लिने शुल्कलगायतका कार्य अवैधानिक भएको निर्णय गर्दै त्यसलाई रोक्न गृह मन्त्रालयलाई पत्राचार गर्नासाथ प्रहरीले उनको निगरानी गरेको थियो ।

श्रेष्ठलाई भोलि म्याद थप गरी कारवाही अघि बढाइने प्रहरीले जनाएको छ।

ओएससीले मलेसिया जाने कामदारको राहदानी संकलन गरी २ हजार ८सय रुपैयाँ शुल्क र भ्याट ३ सय ६४ गरी ३ हजार १ सय ६४ रुपैयाँ लिने गरेको छ।

राहदानी दूतावाससम्म पुर्‍याउने भन्दै भीएलएनले थप ३ हजार ६ सय १६ लिने गरेको छ। सरकारले मलेसियाले श्रमिकलाई आर्थिक भार पर्ने गरी विभिन्न बहानामा रकम असुल्ने राखेका कम्पनीले लिने शुल्क खारेज गरेको थियो।

कम्पनी खारेज गरेसँगै वैदेशिक रोजगार मेडिकल व्यवसायीले मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण रोकेका थिए। भिसा लगाउने प्रक्रियाका लागि मलेसियाले नेपाल सरकारसँग सहमति नलिई ५ कम्पनीमार्फत शुल्क उठाउँदै आएको छ ।

जसका कारण प्रति कामदार १८ हजार ८ सय रुपैयाँ आर्थिक भार पर्ने गरेको थियो ।

स्वास्थ्य परीक्षण  संस्थाका व्यक्ति पक्राउ

प्रहरीले मलेसिया जाने कामदारका लागि बायोमेट्रिक प्रणालीमार्फत तोकेभन्दा बढी शुल्क लिएर काममा पठाउँदै आएका ३५ संस्थाका ४२ व्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउपर्नेमा बायोमेट्रिक प्रणाली नेपालमा भित्र्याएर काममा जाने नेपालीसँग करोडौँ रुपैयाँ असुल गर्ने वान स्टप सेन्टरका सञ्चालक राम श्रेष्ठलगायत ४२ जना रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख विश्वराज पोखरेलले गृह मन्त्रालयको आदेशानुसार उनीहरुलाई पक्राउ गरेको जानकारी दिए ।

पक्राउपर्नेमा कसमस मेडिकल सेन्टर गौशाला, एभरेष्ट हेल्थ होम सर्भिस प्रालि मध्यबानेश्वर, केआर मेडिकल सेन्टर वसुन्धरा, लालुपाते मेडिकल सेन्टर गौशाला, मन्जुश्री मेडिकल सेन्टर, भ्याली पोलिक्लिनिक गोँगबु, प्रशान्ति हेल्थ केयर सेन्टर जावलाखेल, सुब्बा प्याथोलोजी कुपण्डोल, सुधा पोलिक्निक र सनराइज पोलिक्लिनिक महाराजगञ्जका सञ्चालक रहेका छन् ।

यस्तै अनमोल मेडिकल सेन्टर सिनामंगल, स्वर्णीम मेडिकल सेन्टर सुन्धारा, वेलकेयर हस्पिटल रातोपुल, कुलेश्वर पोलिक्लिनिक कुलेश्वर, लालुपाते पोलिक्लिनिक पिंगलास्थानलगायत मेडिकल सेन्टरका सञ्चालक तथा कामदार रहेका छन् ।

प्रहरीले उनीहरुसँग भएका ल्यापटप र कागजातसमेत बरामद गरको काठमाडौँ परिसरका प्रमुख पोखरेलले बताएका छन् ।

Share Now

Leave a comment.